बुबाको प्रस्थान : ढल्यो धरहरा
ज्ञानमणि नेपाल विद्वत्ताको धरहरा हुनुहुन्थ्यो। मेरो सौभाग्य हो, उहाँको जेठो छोरो भएर जन्मिन पाएँ।
२०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौंको मुटुमा रहेको धरहरा ढलेको थियो। त्यसको नौ वर्षपछि जेठ १ गते ज्ञानमणि नेपालको निधनसँगै अर्को धरहरा ढल्न गयो। २०७२ सालमा ढलेको धरहरा इँटा, चुन, सुर्की आदि प्रयोग गरी बनेको थियो। त्यसलाई सजिलै पुनर्निर्माण पनि गरियो। दोस्रो धरहरा भने अध्ययन, अनुसन्धान, ज्ञान, निष्ठा र अध्यवसायको थियो, हाम्रो परिवारको थियो। यसलाई अब कहिल्यै प्रतिस्थापन गर्न सकिंदैन।
जसरी धरहरा काठमाडौंको ‘मोनुमेन्टल फिचर’ मानिन्थ्यो, त्यसैगरी नेपालको इतिहास, संस्कृति, साहित्य र अनुसन्धानका क्षेत्रमा ज्ञानमणि नेपालको ‘मोनुमेन्टल’ उपस्थिति थियो। ९१ वर्षसम्म बाँचेर इतिहास अन्वेषण र विश्लेषण मार्फत उहाँले आफ्नो क्षेत्रलाई उचाइमा पुर्याउनुभयो। आधारभूत स्रोतलाई उपयोग गर्दै ४० भन्दा बढी मौलिक अनुसन्धानात्मक ग्रन्थ लेख्नुभयो।
मैले प्रत्यक्ष देखेको छु, एउटा शब्दको अर्थ लगाउन उहाँलाई कहिले महीनौं लाग्थ्यो। कैयौं पटक मैले मूल स्रोतहरूका कागज विभिन्न पुस्तकालयबाट ल्याउने र नेपालीमा उल्था गर्ने काम पनि गरेको छु। जब एउटा अनुसन्धानको काम सकियो, त्यो प्रकाशनमा जान्थ्यो। अनि बुबा अर्को त्यस्तै अप्ठ्यारा अनुसन्धान कार्यमा हात हाल्नुहुन्थ्यो।
नयराज पन्तको पाठशालामा दीक्षित भएकाले बुबाको भनाइ थियो- ‘साधारण अखबारी लेख नलेख। लेखन भनेको कालजयी हुनुपर्छ।’ उहाँका छोटा वा लामा लेख साहित्यिक मासिक वा अरू अनुसन्धानात्मक प्रकाशनमा छापिए, दैनिक र साप्ताहिक पत्रिकामा कमै छापिए।
अखबारी लेखनप्रति उहाँको अनिच्छा धेरै समयसम्म चल्यो। गोरखापत्रको शनिवासरीय परिशिष्टांकमा यदाकदा लेख छाप्ने क्रम भने थियो। त्यहाँ पनि राजा रणबहादुर शाहको चरित्रबारे उहाँले लेखेको अनुच्छेदमा सम्पादकले कैंची चलाएपछि लेख दिन छाड्नुभयो।
२०६० सालपछि मैले बुबालाई एउटा कुरामा मनाएँ। मेरो आग्रहमिश्रित प्रश्न थियो- ‘बुबाका लेख खास व्यक्तिहरूले मात्र पढ्ने कि आमपाठकले?’ लेखन सीमित दायरामा नखुम्च्याई आमपाठकमा पुर्याउनुपर्छ भन्ने मेरो आग्रह थियो।
उहाँले गर्ने अनुसन्धानका खास पाठक थिए। इतिहासका विद्यार्थी, प्राध्यापक र केही अनुसन्धाताले मात्र पढ्थे ती। पुस्तक प्रकाशन भएर बजारमा पुग्दा मुश्किलले १०० देखि २०० प्रतिसम्म बिक्री हुन्थे। आमपाठकमा पुग्न कथ्य शैली आकर्षक र सरल हुनुपर्यो। पाठकलाई रुचिकर हुनुपर्यो।
करीब एक वर्ष भनिरहेपछि उहाँले मेरो आग्रह स्विकार्नुभयो। सबैभन्दा ठूलो कुरा, उहाँको लेखलाई भाव र आशय नमर्ने गरी शब्द संयोजन गर्ने अधिकार मलाई दिनुभयो। यी लेखहरू नागरिक दैनिकमा छापिने तय भयो।
यस कामका लागि म एक प्रकारले बुबाका लेखको सम्पादक भएँ। मेरो काम थियो- अनुच्छेद मिलाउने, शब्द परिवर्तन गर्ने, प्रसंग दोहोरिए/नदोहोरिएको हेर्ने र लेखलाई १६०० देखि २००० शब्दको सीमाभित्र राख्ने।
बुबाले लेख्नुभएका समसामयिक लेख घर नजिकैका धनबहादुर महर्जनले टाइप गरी मलाई इमेलमा पठाइदिन्थे। म त्यसलाई माथि भनिए जस्तो मिलाएर नागरिकको लेखरचना शाखामा पठाइदिन्थें र त्यो छापिन्थ्यो। यो क्रम केही वर्ष निरन्तर चल्यो।
यस क्रममा ५० वटा जति लेख छापिए। तिनले चर्चा पनि पाए। यसले गर्दा विगतमा खास पाठकले मात्र पढ्ने बुबाले लेखेका इतिहास पनि आमपाठकले पढ्न थाले। तर केही समयपछि बुबाले लेखेको विषयमा नागरिकको सम्पादकबाटै लेख मार्फत खण्डन आयो।
त्यसपछि बुबाले त्यस अखबारमा लेख्न मान्नुभएन। बुबाको भनाइ थियो, “अर्को मान्छेले मेरो खण्डन गर्न सक्छ, त्यो त अनुसन्धानको मूल मर्म पनि हो। तर सम्पादकबाट नै त्यस्तो हुन्छ भने यो त अनैतिक हो। म त्यहाँ लेख दिन्नँ।”
त्यस विषयमा मैले बुबालाई मनाउन पनि चाहिनँ। मनाउने कुरा पनि भएन।
यसबीच इतिहासका प्रमाण एकापट्टि राखेर त्यसको सरल व्याख्या अर्कोपट्टि राखी बुबाको लेख प्रकाशन गर्ने काम हिमाल खबरपत्रिकाले शुरू गरिसकेको थियो। तर यी छोटा लेख थिए र एक विषयमा केन्द्रित थिए। यसले बुबाको विशद ज्ञानको क्षेत्रलाई समेट्छ भन्ने मलाई लागेको थिएन।
बुबाको इतिहासबारे ज्ञान, आफ्नो बुझाइ र प्रस्तुति यस्तो बेजोड थियो कि म छक्क पर्थें। हाम्रो घरमा विगत ४० वर्षदेखि नै विश्वविद्यालयका शिक्षक, विद्यार्थी, अनुसन्धाता बुबालाई भेट्न आइरहन्थे। खासगरी उहाँको पुस्तक नेपाल निरुक्त (२०४० साल) प्रकाशन भएपछि त्यो क्रम बढेको थियो। ठूला ओहदामा रहेका मानिसहरू पनि आउँथे।
उनीहरू बुबालाई सोध्ने, छलफल गर्ने र जानकारी लिने गर्थे। आउने मानिसका प्रश्न मात्र हुन्थे, बुबाका उत्तर। आफूले भनेका कुराको पुस्ट्याइँका लागि बुबा पुस्तकहरू पल्टाएर देखाइदिनुहुन्थ्यो। म कोठामा हुँदा ‘फलानो किताब निकाल् त’ भनेर अह्राउनुहुन्थ्यो। त्यसको पेज नम्बर पनि भन्ने र आगन्तुकलाई त्यो सन्दर्भस्रोत देखाइदिने उहाँको स्वभाव थियो।
मैले २०३४ सालयता झन्डै ४५ वर्ष बुबाको सहयोगी भएर अनुसन्धान र प्रकाशनका काममा सघाउने सौभाग्य पाएँ। त्यसबारे उहाँले प्रत्येक ग्रन्थको भूमिकामा मेरो नाम पनि उल्लेख गर्नुभएको छ।
उहाँ लेखनको प्रामाणिकतामा निकै सचेत हुनुहुन्थ्यो। कुनै पनि अनुच्छेद अनुमानका आधारमा लेख्नुभएको मैले देखिनँ। जे कुरा लेखिएको छ, त्यसको प्रमाण छ। एउटा होइन, दुई वटा होइन, उपलब्ध भए जति र प्रकाशन भए जति।
बिस्तारै मैले के महसूस गरें भने, नेपालको विगत तीन हजार वर्षको इतिहासका महत्त्वपूर्ण जानकारी बुबालाई मुखाग्र छ र उहाँसँग त्यो बताउने सामर्थ्य पनि छ। बुबा इतिहासबारे घण्टौं धाराप्रवाह बोल्न सक्नुहुन्थ्यो। हामीले त्यसलाई रेकर्ड गर्न खोज्यौं, तर बुबा मान्नुभएन। सन्दर्भस्रोत विना कथा मात्र भनेर इतिहास नहुने उहाँको भनाइ थियो।
मैले र प्रमोद न्यौपानेजी मिलेर वैकल्पिक ढंगले प्रयत्न गर्यौं। विषयसूची तयार पारेर ६ देखि १० मिनेटको सेसनमा एउटा समयको इतिहासबारे बोल्न भन्यौं। ५ देखि ६ इपिसोड तयार पनि भयो। तर बुबाको आफ्नै खालको दिनचर्या भएकाले हाम्रो अनुकूल उहाँलाई बोल्न लगाउन सधैं सम्भव भएन। उहाँको उत्साह खासै देखिएन। नेपालको इतिहासको प्राचीन काल, मध्यकाल र आधुनिक कालबारे सिलसिलेवर रूपमा बुबालाई भन्न लगाएर त्यसलाई उतार गरी एउटै ग्रन्थमा प्रकाशन गर्ने हाम्रो सोच थियो। त्यो पूरा गर्न नसकेकोमा थकथकी छ।
ज्ञानमणि नेपाल विद्वत्ताको धरहरा हुनुहुन्थ्यो। मेरो सौभाग्य हो, उहाँको जेठो छोरो भएर जन्मिन पाएँ।
४५ वर्षअघि एसएलसी उत्तीर्ण गरेर म पहिलो पटक बुबासँग काठमाडौं आएँ। बुबाले ‘त्रि-चन्द्र कलेजमा इतिहास पढ्ने हो त’ भनेर सोध्नुभयो। तर एसएलसीमा फर्स्ट डिभिजन ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्ने मान्यता भएको समाजमा इतिहास पढ्न मेरो पनि सहमति भएन। त्यस विरुद्ध बुबाले जोडबल गर्नुभएन।
मैले साइन्स स्ट्रिम पढें। बुबा र मबीच शिक्षाको धारा फरक भयो, तर सधैं उहाँको अघोषित सहयोगी भएर काम गरिरहें। आज परिवारको धरहरा ढलेको छ। अचानक आफूमाथिको छाता हुरीले उडाइदिएको अनुभव हुँदै छ। तर यसो सोच्दा मान्छे अमर त को नै छ र? विचार र कृति हो अमर हुने। उहाँका कृति, उहाँका खोज अमर छन्।
सयौं वर्षपछि पनि ‘नेपाल’ देशको नाम किन र कसरी रहन गयो भन्ने बुझ्न नेपाल निरुक्त पढ्नै पर्छ। पशुपतिनाथ मन्दिरमा दक्षिण भारतका पुजारी किन रहन्छन् भन्ने जान्न वा नेपालका इतिहासका नखुलेका पाटालाई नेपाली दृष्टिकोणबाट विश्लेषण गर्न पनि ज्ञानमणि नेपालका कृति पढ्नै पर्छ।
ती कृतिमा उहाँको विद्वत्ता देखिन्छ। त्यही विद्वत्ता र इतिहासबारे गहन विश्लेषणले उहाँलाई अमर बनाएको छ।
(नेपाल वन विज्ञानका विद्यार्थी हुन्।)