किर्गिस्तानमा रहेका नेपाली सकुशल
पाकिस्तानस्थित नेपाली राजदूतावासले किर्गिस्तानमा रहेका नेपाली नागरिक सकुशल रहेको जनाएको छ।
गत वैशाख ३१ गते किर्गिस्तानमा इजिप्ट र स्थानीय विद्यार्थीबीच झडप भएको थियो। झडपको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि गत शुक्रबार राति घटनाले उग्र रूप लियो। स्थानीय विद्यार्थीले भारत, पाकिस्तान तथा बाङ्लादेश लगायतका अन्तर्राष्ट्रिय विद्यार्थी लक्ष्यित आक्रमण गरे। उनीहरूका छात्रावास तोडफोड समेत गरेका थिए।
दूतावासले शनिबार जारी गरेको सूचनामा किर्गिस्तानको राजधानी बिश्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थिति सामान्य नहुन्जेल घरभित्रै रहन पनि आग्रह गरिएको थियो। “किर्गिस्तानको बिश्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करीब २८० को संख्यामा खासगरी बिश्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ,” दूतावासको सूचनामा भनिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भने हाल बिश्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले पनि स्थिति नियन्त्रणमा रहेको बताएको छ। किर्गिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा २९ जना विद्यार्थी घाइते भएका छन्। उनीहरूको उपचार भएको पनि जनाइएको छ।
यस्तै, दूतावासले कुनै किसिमको समस्या परेमा किर्गिस्तानमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ। साथै, दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सएप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।