२५ लाख राशिको बारबरा पत्रकारिता पुरस्कार प्रदान
बारबरा फाउन्डेशन खोज पत्रकारिता पुरस्कार हिमालखबरकर्मी रमेशकुमार न्यौपाने सहित चार पत्रकारले पाएका छन्।
फाउन्डेशनले जेठ ३ गते काठमाडौंमा आयोजना गरेको एक समारोहमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चार जना खोज पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन्। नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर लगेको विषय खुलासा गरेका पत्रकार देवेन्द्र भट्टराई र मात्रिका दाहालले संयुक्त रूपमा प्रथम पुरस्कार प्राप्त गरे।
त्यस्तै, उकालोमा प्रकाशित बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रूपले यसरी गर्यो कब्जा समाचारका लागि दीपा दाहालले द्वितीय पुरस्कार प्राप्त गरिन्।
हिमालखबरकर्मी न्यौपानेले धितोपत्र बजारको आर्थिक चलखेल र अनियमिततालाई उजागर गरेकोमा तृतीय पुरस्कार प्राप्त गरे । उनले सर्वसाधारणलाई झुक्याएर लगानी रकम उठाउने कम्पनीहरूको प्रपञ्च तथा नियामकको मिलमतोबारे श्रृंखलावद्ध समाचार प्रकाशित गरेका थिए । पुरस्कार राशि क्रमशः १६ लाख, ६ लाख र तीन लाख रुपैयाँ छ।
हिमालखबरका समाचार प्रमुख न्यौपानेले पुरस्कारले अझै राम्रो रिपोर्टिङ गर्न उत्प्रेरणा मिलेको बताए। उनले भने, “यस्तो सम्मानले जीवनमा फर्केर हेर्दा पत्रकारितामा राम्रै काम गरिएछ भन्ने महसूस गराउँदो रहेछ।”
त्यस्तै, पत्रकार दाहालले पुरस्कारले जिम्मेवारी र चुनौती थपिएको महसूस गरेको बताइन्। पुरस्कार ग्रहणपछि पत्रकार भट्टराईले पत्रकारिताले समाजमा आशाको सञ्चार गर्ने काम गरेको बताए। राम्रो पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई पनि कतिपयले नराम्राकै घानमा पार्ने गरेको उनको भनाइ थियो। भट्टराईसँगै पुरस्कृत पत्रकार कान्तिपुरकर्मी दाहालले सम्मान पाइएला भनेर पत्रकारितामा नलागेको बताए।
कार्यक्रममा बारबरा फाउन्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, महासचिव मोहना अन्सारी, सदस्य अखिलेश उपाध्याय, वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले मन्तव्य राखेका थिए।