प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले विश्वासको मत लिनका लागि पठाएको पत्र अनुसार तयारी भइरहेको बताए।
सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा), नेपालले गत वैशाख ३१ गते प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै सरकारमा सहभागी जसपा नेपालका दुई मन्त्रीले राजीनामा दिएका थिए।
जसपा, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपरेको हो। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)को समर्थन छ।