सहकारी ठगीलाई लिएर राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध
सहकारी ठगी प्रकरणलाई लिएर राष्ट्रिय सभाको शुक्रबारको बैठक पनि अवरुद्ध भएको छ।
राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाए। अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई आआफ्नो स्थानमा बस्न आग्रह गरेका थिए।
कांग्रेस सांसदले विरोध जारी राखेपछि अध्यक्ष दाहालले बैठक स्थगन गरेका हुन्। राष्ट्रिय सभाको अर्को बैठक जेठ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ।
सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले संसदीय छानबिनको माग गर्दै आएको छ। संसदीय छानबिन समिति गठनमा सत्तारूढ दल र विपक्षी दलबीच सहमति नहुँदा संसद् अवरुद्ध हुँदै आएको छ।
कांग्रेसले भने यो मुद्दालाई अझ जोडदार रूपमा उठाउने निर्णय गरेको छ। सरकारले सहकारी ठगीमा संलग्न व्यक्तिलाई बचाउन खोजेको कांग्रेसको आरोप छ।