नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित, नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता आयआर्जनका वैकल्पिक काममा लागेको छ।
चितवनको माडी नगरपालिका-१, वनकट्टास्थित बोटे बस्तीका बासिन्दा १५ वर्षअघिसम्म नारायणी, राप्ती र रिउ खोलामा बटुवालाई नदी तार्ने परम्परागत काम गर्थे। समुदायका महिला निगुरो, च्याउ र तामा बटुल्न एकाबिहानै बस्ती छेउछाउका जंगल पस्थे। माछा मार्न र घोंगी टिप्न नदीनाला चहार्थे। नदीमा डुंगा खियाएर र संकलित चिजबिज बिक्रीबाट भएको आम्दानीले जीविका चलाउँथे।
तर विकासको क्रमसँगै बाटो र पुल बनेपछि नदी तार्ने उनीहरूको काम संकटमा पर्यो। भएको थोरतिनो जग्गा पनि नदीले कटान गरेर लग्यो।
अर्कातिर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ आएपछि बोटे समुदायकाे बस्ती रहेको वनकट्टा र पाण्डवनगर वरिपरिको जंगल समेत समेटेर २०३१ सालमा चितवन राष्ट्रिय निकुञ्ज बनाइयो। संरक्षण ऐनले कुनै पनि समुदाय र व्यक्तिलाई निकुञ्जका प्राकृतिक स्रोतमाथिको उपभोगमा प्रतिबन्ध लगायो। यसले बोटे समुदायलाई जीविकोपार्जनका लागि निर्भर रहँदै आएको खोला र जंगलबाट टाढिनुपर्ने बनायो।
त्यसपछि निकुञ्ज र स्थानीय बासिन्दाबीच द्वन्द्वको शृंखला शुरू भयो। कुनै वेला कतिसम्म हुन्थ्यो भने, निकुञ्जका अधिकारी वनकट्टा जाँदा लखेटिन्थे, वनकट्टावासी आउजाउ गर्ने एक मात्र बाटो निकुञ्ज परिसरबाट हिंड्दा पक्राउ पर्थे। निकुञ्जलाई आफ्नो जीविकाको तगारो ठहर्याउँदै गाउँलेले निकुञ्ज प्रशासनको विरोधमा चक्काजाम गर्ने, निकुञ्ज कार्यालय घेर्ने लगायत काम पनि गरे।
कानूनले प्राकृतिक स्रोतको उपयोगबाट अलग्याएर गाँस खोसेपछि बोटे समुदायले वैकल्पिक आयआर्जनको आधार खोज्यो। हिजो डुंगा तारेर यात्रुलाई वारिपारि तार्ने उनीहरू त्यो परम्परागत काम छाडेर होमस्टेमा पाहुनालाई स्वागत गरिरहेका छन्। कुखुरा, हाँस, माछा, बाख्रा र भैंसी पालन गरेर वैकल्पिक आयआर्जनको ढोका खोलेका छन्। यिनै उपायले अहिले उनीहरूलाई रूपान्तरणको बाटोमा पुर्याएको छ।
टेको बनेको ‘पार्क एन्ड पिपुल’
राष्ट्रिय जनगणना, २०७८ अनुसार आदिवासी बोटे समुदायको जनसंख्या देशभरि ११ हजार २५८ छ। यीमध्ये धेरैजसो माडी क्षेत्रमा बसोबास गर्छन्। माडी नगरपालिका-१ को वनकट्टामा ११० घरधुरी छन् भने खोल्सापारिको पाण्डवनगरमा ५० घर।
उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा माछा मार्ने, निगुरो टिप्ने जस्ता पुस्तैनी काममा रोक लगाएपछि जीविकोपार्जनको समस्याले बेचैन पारेकै थियो। त्यस्तै, निकुञ्जका वन्यजन्तुको आक्रमणमा पर्न थालेपछि उनीहरू निकुञ्ज र संरक्षणको विरुद्ध उभिने गरेका थिए।
स्थानीय समुदायको आवश्यकता सम्बोधन नभएसम्म संरक्षण प्रभावकारी नहुने महसूस गरेर संरक्षण साझेदार बनाउने खाका तयार भयाे। अनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को समन्वयमा ‘पार्क एन्ड पिपुल’ कार्यक्रम लागू गरियो। यस कार्यक्रमले निकुञ्जको प्राकृतिक स्रोतको उपयोगमा स्थानीय बासिन्दालाई पनि अधिकार दिने र वैकल्पिक आयआर्जनको बाटो खोज्ने रणनीति अख्तियार गर्यो। साथै, निकुञ्जको आम्दानीको केही अंश स्थानीयलाई दिने प्रावधान ल्याइयो।
निकुञ्ज वरिपरिको वन पैदावार स्रोत र समुदायको व्यवस्थापन गर्न मध्यवर्ती क्षेत्रको अभ्यास थालियो। माडीमा पनि पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति गठन भयो। समितिका अध्यक्ष नारायण सापकोटाका अनुसार समितिले बोटे समुदायका लागि वैकल्पिक आयआर्जनका काम खोजी गर्यो। सहयोग जुटाउन विभिन्न संस्थामा धायो। अनि वनकट्टामा माछापालन गर्ने पोखरी खनिए। बाख्रापालनका कार्यक्रम अगाडि बढाइए।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)को समन्वयमा सञ्चालित तराई भूपरिधि कार्यक्रमको सहयोगमा २०७५ सालमा होमस्टे निर्माण थालियो। जुन कोभिड-१९ को महामारीका कारण २०७७ सालमा सञ्चालनमा आयो। बोटे समुदायले चलाएको होमस्टेले नयाँ पहिचान बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा पनि टेवा पुर्याएको छ।
बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटका अनुसार वनकट्टा बस्तीका १२ घरमा होमस्टे चलाइएको छ। गत वर्ष एक हजार ५०० पाहुना आएको सुनाउँदै सन्तोष भन्छन्, “होमस्टेबाट प्रतिघरधुरी मासिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाउँछौं।”
होमस्टे नहुनेले कुखुरा, हाँस, माछा, भैंसी पालेका छन्। यहाँबाट उत्पादन हुने मासु र दूध बेच्न बजारको दुःख छैन। गाउँका तिनै होमस्टे र समुदायमा बिक्री हुन्छ।
आयआर्जनमा लागेसँगै बोटे समुदायको आर्थिक र शैक्षिक अवस्था पनि फेरिंदै गएको छ। माडी नगरपालिका-१ की १७ वर्षीया प्रतीक्षा बोट कक्षा ११ मा व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन मुख्य विषय लिएर पढिरहेकी छन्। बोटे समुदायमा उच्च शिक्षाको पाइला पछ्याउने प्रतीक्षाको पुस्ता नै पहिलो हो। उनी भन्छिन्, “भविष्यमा के गर्छु भन्ने त सोचेकी छैन, तर पहिले चाहिं स्नातक तह पूरा गर्छु।”
अबको केही वर्षमा स्नातक सक्दा उनी त्यो तहको पढाइ पूरा गर्ने बोटे समुदायको पहिलो पुस्तामध्येकी एक हुनेछिन्। होटल व्यवस्थापन पढिरहेकी प्रतीक्षा फुर्सदको समयमा आमाले चलाएको होमस्टेमा सघाउँछिन्। उनकी आमा विष्णुमाया बोटे सामुदायिक होमस्टेकी सदस्य हुन्। उनीहरूले पाहुना राख्न दुई वटा कोठाको छुट्टै घर बनाएका छन्।
आम्दानीले दिएको आत्मविश्वास
विगतमा छाक टार्न निगुरोको खोजीमा र मजदूरी गर्न निकै दुःख खेप्नुपरेको सम्झँदै विष्णुमाया होमस्टेले जीवन धेरै सहज बनाएको सुनाउँछिन्। घरमा पाहुनालाई स्वागत गरी आफैंले पकाइतुल्याइ खुवाएर हातमा पैसा आउँदा दंग छिन् उनी।
“पहिले दिनभरि ज्यालामजदूरी गर्दा मुश्किलले सात-आठ सय हुन्थ्यो। अहिले त्यस्तो मरीमरी काम गर्नुपरेको छैन,” विष्णुमाया भन्छिन्, “खानलाउन दुःख छैन। बच्चाहरू पढाउन पाएकी छु।”
होमस्टेको आम्दानीले उत्साहित उनले रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमान्लाई घर फर्कन भनेकी छन्। केही महीनामा श्रीमान् फर्किएपछि होमस्टे सेवा थप विस्तार गर्ने उनको योजना छ।
होमस्टेले उनमा आत्मविश्वास पनि भरेको छ। पहिला शहरबजारका मानिससँग कुराकानी गर्नै धकाउने उनी अहिले आफ्ना कुरा ढुक्कसँग भन्छिन्। नजानेका कुरा सोध्छिन्। “पहिला त यसरी बोल्न पनि आउँदैनथ्यो। धेरै ठाउँका मान्छेहरू भेट्दा धेरै कुरा सिकिंदो रहेछ,” उनी भन्छिन्।
होमस्टेले जगाएको महिला सशक्तीकरणको प्रभाव पूरै बोटे समुदायमा देखिने होमस्टे सञ्चालन समितिका कोषाध्यक्ष जगनारायण बोट बताउँछन्। होमस्टे शुरू गर्नुअघि समुदायका सबै महिलालाई अनौपचारिक कक्षा मार्फत साक्षर बनाइएको थियो। त्यसपछि वित्तीय साक्षरतासँगै बचतको महत्त्व र पूँजी परिचालनका विधि पनि सिकाइयो।
“हामीले हाम्रो पुर्खाको लवाइखवाइ र गरगहनाबारे पनि धेरै कुरा भुलिसकेका रहेछौं। होमस्टे चलाउने भएपछि हाम्रो परम्परा के हो भनेर बूढापाकासँग बुझ्यौं। अनुसन्धान गरेका मान्छेहरूसँग पनि बुझेर आफ्नो संस्कृतिलाई जगायौं,” सन्तोष भन्छन्, “बोटे संग्रहालय पनि बनाउने योजना छ। यदि हामेस्टे गरिएको थिएन भने यी सबै कुरा हुने थिएनन्।”
बोटे समुदायको यस्तो सामाजिक रूपान्तरण केही वर्षदेखि गरिएको निरन्तर प्रयासको परिणाम भएको विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रममा आबद्ध प्रेम पौडेल बताउँछन्। “जीविकोपार्जन र वैकल्पिक आयआर्जनमा हामीले माछापालन, बाख्रापालन र होमस्टेलाई पनि सघाउँदै आएका छौं। वन्यजन्तु संरक्षण र मानव-वन्यजन्तु सहअस्तित्वको सफल उदाहरण भएको छ माडी,” पौडेल भन्छन्।