कर्णालीका मुख्यमन्त्रीले आफैसँग राखे दुई मन्त्रालय
एमालेभित्र देखिएको आन्तरिक विवादका कारण कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई मन्त्रालय आफैसँग राखेका छन्।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालय आफूसँगै राखेका कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पनि आफूसँगै राखेका हुन्। कृषिमन्त्रीमा सिफारिश गरिएका विनोदकुमार शाहले शपथ ग्रहण गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री कँडेलले त्यो मन्त्रालय आफैसँग राखेका छन्।
मुख्यमन्त्री कँडेलले वैशाख १८ मा शाहलाई कृषिमन्त्री नियुक्त गरेका थिए। तर उनले मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।
प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन्। जसमा मुख्यमन्त्री कँडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ।
पूर्व मन्त्री समेत रहेका एमाले प्रदेश सभा सदस्य शाहले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मागेका थिए। तर मुख्यमन्त्री कँडेलले भौतिक तथा पूर्वाधार मन्त्रालयमा शेरबहादुर बुढालाई दिएका थिए।
अन्य मन्त्री र मन्त्रालय भने यथावत् छन्। एमालेबाट शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र गमता विक राज्यमन्त्री छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट महेन्द्र केसी आर्थिक मामिला तथा योजनामन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, रनसिंह परियार जलस्रोत तथा उर्जा विकासमन्त्री र वीरबहादुर शाही सामाजिक विकासमन्त्री छन्।