सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
सहकारी ठगी प्रकरणलाई लिएर कांग्रेसले विरोध जनाउँदै आएपछि राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
राष्ट्रिय सभाको बैठक आइतबार अपराह्न १ः१५ बजे बोलाइएको थियो। तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिउँसो ३ः१५ बजेका लागि सारेका थिए।
त्यस समयमा पनि बस्न नसकेपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक स्थगन गरेका हुन्। अब अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बोलाइएको छ।
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलले संसदीय छानबिनको माग गर्दै आएका छन्। यसमा सरकार सहमत नहुँदा कांग्रेसले संघीय संसद्को बैठक अवरुद्ध गर्दै आएको छ। शुक्रबारको राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भएको थियो।
सत्तापक्ष र प्रतिपक्ष दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। तर त्यसको कार्यक्षेत्रका विषयमा सहमति जुट्न सकेको छैन।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने कार्यादेश दिनुपर्ने जनाएको छ। सत्तारूढ दलले भने कसैको नाम तोक्न नहुने जनाएका छन्। जसले गर्दा संसदीय छानबिन समितिको कार्यक्षेत्र तय हुन सकेको छैन।