कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदबीच धकेलाधकेल भएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
बिहीबार अपराह्न प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै कांग्रेसका सांसदले ‘बेल’ मा गएर विरोध जनाएका थिए। उनीहरूले सहकारी ठगी प्रकरणमा आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। यही विषयलाई लिएर बिहीबारको बैठकमा पनि विरोध जनाएका हुन्।
कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएका थिए। सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदले नाराबाजी चर्को पारेका थिए।
यहीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई रोस्टममा गएर बोल्न सुझाएका थिए। अध्यक्ष ओलीसँगै एमाले सांसदहरूले लामिछानेलाई रोस्टममा लग्न खोजेका थिए।
त्यसपछि कांग्रेसका सांसद बाटो छेक्न गएका थिए। यहीबीच कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल शुरू भएको थियो।
यो क्रम बढ्दै गएपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगन गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ।
यही विषयलाई लिएर राष्ट्रिय सभाको बिहीबारको बैठक पनि स्थगन भएको थियो। राष्ट्रिय सभाको बैठकमा पनि कांग्रेसका सांसदले विरोध जनाएका थिए।