गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
प्रतिनिधि सभामा रहेका विपक्षी दलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने निर्णय गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
विपक्षी दलको बैठकले गृहमन्त्री लामिछानेले बोलेपछि समिति गठन गर्नुपर्ने माग गरेको छ। समिति गठन नभएसम्म सदनको कार्यसूचीमा प्रवेश गर्न नदिने विपक्षी दलको निर्णय रहेको प्रमुख सचेतक लेखकले बताए।
सहकारीको रकम अपचलनमा निष्पक्ष छानबिनका लागि शनिबार सरकारले संसदीय समिति बनाउने विषयमा गरेको सहमतिलाई सकारात्मक रूपमा लिएको लेखकले बताए। सत्तापक्ष र विपक्षी दलले संसदीय छानबिन समिति बनाउने र त्यसका लागि कार्यादेश बनाउन कार्यदल गठन गरेका छन्।
बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शीर्ष नेता सहभागी थिए।
कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। यसमा अन्य विपक्षी दल पनि उभिएका छन्।