पुल तरेको पनि शुल्क लिन्छ स्थानीय सरकार
नदी वारपार गर्न सहज बनाउनुको सट्टा स्थानीय सरकारले मोहना नदीमा काठेपुल राख्न ठेक्का दिएर पुल तर्दा पनि नागरिकबाट पैसा असुलिरहेको छ।
कैलालीको कैलारी गाउँपालिका भएर बगेको मोहना नदी पार गर्न गाउँपालिकाले काठेपुल बनाएको छ। मोहना नदी पारि कैलारीका वडा नं ३ र ७ का मोहनपुर, शिवरत्नपुर र हौसलपुर लगायत दर्जनौं बस्ती छन्। तर यी बस्तीका बासिन्दाले काठेपुल तर्दा शुल्क तिर्नुपर्छ।
कामको सिलसिलामा मोहना नदी वारपार गर्दा पैसा तिर्नुपरिरहेको शिवरत्नपुरकी सोमती चौधरी गुनासो गर्छिन्। “नदी पारिको गाउँमा रहेका आफन्तकहाँ जाँदा वा कुनै कामविशेषले जाँदा पैसा तिर्नुपर्छ,” चौधरी भन्छिन्।
गाउँवासीले मात्रै होइन, पाहुनाले पनि पुल तर्दा पैसा तिर्नुपरिरहेको छ। “हाम्रा आफन्तहरू पाहुना लाग्न आउँछन्। कोहीसँग त पैसा पनि हुँदैन, तर काठेपुलमा हिंडे बापत शुल्क तिर्नुपर्छ,” उनी भन्छिन्, “हाम्रो घरमा आएका पाहुनाले पनि गुनासो गरेका छन्।”
त्यस्तै समस्या कैलारी गाउँपालिका-९, कोइलहीका यम चौधरीलाई पनि पर्यो। उनी कामविशेषले खोनपुर घाटको पुल भएर शिवरत्नपुर पुगेका थिए। तर पुल तर्न पैसा तिर्नुपर्यो। “आफ्नै गाउँपालिकामा ओहोरदोहोर गर्दा पनि सरकारलाई शुल्क दिनुपर्ने कस्तो विडम्बना हो,” चौधरी भन्छन्, “भारत जानलाई पैसा लाग्दैन, तर गाउँपालिकाभित्रै यताउता जान पुल दर्ता पैसा तिर्नुपर्छ।”
मोहना नदी पारिका दुई वटा वडाका बासिन्दाले आवतजावत गर्ने तीन वटा घाट छन्, खोनपुर, गोबरैला र भित्तरिया। तीनै घाटमा वर्षा याममा डुंगा चलाउन र अन्य याममा काठेपुल राख्न गाउँपालिकाले ठेक्का दिने गरेको छ।
गाउँपालिकाले खोनपुर घाटका लागि वार्षिक दुई लाख ६५ हजार रुपैयाँ, गोबरैला घाटका लागि ३६ हजार रुपैयाँ र भित्तरिया घाटको पाँच लाख २१ हजार रुपैयाँमा ठेक्का दिएको छ। खोनपुर र गोबरैला घाटको ठेक्का कैलारी-३ का तेजराम चौधरीले पाएका छन्।
यद्यपि खोनपुरका बासिन्दाले ठेक्का लगाउन दिएका छैनन्। उनीहरूले गाउँपालिकाले तोकेको ठेकेदारलाई डुंगा चलाउन तथा पुल लगाउन दिएका छैनन्। स्थानीय बासिन्दाले नै डुंगा चलाउने गरेका छन् भने काठेपुल राखेका छन्।
स्थानीय सरकारबाट ठेक्का पाएका ठेकेदारले स्थानीय बासिन्दाबाट पुल वारपार गर्दा शुल्क लिने गरेका छन्। पुल वारपार गर्दा प्रतिव्यक्तिबाट २० देखि ५० रुपैयाँ लिने गरेका छन्। त्यस्तै, साइकल तथा मोटरसाइकल सहित पुल वारपार गर्दा ८० रुपैयाँ तिर्नुपर्छ।
भित्तरिया घाटको ठेक्का गणेश महतोले पाएका छन्। काठेपुल राख्न लगानी भएकाले वारपार गर्दा शुल्क लिने गरेको महतो बताउँछन्। “काठको पुल बनाउन मैले नै लगानी गरेको छु। मेरो लगानी र गाउँपालिकालाई तिर्नुपर्ने ठेक्का गरी १० लाखभन्दा माथि छ,” ठेकेदार महतो भन्छन्, “त्यो लगानी उठाउन पनि मैले शुल्क लिनुपर्ने बाध्यता छ।”
तीनै घाटबाट स्थानीय बासिन्दा र अन्य गरी दैनिक हजारभन्दा बढी पटक ओहोरदोहार हुन्छ। वडा कार्यालयमा सेवा लिन, किनमेल गर्न र औषधोपचारका लागि भारत जान पनि मोहना नदी तर्नुपर्छ। यस्तो वेला पुल तरेको पैसा तिर्नुपरिरहेको स्थानीय बासिन्दा गुनासो गर्छन्।
स्थानीय सरकार भने पुलको व्यवस्था गर्नुको सट्टा ठेक्का दिएर नागरिकले हिंडडुल गरेकोमा पनि पैसा असुलिरहेको छ।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी यस पटक ठेक्का गइसकेकाले केही गर्न नसकिने प्रतिक्रिया दिन्छन्। काठेपुलमा हिंडडुल गर्ने मान्छेबाट बढी पैसा असुलिरहेको गुनासो आएको उनी पनि सुनाउँछन्। “ठेक्का गइसकेको छ, ठेक्का लिनेहरूले बढी रकम असुली गरिरहेको गुनासो आएको छ,” अध्यक्ष चौधरी भन्छन्, “गाउँकै व्यक्तिले ठेक्का लिएका थिए, तर गाउँवासी र ठेकेदारबीच केकस्तो सम्झौता भयो, थाहा छैन।”
अध्यक्ष चौधरीको ध्यान स्थानीय बासिन्दालाई नदी तर्न सहज बनाउनेभन्दा पनि राजस्व उठाउन केन्द्रित छ। उनी भन्छन्, “हामी ठेकेदारबाट राजस्व असुल गर्छौं।”