बसाइँसराइले पहाड र मधेशमा एकै पटक समस्या निम्तिएको छ : सांसद श्रेष्ठ
बसाइँसराइले पहाड र मधेशमा एकै पटक समस्या निम्तिएकाले जनसंख्याको सन्तुलनमा ध्यान दिनुपर्ने सांसद मीना श्रेष्ठले बताएकी छन्।
राप्रपा सांसद श्रेष्ठले पहाड र मधेशमा जनसंख्या असन्तुलन बढिरहेको उल्लेख गर्दै यसलाई सम्बोधन गर्न ढिलो गर्न नहुने बताइन्। “बसाइँसराइले पहाड र मधेशमा एकै चोटि समस्या निम्त्याएको छ,” श्रेष्ठले भनिन्, “बसाइँसराइकै कारण पहाडमा गाउँहरू खाली हुने र तराईमा जनघनत्व अत्यधिक बढेपछि समस्या हुन थालेको छ।”
लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै उनले बसाइँसराइका कारण शिक्षामा पनि समस्या भएको बताइन्। “पहाडी क्षेत्रमा विद्यालय र शिक्षक छन्, विद्यार्थी छैनन्। त्यस्ता विद्यालयलाई मर्ज गरौं,” श्रेष्ठले भनिन्, “त्यहाँका शिक्षकलाई विद्यार्थी चाप धेरै भएका तराई र शहरी क्षेत्रमा सारौं।”
अहिलेको विकास मोडल परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। “मानिसको बहाव जतातिर छ, त्यतैतिर केन्द्रित गरेर विकास निर्माणका काम गरौं,” उनले भनिन्।
लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाकै हाराहारीमा तराईको रुपन्देही जिल्लाको जनसंख्या रहेको उल्लेख गर्दै उनले बसाइँसराइको समस्या सुल्झाउनुपर्नेमा जोड दिइन्। साथै, जनसंख्याका आधारमा बजेट विनियोजन गर्नुपर्ने पनि बताइन्।