डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सत्याग्रह स्थगन गरेका छन्।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डा.केसीले बिहीबार सत्याग्रह स्थगन गरेका हुन्। उनले ६ दिनअघि पशुपतिको मृगस्थलीमा सत्याग्रह शुरू गरेका थिए।
स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि उनलाई बुधबार बेलुका त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो। चिकित्सकले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएका थिए।
डा. केसीले बिहीबार विज्ञप्ति जारी गरी सत्याग्रह स्थगन गरेको जनाएका छन्। उनले चारबुँदे माग राख्दै सत्याग्रह शुरू गरेका थिए।
सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, निष्पक्ष रूपमा र पीडितले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चितता गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने माग राखेका थिए। सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने र यसअघि आफूसँग सरकारले गरेका माग सम्बोधन गर्न आग्रह गरेका थिए।
यसअघिका सत्याग्रहका क्रममा सरकारले धनगढीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेशसँगै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज वा प्रतिष्ठान निर्माण गर्ने, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन पारित गर्ने सहमति गरेको थियो। त्यसलाई कार्यान्वयन गर्न डा. केसीले आग्रह गरेका थिए।
त्यस्तै, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले दोषी ठहर्याएका व्यक्तिलाई कारबाही गर्न माग गरेका थिए। कार्की आयोगले दिएको प्रतिवेदन केही दिनअघि मात्रै शिक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो।