वैदेशिक रोजगारका नाममा ठगिएकालाई सघाउँदै आप्रवासी स्रोत केन्द्र
वैदेशिक रोजगारमा पठाउने प्रलोभनमा पारी ठगिएकाहरूको रकम फिर्ता गराई न्यायप्राप्तिको प्रक्रियामा पीडितको पहुँच बढाउन आप्रवासी स्रोत केन्द्रले सहजीकरण गरिरहेको छ।
नेपाल फर्किन अढाई लाख तिर्नुपर्यो : दिलमाया मोक्तान
मेरो घर मकवानपुर जिल्लाको मनहरि गाउँपालिका-६ मा पर्छ। घरको आर्थिक अवस्था सुधार्न म वैदेशिक रोजगारमा जान इच्छुक भएँ। राक्सिराङ गाउँपालिकाका एक व्यक्तिले विदेश जान सहयोग गर्छु भने। म उनको सहयोगमा इराक गएँ। तर त्यहाँ अलपत्र परें।
जो मार्फत इराक गएकी थिएँ उसले नेपाल फर्काउन अर्को तीन लाख ५० हजार रुपैयाँ मागे। मसँग त्यत्रो पैसा थिएन, तिनैले शुरूमा दुई लाख ५० हजार नगद दिएर एक लाखको कागज गरेमा नेपाल फर्काउने मेरा श्रीमान्लाई बताए।
श्रीमान्ले जग्गा बेचेर अढाई लाख उसलाई दिनुभयो। अनि म नेपाल फर्कें। ती व्यक्तिले बाँकी एक लाख तुरुन्त तिर्न भनेर ह्वाट्सएप मार्फत ‘टर्चर’ (मानसिक यातना) दिन थाले। म साह्रै तनावमा परें।
यसबीच म विदेशबाट फर्केको थाहा पाएपछि आप्रवासी स्रोत केन्द्रका गाउँ स्वयंसेवक वसन्त लामा केही समस्या छ कि भनेर बुझ्न घरैमा आउनुभयो। मैले सबै समस्या बताएँ। लामाले नै मलाई जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आप्रवासी स्रोत केन्द्र पठाउनुभयो। त्यहाँ मैले सुरक्षित आप्रवासन परियोजना (सामी)की परामर्श अधिकृत पार्वती विकलाई भेटें। उहाँले नै ठगी गर्नेलाई झिकाएर पैसा फिर्ता गराउनुभयो। अहिले मलाई ढुक्क छ।
अस्ट्रेलियाको कागजात मिलाउन भनेर पाँच लाख मागियो : स्मृति ठकुरी
मेरो घर मकवानपुर जिल्लाको भीमफेदी-७ हो। मैले स्टाफ नर्स पढेकी छु। अस्ट्रेलिया जाने तयारीमा हुँदा उतै बस्दै आएका एक जना व्यक्तिसँग कुरा भयो। सबै कागजात मिलाइदिने भनेर मगाएपछि मैले पनि पठाएँ। काम हुँदै छ भनेर उहाँले पाँच लाख रुपैयाँ खातामा पठाऊ भन्नुभयो।
हेटौंडाकै मान्छेको खाता नम्बर दिनुभयो। मैले पैसा हालिदिएँ। तर काम हुँदै छ भनेर मलाई अल्झाइयो। अनि मलाई शंका लाग्यो र मैले सामीमा उजुरी गरें।
मैले जसको खातामा पैसा पठाएकी थिएँ, उहाँले आफूलाई केही थाहा नभएको बताउनुभयो। अब पैसा फस्यो भनेर म निराश थिएँ, धन्न सामीले मेरो पाँच लाख ब्याज सहित उठाइदियो।
विवश थापा, सुजन खड्का, गणेश तिमल्सेना, बद्रीनाथ अधिकारी र दीपक घिमिरे
हामी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ मा बस्छौं। हामीमध्ये एक जनाको आफ्नै दाजुको साथी, हाम्रा लागि पनि दाजु समान नै हुनुहुन्थ्यो। अरू वेला पनि समस्या पर्दा दाजु मानेर कुराकानी हुन्थ्यो। उहाँले नै पहिले भिजिट भिसामा दुबई जाने अनि पोर्चुगल जाने सल्लाह दिनुभयो। उहाँकै सल्लाह अनुसार हामी अघि बढ्यौं।
हामी सबैले उहाँलाई २७ लाख रुपैयाँ बुझायौं। उहाँले दुबईको भिजिट भिसा पनि निकालिदिनुभयो। अब हामी विदेश उड्ने सपना सजाउन थाल्यौं। तर केही दिन भनेर हामीलाई ढुक्क पारेका ती दाजु महीनौं सम्पर्कविहीन भए। हाम्रो मनमा चिसो पस्न थाल्यो, आज होला भन्यो छैन, भोलि होला भन्यो छैन।
हामी पाँचै जनाको परिवार सामान्य आर्थिक अवस्थाको हो। हामीले ऋण गरेर पैसाको जोहो गरेका थियौं, ऋण लिएको ठाउँमा ब्याज तिर्नुपर्ने तर यता मान्छे सम्पर्कविहीन, हाम्रो परिवार पूरै तनावमा भयो।
डिप्रेशनमै पुगिएला भन्ने अवस्थामा थियौं। यसैबीच एक जना कानून व्यवसायीसँग सम्पर्क भयो। उहाँले जिल्ला प्रशासन कार्यालयको कोठा नम्बर १०१ मा रहेको आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्न सुझाव दिनुभयो। अनि हामीले त्यहाँ पार्वती विकलाई भेटेर दुःख सुनायौं।
हामीमध्ये कसैले पनि फसेको पैसा उठ्ला भन्ने सोचेका थिएनौं। तर सात महीनादेखि फसेको पैसा आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा आएको दुई महीनामै उठाइदिनुभयो। हाम्रो पैसा फसेको मान्छे जिल्ला बाहिर (कावसोती)को भएकाले दुई महीना लाग्यो।
यी प्रतिनिधि उदाहरण मात्रै हुन्। पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने र विभिन्न मानसिक तनाव खेप्नेहरूले जिल्ला प्रशासन कार्यलयमा रहेको सामी परियोजना अन्तर्गतको आप्रवासी स्रोत केन्द्रबाट आवश्यक परामर्श र गुमेको रकम फिर्ता पाइरहेका छन्। यसले न्यायप्राप्तिको प्रक्रियामा पीडितहरूको पहुँच पनि विस्तार भएको छ।
मकवानपुरको आप्रवासी स्रोत केन्द्रमा २०८० साउन १ देखि २०८१ जेठ ३ सम्ममा दर्ता भएका १५० उजुरीमध्ये ६८ वटा समस्या समाधान भइसकेको छ। बाँकी समाधानको प्रक्रियामा छन्। “वैदेशिक रोजगारमा ठगी व्यापक छ, यसलाई सुरक्षित बनाउन हामी लागिपरेका छौं,” सामी परियोजनाकी परामर्श अधिकृत पार्वती विक भन्छिन्।
विकका अनुसार जापान र विभिन्न यूरोपेली मुलुक पठाउने नाममा ठगी गर्नेहरू पनि देखिएका छन्। यस्तै, पछिल्लो समय युद्धमा होमिएको देश रूस जानेहरूका परिवार आफ्ना मान्छेको उद्धार गरिदिन भन्दै केन्द्र धाउने गरेका छन्।
केन्द्रको पहलमा मकवानपुरमा मात्रै उद्धार, राहत तथा वैदेशिक रोजगारीका नाममा ठगिएकाहरूको क्षतिपूर्ति बापत गत वर्षको साउनदेखि यस वर्षको वैशाख मसान्तसम्म एक करोड १६ लाख ९० हजार ७० रुपैयाँ उपलब्ध गराउन सफल भएको कार्यक्रम अधिकृत अञ्जिता राना मगर बताउँछिन्। जसमा ठगी बापतको ३१ लाख ७६ हजार ७० रुपैयाँ र मृतकका परिवारलाई क्षतिपूर्ति बापत तथा अंगभंग तथा बिरामी भएकाहरूका लागि ८३ लाख ७९ हजार रुपैयाँ र विदेशमा बिरामी वा घाइते हुँदा उपचार खर्च बापत थप एक लाख ३५ हजार रुपैयाँ उपलब्ध गराइएको उनी बताउँछिन्।
बागमती प्रदेशबाट वैदेशिक रोजगारका लागि मलेशिया, कतार, दुबई, कुवेत, दक्षिण कोरिया, रोमानिया, क्रोएशिया, माल्टा, साइप्रस र माल्दिभ्स जानेहरू बढी छन्। अवैधानिक बाटोबाट र अफगानिस्तान, लिबिया र इराक जस्ता वैदेशिक रोजगारका लागि रोक्का गरिएका देश जानेहरू बढीजसो समस्यामा पर्ने गरेका छन्।
“वैदेशिक रोजगारीमा जानै नहुने भन्ने होइन, यो क्रममा ठगी नहोस्, अंगभंग नहोस्, सम्भावनाको खोजी स्वदेशमा पनि गरियोस् भन्ने हो,” हेल्भेटास नेपालकी कार्यक्रम अधिकृत उमा पौडेल भन्छिन्, “कानूनी प्रक्रिया पुर्याएर, परिवारलाई पनि एक-एक प्रति कागजात सुरक्षित गरेर विदेश जाँदा भविष्यमा आइपर्ने समस्याबाट उठ्न सजिलो हुन्छ, क्षतिपूर्ति लिन सजिलो हुन्छ।”
मकवानपुरमा स्थानीय तह मार्फत सञ्चालित सुरक्षित वैदेशिक रोजगारी कार्यक्रममा हेल्भेटास नेपालले सहयोग गर्दै आएको छ।
यस्तै, मनोपरामर्शकर्ता प्रतीक्षा भट्टराई आफू जान लागेको देशको भाषा, रहनसहनबारे जानकारी लिएर मात्रै विदेशको यात्रा तय गर्नुपर्ने बताउँछिन्।
समाधानमा चुनौती
केन्द्रले वैदेशिक रोजगार बोर्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सम्बन्धित देशको दूतावाससँगको समन्वयमा समस्या समाधान गर्ने गरेको छ। तर कतिपय अवस्थामा प्रशासनले निरन्तर सोधखोज नगर्दा मान्छे झिकाउन र पीडितको पैसा उठाउन समस्या हुने गरेको परामर्श अधिकृत विक बताउँछिन्।
“सम्बन्धित जिल्लाको सवालमा प्रमुख जिल्ला अधिकारीले ‘फलो’ गर्दा केही सहभागी हुन्छन्, तर धेरैजसो प्रशासनमा हाजिर हुँदैनन्। यस्तो अवस्थामा मुद्दा प्रहरीमा जान्छ, प्रहरीमा पुगेपछि पनि मान्छेलाई सम्पर्कमा ल्याउन सहज छैन,” उनी भन्छिन्।
यस्तै, तुलनात्मक रूपमा जिल्लाभित्रैका व्यक्ति संलग्न ठगीका घटना छिटै समाधान हुने गरेको भए पनि फरक जिल्लाका व्यक्ति संलग्न घटना समाधानमा समय लाग्ने गरेको छ। अन्तरजिल्ला प्रशासन र प्रहरी कार्यालयबीच बलियो समन्वय नहुँदा र पत्राचार तथा फोन कुराकानीमै भर पर्नुपर्दा पनि समस्या समाधानमा ढिलाइ हुने गरेको विकको अनुभव छ।
हालै रूस पुर्याउने आश्वासन देखाएर चार जनाको ६ लाख रुपैयाँ ठगियो। तर पैसा हात पार्ने व्यक्ति चितवन जिल्लाको भएको र ऊ दुबई पुगिसकेकाले समस्या समाधान जटिल बनेको छ। चितवनकै २७ वर्षीय विवश थापाले पोर्चुगल जान भनी पाँच लाख रुपैयाँ बुझाएका एजेन्ट पनि अहिले फरार छन्। थापाको समस्या समाधानका लागि पहल भइरहेको विक बताउँछिन्।
यस्तै, माल्टा पठाइदिने भन्दै आफ्नै छिमेकीले २६ लाख ८९ हजार रुपैयाँ ठगी गरेपछि हेटौंडा-८ कमानेका दिलकुमार बुढाथोकी पैसा असुलीको प्रक्रियामा लागिपरेका छन्। पैसा ठगी गर्नेले जग्गा बेचेर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि जग्गा बिक्री हुन नसक्दा यो समस्या समाधान हुन सकेको छैन।
विकका अनुसार कतिपय अवस्थामा ठगी गरेको भनिएको व्यक्ति मार्फत अरूले नै पैसा लिएका हुन्छन्। यस्तो वेला सम्बन्धित व्यक्ति पत्ता लगाउनै समय लाग्ने गरेको छ। साथै, असुल उपर गर्नुपर्ने जायजेथा नहुने जस्ता कारण पनि समस्या समाधान चुनौतीपूर्ण हुने गरेको छ।
प्रहरी र प्रशासनले यस्ता घटनालाई कति महत्त्व दिन्छन् भन्नेले पनि समस्या कति छिटो समाधान हुन्छ भन्ने निर्धारण हुने उनी बताउँछिन्।
यस्तै, सामीसँग व्यक्ति पक्राउको अधिकार नभएको र सामीले मुख्यतः समन्वयात्मक भूमिका मात्र निर्वाह गर्ने भएकाले सम्बन्धित व्यक्ति नै सचेत हुनुपर्ने उनी बताउँछिन्। चालू आर्थिक वर्षमा मात्रै आप्रवासी स्रोत केन्द्रले चार हजार जनालाई सूचना दिएको केन्द्रको दाबी छ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० मा मात्र बागमती प्रदेशबाट कुल एक लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएका थिए। यही अवधिमा १२५ जनाले विदेशमै मृत्युवरण समेत गरे भने ३८ जना अंगभंग भए।