नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा शर्मा
सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शर्मालाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।
त्यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरण लगायत कार्य समितिले गर्दै आएको छ।
मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका कायममुकायम सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। यस्तै, कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ।
यससँगै मन्त्रिपरिषद्ले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्यान्ड सरकारबाट प्राप्त हुने करीब १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन्।