डेढ वर्षमा सक्नुपर्ने संसद् भवन तीन वर्षमा पनि अधूरै
डेढ वर्षमा निर्माणसम्पन्न गर्नुपर्ने बागमती प्रदेश सभाको भवन तीन वर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन भने पुरानो भवनको मर्मतसम्भारमा लाखौं रुपैयाँ खर्च भइरहेको छ।
प्रदेश सभा भवन निर्माणका लागि अर्घाखाँची-सगुन-पारामाउन्ट जोइन्ट भेन्चरलाई ठेक्का दिइएको थियो। निर्माण कम्पनीले १८ महीनाभित्र निर्माण सक्ने सम्झौता गरेको थियो। तर करीब तीन वर्ष पुग्न लाग्दा पनि भवन तयार भएको छैन।
यो कम्पनीसँग चार करोड ९४ लाख नौ हजार नौ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। त्यति वेला २०७९ जेठ ९ मा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तोकिएको समयमा निर्माण नसकिएपछि पटक पटक समय थपिंदै आएको थियो।
पछिल्लो पटक २०८० जेठ ३० गतेसम्म म्याद थपिएको थियो। गत भदौमा भवन तयार भए पनि आन्तरिक निर्माण कार्य भने बाँकी नै छ।
त्यस्तै, आन्तरिक निर्माण कार्यका लागि सिउँडी निर्माण सेवासँग सम्झौता गरिएको थियो। बागमती प्रदेशको शहरी विकास तथा भवन कार्यालय, मकवानपुरका अनुसार हलभित्र साउन्डप्रूफ सिस्टम, टायल्स, मार्बल, विद्युतीकरण लगायतको कामका लागि तीन करोड नौ लाख ५७ हजार १५३ रुपैयाँमा ठेक्का सम्झौता भएको हो। अहिले आन्तरिक काम भइरहेको कार्यालयका सबइन्जिनीयर कृष्ण साहले बताए।
संसद् भवनका लागि दुई कम्पनीलाई ठेक्का दिइएको थियो। अहिलेसम्म आठ करोड तीन लाख ६७ हजार रुपैयाँ लगानी भइसकेको शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले बताए। २०७७ मंसीर १० मा तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले यस भवनको शिलान्यास गरेका थिए।
हाल बागमती प्रदेश सभा क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ। यस भवनमा पनि भित्रतिर मार्बल बिछ्याउने काम भइरहेको छ।
नयाँ भवन नबनेकाले पुरानै भवन मर्मतसम्भारमा लाखौं खर्च हुँदै आएको छ। २०७९ सालको चुनावपछि भवन मर्मतसम्भारमा १० लाख रुपैयाँ खर्च गरिएको थियो।
त्यस्तै, सभामुख भुवनकुमार पाठकको कार्यकक्ष मर्मतसम्भारका लागि १० लाख रुपैयाँ खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ। नयाँ सभामुख आएपछि कार्यकक्षको मर्मतसम्भार गरिएको थियो।