बचतकर्ताकाे रकम ब्यांकमै असुरक्षित
ब्यांकमा रकम राखेका ललितपुरको गोदामचौरका लेखपढ गर्न नजान्ने र पाका उमेरका केही बचतकर्ता वित्तीय कारोबारमा ब्यांकका कर्मचारीमा भर पर्दा ठगिएका छन्। छानबिन शुरू भएपछि भने ब्यांकले रकम फिर्ता गरेकाे छ।
गत वैशाख ४ मा ललितपुरको गोदावरी नगरपालिका-१, गोदामचौरकी ६६ वर्षीया निर्मला सार्की लक्ष्मी सन्राइज ब्यांकको टौखेल शाखा पुगिन्। मुटुरोगी निर्मला ब्यांकमा बचत गरेको पैसा उपचारका लागि निकाल्न गएकी थिइन्। उनको खातामा पाँच लाख रुपैयाँ थियो। तर रकम निकाल्न लाग्दा पो उनी खङ्ग्रङ्ग भइन्। उनको खातामा त जम्मा एक हजार ८६८ रुपैयाँ मात्र देखियो।
निर्मलाकै दिदी ७९ वर्षीया चरी सार्कीले सोही ब्यांकको शाखामा १० लाख रुपैयाँ राखेकी थिइन्। उनको खातामा अहिले ७९५ रुपैयाँ मात्र थियो। दिदीबहिनीको खातामा जग्गा बेचेर आएको रकम राखेको निर्मला बताउँछिन्।
उनले २०७३ सालमा खाता खोलेकी थिइन् भने चरीले यसको एक वर्षपछि। त्यसयताको सात-आठ वर्षमा २०-३० हजार रुपैयाँ झिक्ने र राख्ने क्रम चलिरह्यो।
लेखपढ गर्न नआउने र पाको उमेरका कारण ब्यांकमा आउजाउ गर्न पनि गाह्रो हुने भएकाले उनीहरू ब्यांकमा पियन पदमा काम गर्ने व्यक्तिलाई चेक दिएर रकम निकाल्न पठाउँथे।
“कति पटक त मैले चेक दिएर पैसा निकाल्न लगाएकी थिएँ, तर त्यस बाहेक पनि मलाई थाहै नदिई रकम निकालेर खाता खाली पारिएछ,” निर्मला भन्छिन्, “मेरी दिदीको खाताबाट त एकै पटकमा आठ लाखसम्म निकालिएको थियो।”
ब्यांकमा आफूहरूको अनुपस्थितिमा पहिले हजारबाट शुरू गरेर पछि लाखको दरमा रकम निकालिएको उनी बताउँछिन्। सामान्यतया कसैको चेक लिएर दोस्रो व्यक्ति नगद निकाल्न जाँदा एक लाख रुपैयाँदेखि माथिको रकम भएमा ब्यांकले खातावाललाई फोन गरेर जाँच्ने गर्छ। तर आफूहरूको अनुपस्थितिमा र एक चोटि पनि सम्पर्क नगरी ब्यांकले त्यत्रो रकम कसरी भुक्तानी दियो भन्ने निर्मलाको प्रश्न छ।
ब्यांकिङ कारोबारको विवरणमा चरी आफैंले आठ लाख रुपैयाँ निकालेको देखाइएको छ। तर शंकास्पद के देखिन्छ भने, चरी र निर्मलाको कारोबार विवरणमा पैसा झिक्दा प्रयोग गरिएको चेक नम्बर उनीहरूलाई दिइएको चेक नम्बरभन्दा फरक छ।
प्राय: एउटा चेकबूकमा १० वटा पाना हुन्छन्। चेकबूकमा भएका हरेक पानाको अंक फरक भए पनि शुरूका केही अंक भने एकअर्कासँग मिल्छन्। तर चरी र निर्मलाका कारोबार विवरणमा दिइएको चेक नम्बर र उनीहरूले प्रयोग गरिरहेको चेक नम्बरको शुरूआती अंक नै मिल्दैन।
चेक नम्बर फरक पर्दा पनि ब्यांकले कसरी पैसा दियो त? कति बचतकर्ता चेकबूक नै लिन नआउने, हरायो भन्दै नयाँ चेकबूक बनाउने र त्यसरी बचतकर्ताको नाममा निकालिएका पुराना चेक नै पियनले ठगी गर्न प्रयोग गरेको पाइएको लक्ष्मी सन्राइज ब्यांक स्रोतले जनाएको छ।
चरी र निर्मला दिदीबहिनीको घटना बाहिर आएपछि उनीहरूको जस्तै गरी ब्यांकको सोही शाखाका अन्य ज्येष्ठ नागरिकको खाताबाट पनि उनीहरूलाई जानकारी नभई पैसा निकालिएको थाहा भयो। यसरी ठगीमा परेका १०-१२ जना रहेको र ठगिएको कुल रकम ४७ लाख रुपैयाँ रहेको पीडितहरू र ब्यांकबाट पुष्टि भएको छ। यीमध्ये हिमालखबरले सात जना पीडितसँग कुराकानी गरेको थियो।
ठगीमा परेका सबै पीडित लेखपढ गर्न जान्दैनन्। आर्थिक कारोबारमा औंठाछापको प्रयोग गर्छन्। आफ्नो खातामा कति पैसा जम्मा गरियो र कति पैसा निकालियो भनेर उनीहरूको मोबाइल फोनमा मेसेज आउने सुविधा छैन। धेरैसँग त मोबाइल फोन नै छैन। फोन बोक्नेहरू पनि प्रविधिमा जानकार नभएका कारण उनीहरूले मोबाइल तथा इन्टरनेट ब्यांकिङको सुविधा पनि लिएका छैनन्। जसका कारण खाताबाट पैसा रित्तिंदै गएको उनीहरूले थाहा नपाएको पीडित परिवारका विक्रम भण्डारी बताउँछन्। आमा सावित्री भण्डारीको खातामा पनि ६ लाख रुपैयाँको हिसाब गोलमाल भएको भण्डारी बताउँछन्।
नेपाल राष्ट्र ब्यांकले २०७९ सालमा गरेको वित्तीय साक्षरता सम्बन्धी सर्वेक्षणले ६० वर्षदेखि माथिका व्यक्तिमध्ये २७.९ प्रतिशतमा मात्र वित्तीय साक्षरता रहेको देखाएको थियो। यही ब्यांकिङ ज्ञानको कमीका कारण पाका उमेरका ग्राहक वित्तीय ठगीका शिकार बन्न पुगेका छन्।
यो प्रवृत्ति नेपालमा मात्र नभएर विश्वव्यापी नै रहेको देखिन्छ। अमेरिकाको कोर्नेल विश्वविद्यालय र न्यूयोर्कको ज्येष्ठ नागरिक विभागको समन्वयमा भएको एक अध्ययनले पाका व्यक्ति वित्तीय ठगीमा धेरै पर्ने देखाएको छ।
लक्ष्मी सन्राइज ब्यांकको टौखेल शाखामा भएको घटनाले पनि ज्येष्ठ नागरिकलाई नै ठगीको शिकार बनाइएको देखिन्छ। रकम ठगीमा परेका ब्यांकका बचतकर्ता टौखेल नजिकैको गोदामचौरका बढी छन्। उनीहरूले यही ब्यांकमा पियन पदमा काम गर्ने व्यक्तिलाई विश्वास गर्दा ठगीमा परेको पाइएको छ।
स्थानीय बचतकर्ताका अनुसार उनलाई स्थानीय पाका व्यक्तिहरूले पैसा जम्मा गर्न लगाउने र पैसाको खाँचो पर्दा चेक काटेर रकम निकाल्न पनि पठाउने गर्थे। ब्यांकका कर्मचारीका पनि विश्वासपात्र रहेका उनलाई अरूको चेक लिएर जाँदा सहजै भुक्तानी दिएको देखिन्छ।
तिनै व्यक्तिलाई २०८० माघ ३ गते गोदामचौरका ८४ वर्षीय भैरवबहादुर बस्नेतले ११ लाख ५० हजार रुपैयाँ आफ्नो खातामा जम्मा गर्न पठाए। भोलिपल्ट तिनले नगद जम्मा गरेको भौचर ल्याएर बस्नेतको हातमा थमाइदिए। तर उक्त रकम बस्नेतको खातामा जम्मा भएकै थिएन। हिमालखबरलाई प्राप्त भौचरको तस्वीरमा नगद प्राप्त गरेको भनेर छाप लगाइएको छ।
लक्ष्मी सन्राइज ब्यांकले रकम ठगी भएको स्विकार्दै यसमा पियन नै संलग्न देखिएको बताएको छ। ब्यांकका सूचना अधिकारी पीयूषराज अर्याल आन्तरिक अनुसन्धान गर्दा पियन दोषी देखिएको बताउँछन्। “२५ हजार झिकिदेऊ भनेर चेक दिएर पठाउँदा उनी आफैंले बढाएर ४०-५० हजार निकालेको देखियो,” अर्याल भन्छन्।
कतिपय समयमा पीडितले पियनलाई खाली चेक दिएर पठाएको वेला यस्तो ठगी भएको र कहिले भने खातावाल आफैं ब्यांकमा उपस्थित भए पनि निरक्षर भएका कारण पियनलाई नै चेकमा लेख्न दिंदा रकम बढी लेखेर ठगी गरेको पीडितका परिवारजनको अनुमान छ।
७० वर्षीया ज्ञानु खड्काको खाताबाट आठ लाख ६० हजार रुपैयाँ जतिको हिसाब मिलेको छैन। आफै पैसा निकाल्न ब्यांक जाँदा पनि खड्काले पियनलाई चेक भर्न लगाएर औंठाछाप लगाउँथिन्। त्यसैको गलत फाइदा उठाएर ती कर्मचारीले बढी रकम निकाल्ने गरेको ब्यांक र पीडित दुवैको ठम्याइ छ।
५१ वर्षीया वसन्ती खड्काले पनि लक्ष्मी सन्राइज ब्यांकको टौखेल शाखामै २०७४ असारमा खाता खोलेकी थिइन्। केही दिनमा दुई लाख १४ हजार रुपैयाँ खातामा राखिन्। पैसा आवश्यक नपरेकाले चेकबूक लिन ब्यांक गइनन्। पछि, वसन्तीकै नाम भएको चेक प्रयोग गरेर उनको खाताबाट पैसा निकालिएको थियो। वसन्तीलाई आफ्नो नामको चेकबूक निस्किएको थाहै छैन।
यो ठगीमा परेका १०-१२ जनामध्ये धेरैजसो खातावाललाई जानकारी नै नदिई चेक साटेर पैसा दिइएको आरोप छ। नाम उल्लेख नगर्ने शर्तमा एक वाणिज्य ब्यांककी अधिकारी वित्तीय साक्षरता नभएका व्यक्तिहरूको चेक मार्फत भुक्तानी दिने क्रममा फोन गरेर सोध्न झनै महत्त्वपूर्ण हुने बताउँछिन्।
“सामान्यतया ब्यांकहरूमा जो निरक्षर प्रयोगकर्ता हुन्छन् र हस्ताक्षरको सट्टा औंठाछाप लगाउँछन्, उनीहरूले रकम झिक्दा अनिवार्य उपस्थित हुनुपर्ने नीति हुन्छ,” उनी भन्छिन्, “एक लाख र त्यसभन्दा माथिको रकम झिक्न अरूलाई चेक दिएर पठाए पनि खातावाललाई फोन गरेर जाँच्ने प्रक्रिया पनि हुन्छ।”
तर लक्ष्मी सन्राइज ब्यांकको टौखेल शाखामा त्यस्ता आधारभूत नियम पनि पालना गरेको देखिएन। खातावालको अनुपस्थितिमा पैसा झिकिंदा आफूहरूलाई ब्यांकबाट फोन नै नआएको पीडितहरू गुनासो गर्छन्।
ब्यांकका सूचना अधिकारी पीयूष चेक साट्ने वेला ब्यांकबाट पनि त्रुटि भएको स्विकार्छन्। “ब्यांकका अरू कर्मचारीबाट पनि हेलचेक्र्याइँ भएको पाइयो,” उनी भन्छन्।
त्यसमा पनि दैनिक कारोबारलाई हेर्ने र जाँच्ने जिम्मेवारी हुने अपरेशनल इन्चार्जको कमजोरी देखिन्छ। पीयूष भन्छन्, “एउटै संस्थाका कर्मचारी भएकाले ती पियनलाई अपरेशनल इन्चार्जले पनि चिनेकै थिए। स्थानीय बचतकर्तालाई तिनले नै ल्याएको भनेर विश्वासकै भरमा कारोबार अघि बढाइएको होला।”
गत वैशाख १८ गते पीडितमध्ये ६ जना आफू ठगिएको भन्दै छुट्टाछुट्टै निवेदन लिएर जिल्ला प्रहरी परिसर, ललितपुर पुगेका थिए। तर प्रहरीले एक साता समय दिनुस् भनेर निवेदन दर्ता नगरी आफूहरूलाई फर्काएको पीडितहरूको भनाइ छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका सूचना अधिकारी नरेशराज सुवेदी भने ब्यांकले आन्तरिक छानबिन गरिरहेको अवस्था भएकाले केही समय पर्खन भनेको बताउँछन्। औपचारिक रूपमा जाहेरी नआएकाले यस घटनामा प्रहरीले अनुसन्धान नगरेको उनको भनाइ छ।
यसैबीच, पीडित सबै बचतकर्ताको रकम वैशाख ३० देखि जेठ ३ गतेसम्म उनीहरूको खातामा फिर्ता भइसकेको ब्यांकका सूचना अधिकारी पीयूषको भनाइ छ। “जसले बदमासी गर्नुभयो, उहाँको परिवारले नै पैसा फिर्ता गरेको छ,” उनी भन्छन्।
हिमालखबरले ब्यांकका पियनलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ भएका कारण कुरा हुन सकेन।
ठगी गरेको भनिएका ती कर्मचारीले ब्यांकको विश्वसनीयतामा दाग लाग्ने कार्य गरेकाले कारबाही गरिने ब्यांकका सूचना अधिकारी पीयूष बताउँछन्। उनी भन्छन्, “यो घटनाका एक-एक मुद्दामा हामी आन्तरिक अनुसन्धान गरिरहेका छौं। दोषी देखिएका कर्मचारीलाई ब्यांकले कारबाही गर्नेछ, कस्तो कारबाही गर्ने भन्नेमा टुंगोमा पुग्न बाँकी छ।”