‘सहकारी ठगीको संसदीय छानबिन गर्न प्रधानमन्त्री सकारात्मक’
सहकारी ठगी प्रकरणको संसदीय छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।
यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेतालाई बालुवाटार बोलाएका थिए। शनिबार बिहान बालुवाटारमा भएको छलफलमा सहकारी ठगी प्रकरणको संसदीय छानबिन गर्न प्रधानमन्त्री दाहाल सकारात्मक देखिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेता लेखकले भने, “संसदीय छानबिन समिति गठनका विषयमा छलफल भएको छ, यसमा प्रधानमन्त्रीजी सकारात्मक हुनुहुन्छ।”
कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानमाथि संसदीय छानबिनको माग गर्दै आएको छ। यस विषयलाई लिएर संघीय संसद्का बैठक पनि अवरुद्ध भइरहेका छन्।
यसलाई सुल्झाउन प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूसँग छलफल गरेका हुन्। छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्ण सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। त्यस्तै, प्रधानमन्त्री दाहालसँगै माओवादी नेता जनार्दन शर्मा छलफलमा थिए।
कांग्रेसले उठाएका विषयमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलसँग छलफल गर्ने लेखकले जानकारी दिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै लेखकले भने, “संसदीय छानबिन समिति गठनका विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर फेरि कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ।”
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताबीच आधा घण्टा छलफल भएको थियो। छलफलमा कांग्रेसले आफ्नो कुरा राखेको र प्रधानमन्त्री दाहालले पनि संसद्को गतिरोध हटाउनका लागि सहयोग गर्न आग्रह गरेको लेखकले बताए।