पौडी खेल्न गएका दुई युवकको डुबेर मृत्यु
तनहुँको बन्दीपुर गाउँपालिका-२, बट्टारस्थित सुलेरहमा पौडी खेल्न गएका दुई युवकको डुबेर मृत्यु भएको छ।
शनिबार बन्दीपुर-६ का २० वर्षीय विनोद गुरुङ र २१ वर्षीय हिरा गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। गर्मी छल्न ६ जना साथी पौडी खेल्न गएका थिए।
उनीहरूमध्ये दुई जना डुबेको प्रहरी निरीक्षक मोहनकुमार खड्काले बताए। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवै युवकका शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएका छन्। अन्य चार जना सकुशल छन्।