प्रतिनिधि सभाको बैठक जेठ ६ सम्म स्थगित
प्रतिनिधि सभाको शुक्रबारको बैठक सूचना टाँसेर स्थगन भएको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गरी प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बोलाइएको जनाएका छन्।
सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
प्रतिनिधि सभाको बिहीबारको बैठकमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो। संसदीय समिति गठनको विषयमा सहमति नजुटेपछि भने शुक्रबारको बैठक स्थगन गरिएको हो।
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलले विरोध गर्दै आएका छन्। उनीहरूले सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै आएका छन्।
यसमा सहमति जुट्न नसक्दा संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि शुक्रबारको राष्ट्रिय सभाको बैठक पनि स्थगन गरिएको थियो।