नेपाललाई जिम साइमन्सको उपहार
नेपालका अस्पताललाई सघाउने परोपकारी अमेरिकी अर्बपति जिम साइमन्स थुप्रै पुरस्कारबाट सम्मानित छन् जसले गणित शिक्षा, वैज्ञानिक अनुसन्धान र अन्य मानवीय कार्यमा अर्बौं सहयोग गरेका छन्।
नेपालको स्वास्थ्य सेवा प्रणाली सुधार गर्न आधारशिला खडा गरेका अमेरिकी गणितज्ञ एवं अर्बपति परोपकारी जेम्स ह्यारिस (जिम) साइमन्सको गत वैशाख २८ गते ८६ वर्षको उमेरमा अमेरिकाको न्यूयोर्कमा निधन भएको छ। गणितमा आधारित ‘मात्रात्मक अनुसन्धान’ मार्फत गरिने शेयर बजारको भविष्यवाणीका थालनीकर्ता जिम साइमन्स थुप्रै पुरस्कारबाट सम्मानित छन् जसले गणित शिक्षा, वैज्ञानिक अनुसन्धान र अन्य मानवीय कार्यमा अर्बौं सहयोग गरेका छन्।
तर उनको व्यक्तिगत जीवन पारिवारिक दुःखान्तले भरिपूर्ण थियो। उनका जेठा छोरा पल २०५२ सालमा न्यूयोर्कमा भएको एक सडक दुर्घटनामा बितेका थिए। त्यस्तै, २०५९ सालमा बालीमा उनका कान्छा छोरा निक साइमन्सको डुबेर मृत्यु भएको थियो। नेपालमा स्वास्थ्य क्षेत्रमा स्वयंसेवकका रूपमा काम गरेपछि उनी अमेरिका फर्कने क्रममा बाली पुगेका थिए।
नेपालमा काम गर्दा ग्रामीण भेगको स्वास्थ्य अवस्थाबारे वर्णन गरेर निक साइमन्सले आफ्ना बुबाआमालाई थुप्रै पत्र लेखेका थिए। संसारका गरीबहरूको सेवा गर्नकै लागि डाक्टर बन्ने उनको निर्णयलाई लिएर जिम र आमा मेरीलिन निकै उत्साहित भएका थिए।
निकको दुःखद निधनपछि जिम साइमन्स र पत्नी अर्थशास्त्री मेरीलिन पटक पटक नेपाल भ्रमणमा आए, नेपालको स्वास्थ्य क्षेत्रमा कस्तो खालकाे सहयोग सबैभन्दा प्रभावकारी हुन्छ भनेर बुझ्न। उनीहरूले ग्रामीण क्षेत्रका सरकारी अस्पताललाई तालीम, सामग्री र अन्य आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निक साइमन्स इन्स्टिच्यूट (एनएसआई)’ स्थापना गरे।
२०६२ सालदेखि एनएसआईले १० करोड अमेरिकी डलरभन्दा बढी रकम नेपालको स्वास्थ्य क्षेत्रमा खर्चिइसकेको छ। यो संस्थाले हाल ४५ वटा जिल्ला अस्पताल र स्वास्थ्य संस्थालाई सघाइरहेको छ।
यो संस्थाले गर्ने अधिकांश काम बाहिर प्रत्यक्ष नदेखिने भएकाले धेरैलाई यसको उपस्थिति बोध नै हुँदैन। एनएसआईको कहीं पनि साइनबोर्ड छैन। नर्स र एनेस्थोलोजिस्टलाई तालीम दिने, बायोमेडिकल सामग्रीको मर्मतसम्भार र दक्ष स्वास्थ्यकर्मीको तलब बढाएर एवम् नर्सलाई छात्रवृत्ति दिएर ग्रामीण क्षेत्रमा पठाउने जस्ता काम यो संस्थाले गर्छ।
जिम साइमन्सले एक पटक नेपाली टाइम्ससँगको कुराकानीमा भनेका थिए, “नेपालमा ग्रामीण स्वास्थ्य सेवा नयाँ समस्या होइन र यसमा धेरैले काम गरिरहेछन्। एनएसआईले भने अरूले भन्दा फरक तरीकाले काम गरिरहेको छ। गुणस्तर र तालीममा जोड दिएकाले यो अरू संस्थाभन्दा अलग छ।”
वास्तवमा २०६२ सालमा छोराको निधन भएपछि साइमन्सले प्रभावकारी र अर्थपूर्ण काम के हुन सक्छ भन्ने निश्चय गर्न नेपालका धेरै योजनाविद्, डाक्टर र अभियन्तासँग परामर्श गरेका थिए। आफै अस्पताल सञ्चालन गर्नेभन्दा पनि सरकारसँग मिलेर ग्रामीण स्वास्थ्य सेवामा दिगो समाधान खोज्ने र तिनको स्तर उकास्ने भनी उनीहरूले दिएको सल्लाह बमोजिम नै एनएसआईले गत १८ वर्षदेखि काम गर्दै आएको छ।
“निक साइमन्स इन्स्टिच्यूट स्थापना गरेर जिम साँच्चै नेपालको ग्रामीण स्वास्थ्यको परिवर्तनका अगुवा नै भएका छन्। साथै, उनको प्रभावकारी कुराकानीको शैली, तीक्ष्ण बौद्धिकता पनि बिर्सन सकिंदैन,” एनएसआईको कार्यकारी समितिमा रहेका चिकित्सक बुद्ध बस्न्यातले हिमालखबरलाई भने।
छोरा निककै लागि नेपालको स्वास्थ्य क्षेत्रमा काम गरेका साइमन्स आफै बारम्बार भन्ने गर्थे, “निकले नेपालमा स्वयंसेवी भई काम गरेका थिए र यहीं बसेर काम गर्न चाहन्थे।”
जिम साइमन्सको जीवनका तीन चरण थिए : गणितज्ञ, लगानीकर्ता र परोपकारी। गणितका प्राध्यापकका रूपमा प्रिन्सटन, हार्वड र स्टोनी ब्रुक्स विश्वविद्यालयमा उनले पत्ता लगाएका सिद्धान्त भौतिकशास्त्र र खगोलविज्ञानका समस्या समाधान गर्न अहिले पनि प्रयोग गरिन्छन्।
त्यसपछि उनले आफ्नो गणितको प्रतिभा जटिल वित्तीय तथ्यांक विश्लेषण गर्न र विश्वव्यापी शेयर र मुद्रा बजारको भविष्यवाणी गर्न प्रयोग गरे। यही खूबीले नै उनलाई अर्बपति बनाइदियो। त्यसरी कमाएको पैसाको धेरै हिस्सा उनले अमेरिकी विद्यालयहरूको शैक्षिक स्तर सुधार्न, ब्रह्माण्डको वैज्ञानिक खोज र अटिज्मको कारण पत्ता लगाउने काममा सहयोग गरे।
छोराहरूको दुःखद निधनपछि उनी आफ्नो मस्तिष्कमा खेलिरहेका गणितीय समस्याहरू सुल्झाएर राहत खोजिरहेका थिए। जिम र मेरीलिन हरेक वर्ष कम्तीमा दुई पटक नेपाल आउँथे। त्यही क्रममा एक दिन बिहान कुपन्डोलको समिट होटलमा बसिरहेको वेला उनले धेरै वर्षदेखि समाधान खोजिरहेको एउटा गणितीय ‘थेओरम’को समाधान एक्कासि निस्किएको थियो।
‘जिम एक अपवाद सरहका नेतृत्वकर्ता थिए जसले गणितमा रूपान्तरणकारी काम गरे भने विश्वकै नेतृत्व गर्ने लगानी कम्पनी स्थापना गरे,’ उनको निधनको घोषणा गर्दै साइमन्स फाउन्डेशनले न्यूयोर्कबाट प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ।
निक साइमन्स फाउन्डेशनले एनएसआई बाहेक नेपालका अन्य स्वास्थ्यसँग सम्बन्धित काम पनि गरिरहेको छ। जस अन्तर्गत पाटन अस्पतालमा नयाँ प्रसूतिकक्षको निर्माण र अछाममा बयलपाटा अस्पताल सञ्चालन गरिरहेको न्याय हेल्थ नेपाल (एनएचएन)लाई सहयोग पनि पर्छन्।
जिम साइमन्सले एक पटक भनेका थिए, “निकले हामीलाई एउटा नयाँ संसारको ढोका खोलिदियो। हामीले थुप्रै अद्भुत मानिसहरू भेट्यौं, नभए उनीहरूसँग कहिल्यै भेट हुने थिएन। नेपाल हामीलाई निकले दिएको उपहार हो।”
(अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)