हिन्दू दर्शन कि हिन्दूत्व राजनीति?
निर्वाचनका वेला होस् वा सामान्य समय, हिन्दू धर्मलाई बोकर हिंड्नेको काँध बलियो र छाती फराकिलो चाहिन्छ। शशी थरूरको पुस्तक म किन हिन्दू हुँमा आधारित विवेचना।
“पहिला उनीहरूले भने- हाम्रो सरकार आएपछि यो देशको सम्पत्तिमा पहिलो अधिकार मुसलमानहरूको हुनेछ। अर्थात् यिनीहरू सम्पत्ति जम्मा गरेर जसको धेरै सन्तान छन् उनीहरूलाई नै बाँड्नेछन्। के तपाईंहरूलाई मन्जुर छ, आफ्नो मिहिनेतको सम्पत्ति घुसपैठियाहरूलाई बाँड्न?” भारतीय प्रधानमन्त्री मोदीले भारतमा हुँदै गरेको लोक सभाको चुनावका लागि, राजस्थानको चुनावी र्यालीमा अप्रिल २१ मा दिएको मन्तव्य हो यो। भारतका अल्पसंख्यक मुसलमानप्रति देशका प्रधानमन्त्री मोदीको रवैया प्रस्ट पार्न यही बोली काफी छ।
मोदीको भाषणका क्लिपहरू भाइरल भइरहेकै वेला संयोगवश शशी थरूरको पुस्तक म किन हिन्दू हुँ हातमा थियो। थरूरको हिन्दू सभ्यता र हिन्दूत्वको राजनीतिको सविस्तार व्याख्यामा हिन्दू धर्म र भारतीय जनता पार्टी (भाजपा)को राजनीतिको साइनो भेटिंदैन। तर मोदी सरकार हिन्दूत्वको राजनीतिक ‘फन्डागिरी’ मै आफ्नो सारा शक्ति खन्याइरहेको छ। सन् २०१४ देखि नै मोदी सरकारको एकल अजेन्डा हिन्दू राष्ट्रवाद रह्यो। भारतलाई ‘रामजादे’ र ‘हरामजादे’ को दुई भिन्न कित्तामा उभ्याउन हिन्दूत्व ब्रिगेड लागिपरिरहेकै छन्। हिन्दू सभ्यताको शक्तिशाली प्रतिरक्षा र हिन्दूत्व अतिवादको खरो आलोचनामा लेखक शशी थरूर उभिएका छन्। पुस्तकका पूरै पाना यही विषयमा चहकिलो प्रकाश पार्दै अघि बढ्छन्।
सन् २०२४ अप्रिल महीनाको मोदीको भाषणलाई सन् १९४७ डिसेम्बरमा राष्ट्रिय स्वयंसेवक संघ (रास्वस) का प्रमुख माधव सदाशिव गोल्वलकरको भाषणसँग दाँजेर हेर्न सकिन्छ। जुन यस्तो थियो, “हामी जे गर्छौं, उनीहरू (मुसलमान) ठीक त्यसको विपरीत गर्छन्। हामी गाई पुज्छौं, उनीहरू खान्छन्। हामी महिलालाई इज्जत गर्छौं, उनीहरू यौन दुर्व्यवहार गर्छन्। धर्तीको कुनै शक्तिले पनि मुसलमानलाई भारतमा राख्न सक्दैन।” गोल्वलकरको यो भाषण भारत-पाकिस्तान विभाजनको चार महीनापछिको हो। धर्मनिरपेक्षताको बाटोमा स्वाधीन भारतले सात दशक पार गर्यो। यति लामो यात्रापछि आजको भारत कुन दिशामा अघि बढ्दै छ, यी दुई भाषणको प्रतिविम्बमा हेर्न सकिन्छ। मोदीको राजनीतिक यात्राको शुरूआत राष्ट्रिय स्वयंसेवक संघको रथबाटै शुरू भएको हो।
सन् १९२५ मा स्थापना भएको राष्ट्रिय स्वयंसेवक संघका संस्थापक प्रमुख डाक्टर विनायक दामोदर सावरकर हुन्। हिन्दू राष्ट्रियताका प्रणेता पनि उनै हुन्। “हिन्दू मातापिताबाट जन्म लिएको, भारत मातृभूमि भएको शुद्ध हिन्दू नै भारतीय नागरिक हो। बाँकी कि पाहुना हुन् कि घुसपैठिया,” सन् १९३९ मा सावित्री देवी नामकी लेखकको पुस्तकको भूमिकामा सावरकरले लेखेका थिए। सावित्री देवी नाजी राष्ट्रियताप्रति समभाव र हिटलरप्रति सहानुभूति राख्ने लेखक थिइन्। सावरकरको एकल हिन्दू राष्ट्रियताको मान्यता आजको भाजपा दर्शनको मेरुदण्ड हो। तथ्यहरूको प्रकाशबाट नियाल्दा मोदी, सावरकर र गोल्वलकर हिन्दूत्व राष्ट्रवादको एकै रथमा सवार देखिन्छन्।
हिन्दूत्वको दार्शनिक अवधारणामा मोदी सरकार आफूलाई पण्डित दीनदयाल उपाध्यायको अनुयायी मान्छ। जो सन् १९६७ मा भारतीय जनसंघका प्रमुख थिए। भारतीय जनसंघ सन् १९८० मा भाजपाका रूपमा परिणत भएको हो। हिन्दूत्व र हिन्दू राष्ट्रको अवधारणा भारतीय जनसंघकै हो। सन् १९८० मा गान्धीको समावेशी धारणाको खिलाफ उभिनु आफ्नो मुख्य अजेन्डा मान्दै उदाएको भाजपाले आमचुनावमा जनताको मत जित्न सकेन। केवल दुई सीटमा अड्कियो। सन् १९८४ पछि कट्टर हिन्दूवादी अवधारणा सहित यसले रफ्तार लियो।
सावरकर र गोल्वलकरभन्दा निकै नरम अवधारणा पण्डित दीनदयालको छ, “हिन्दू धर्मको उदारता र खुलापनमै आधारित हिन्दू राष्ट्र बन्नुपर्दछ। यो अवधारणामा देशका अन्य अल्पसंख्यकहरू सम्मानजनक स्थान रहनुपर्दछ। आस्थाको नाममा रक्तपात र क्रूरता हिन्दू धर्मको चरित्र होइन। आस्था व्यक्तिगत कुरा हो। हिन्दू राष्ट्र र हिन्दूत्वसँग यसको कुनै लेनादेना छैन।” राज्यको अवधारणा धर्ममा आधारित हुनुपर्छ, धर्म हराएको राज्य चित्त हराएको मान्छे जस्तै हो भन्ने दयालको दर्शन हो। उनको दर्शनमा अल्पसंख्यक ‘घुसपैठिया’ वा ‘शत्रु’ रहेका छैनन्।
पण्डित दीनदयाल उपाध्यायको नामको आवरणमा मोदी सरकार आफ्नो आदर्श खोज्दछ। मोदी सरकारको ‘मेक इन इन्डिया’ अवधारणा दयालकै हो। दीनदयालको नाममा मोदी सरकारमा अनेक संघसंस्था उभिएका छन्। ‘पण्डित दीनदयाल उपाध्याय शेखावती विश्वविद्यालय’ देखि ‘दीनदयाल अस्पताल’ दिल्लीसम्मका अनगिन्ती संस्थाहरू उनमै समर्पित छन्। दीनदयाल आदर्शको विपरीत मोदी सरकारको निधारमा २००२ को गुजरात आमहत्या, २०१७ मा गौरी लंकेशको हत्या लगायत हजारौं अल्पसंख्यकमाथि आतंक, ज्यादती र हत्याको कलंक टल्केको छ।
मुसलमान लक्ष्यित मन्तव्य दिंदा मोदीको शिरमा टल्कने गरको पहेंलो पगरीभन्दा गाढा रङ उनको सरकारले १० वर्षयता मच्चाएको त्रासदीको छ। भाजपाको राजनीतिको धागो राष्ट्रिय स्वयंसेवक संघसँग जोडिएको छ। गान्धी हत्याबाट यसले हिन्दूत्वको नाममा यो अतिवादको यात्रा शुरू भएको हो। सन् १९९२ मा भाजपा नेता लालकृष्ण आडवाणीको नेतृत्वमा ४७० वर्ष पुरानो अयोध्याको बाबरी मस्जिद ध्वस्त गरियो। यो घटनासँगै भाजपाको हिन्दूत्व राजनीति अझै बढी सतहमा आयो र वेग पनि लियो।
हिन्दू सभ्यता : प्रश्न हो, उत्तर होइन
हिन्दू धर्मका आधार चार वेद हुन्। ऋग्वेद भन्छ- ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पूरै संसार आफ्नो परिवार हो। यो आदर्श बोकेको हिन्दू धर्मको खिल्ली उडाउँदै नरेन्द्र मोदी आफ्नै नागरिकलाई भन्छन् ‘घुसपैठिया’, उनको एक वाक्यमा भाजपा सरकारको पूरै चरित्र छर्लङ्ङ हुन्छ। यो राजनीतिक चरित्र कहींकतैबाट हिन्दू सभ्यताको नजिक देखिंदैन।
शशी थरूरको पुस्तक म किन हिन्दू हुँमा बताइए झैं सिन्धु घाटी सभ्यता र हिन्दू सभ्यताको शुरूआत एकै समय भएको मानिन्छ। इसापूर्व ३००० देखि १७०० बीचमा हिन्दू सभ्यता र सिन्धु घाटी सभ्यता सँगसँगै विकसित भएको आकलन छ। वेदव्यासले चार वेद लेखेसँगै जसलाई आज हामी हिन्दू धर्म भन्दछौं, त्यसको दार्शनिक आधार तय भयो। प्रश्न, शंका, कारण र प्रमाण यस धर्मको दार्शनिक मान्यता बन्यो। ३५०० वर्ष पुरानो ऋग्वेदले सृष्टिकर्तालाई पनि प्रश्न गरेको छ। ऋग्वेद भन्छ, ‘भगवान्लाई पनि के थाहा, यो सृष्टिको आदि र अन्त्य के हो? ऊ स्वर्गबाट सृष्टिको निरीक्षण गर्दछ।’
प्रश्न मात्र होइन, हिन्दू धर्म स्व-खोजको यात्रा हो। उपनिषद्को अन्तिम वाक्य छ ‘नेति नेति’, अर्थात् ‘यो होइन, त्यो होइन’। वेद र उपनिषद्को सारबाटै निष्कर्षमा पुग्न सकिन्छ कि, हिन्दू सभ्यता प्रश्न हो, उत्तर होइन। अन्वेषणको यात्रा हो, विश्लेषणको जडता होइन। दर्शनको मूल चरित्र भन्दछ, ‘जो भन्दछन् सबै कुरा थाहा छ, उनीहरूलाई केही थाहा छैन।’ नजान्नु र जान्न प्रयत्नरत रहनु हिन्दू दर्शन हो।
हिन्दूपनको फराकिलो अवधारणामा ईश्वरको अस्तित्व नमान्न पनि पाइन्छ। मान्न पनि पाइन्छ। आस्थाको बाटो र तरीका एकै हुन सक्दछ र फरक पनि। यसैले गान्धी भन्ने गर्दथे, “ईश्वर अल्लाह तेरा नाम ...।” आस्तिक-नास्तिक कुनै पनि चरित्रको मानिसलाई हिन्दू हुन पुरापूर छूट छ, र यो कर्मकाण्डको पुञ्ज होइन। गीतामा भगवान् वाणीको सार छ, ‘सबै मानव आफ्नो आफ्नो बाटोबाट मसम्म आउन संघर्ष गरिरहेछन्। तिमी जुन बाटोबाट आए पनि म उपलब्ध हुनेछु।’ सनातन धर्मको मूल प्रवाहमा हिन्दू धर्म समाहित छ। सनातनको अर्थ नै सबैलाई समान दृष्टिले हेर्नु हो।
सन् १९८३ मा अमेरिकाको सिकागोमा संसद्लाई सम्बोधन गर्दै स्वामी विवेकानन्दले भने, “हिन्दूवाद विशाल अवधारणा सहित विविधता स्वीकार गर्दछ। अन्य आस्थाप्रति सहिष्णु मात्र होइन, स्वीकारभाव राख्दछ। यही विराट्ताकै कारण यसको प्रभाव संसारमा फैलिइरहेको छ। अरू आस्थावलम्बीहरूलाई त्रास पैदा नगरी आफ्नो प्रभाव सिद्ध गर्नु यसको चरित्र हो।”
हिन्दू सभ्यताले ‘म आदि र अन्त’ भन्दैन। कुनै निश्चित जड मान्यता वा एक धर्म पुस्तक छैन। यसैले ‘फन्डामेन्टलिस्ट’ या ‘अतिवाद’ शब्द हिन्दू दर्शनलाई लागू हुनै सक्दन, यो आयातीत अवधारणा हो। ‘फन्डामेन्टलिज्म’ र हिन्दू दर्शनको साइनो कतै पाइँदैन। हिन्दू धर्म र सिद्धान्त पुस्तकालय जस्तै छ र यसका अनेकौं ग्रन्थ र पुस्तक कुनै कहिल्यै असान्दर्भिक भएर जाँदैनन्। प्रश्न र विवेचनाका लागि खुला रहन्छन्। आवश्यक परे पुनः लेखिन्छन्, असान्दर्भिक र दोषपूर्ण भए विश्लेषणको कठघरामा उभ्याइन्छन्।
इतिहासकार अल्फ्रेड लेल भन्छन्, “हिन्दू दर्शन सम्पूर्ण रूपमा विपरीत दर्शन र विरोधाभाषले भरिपूर्ण छ।” यसको यही चरित्रकै कारण हिन्दूत्वको नाममा आस्थाको एक रूप अलाप्नेहरू आफै असान्दर्भिक लाग्दछन्। गान्धी भन्ने गर्दथे, “सबै किसिमका आस्था र विश्वासलाई समावेश गर्ने ठाउँ भएकाले हिन्दू धर्म मेरा लागि प्रिय छ।” गान्धीसँगै मिल्दो मत छ जवाहरलाल नेहरूको पनि, जसको नजरमा ‘हिन्दू धर्ममा सबै कुरा सबैका लागि हो।’
पराजय र पुनर्जागरण
भगवान् नै तेत्तीस कोटि छन्। उनीहरूका अनेक कथा र कल्पना छन्। यो एक विराट् जंगल जस्तै हो, जसको रूप र चरित्र कुनै राजनीतिक दलको अभीष्टले बोक्न सक्दैन। हिन्दू धर्मलाई बोकर हिंड्ने काँध बलियो र छाती फराकिलो चाहिन्छ। काँध कच्चा पर्यो भने यो पराजय र क्षयीकरणको बाटोमा जान सक्ने खतरा रहन्छ। इतिहासमा यसले यस्तो दुर्भाग्य अनेक पटक भोगेको छ। पराजयलाई पराजित गर्दै फेरि उठेको छ।
हिन्दू दर्शनको उदयदेखि नै यसको यात्रा सरल देखिंदैन। अनेकौं उतारचढाव समय समयमा आइरहे। चुनौती आइरहने, त्यसलाई पार लगाउँदै यात्रा गरिरहने हिन्दू दर्शनको नियति बनिरह्यो। सत्यको खोजी, न्याय र नीतिको आडमा यसले बाधाहरूको सामना गरिरह्यो।
तार्किक शास्त्र, वेद र उपनिषद्का मूल्य र मान्यतामा उदाएको हिन्दू दर्शन कर्मकाण्डी पण्डितहरूको जालझेलमा पनि अल्झियो। छुवाछूत र जातीय प्रथाको कुकर्महरूको जालोले घेरियो। कट्टरता र कर्मकाण्डको जालोले हिन्दू धर्मको बाटो नै अलमलिन थाल्यो। यही समय थियो, जहाँ सरल धार्मिक-दार्शनिक मान्यता राख्ने शाक्यमुनि सिद्धार्थ गौतम उदाए।
कर्मकाण्डीय जटिलताका कारण हिन्दू धर्मले ओज गुमाउँदै थियो, बुद्ध दर्शनले मानिसलाई चुम्बकले झैं तान्न थाल्यो। त्यसै ताका अध्यात्मको नयाँ विश्लेषण लिएर महावीर उदाए। इसापूर्व ५९९-५२७ को बीचमा यसले पनि तत्कालीन समाजमा आफ्नो प्रभाव दिन सक्यो। बौद्ध दर्शन र जैन दर्शनको आगमनसँगै हिन्दू धर्मको एकल राजमा धक्का लाग्यो। बागीहरू मैदानमा आए। एकपछि अर्को ताजा दर्शनको उदयपछि हिन्दू दर्शनमा चुनौती थपियो र अब यो परिमार्जन र जागरणको खोजीमा फेरि लागिपर्यो।
आठौं शताब्दीमा दक्षिण भारतमा आदि शंकरको उदय भयो। हिन्दू धर्मभित्रै पनि कलह र विखण्डनको समय थियो। अद्वैत वेदान्तको दर्शन उनको धार्मिक आदर्श रह्यो। यही दर्शनको आडमा धर्म सुधार र एकताका सूत्राधार बने। अद्वैतको अर्थ नै ‘सबै एक’ भन्ने भएकाले पनि यो अभियानले सार्थकता पायो।
हिन्दू धर्मको मौलिक चरित्र नै कारण र प्रमाणको आधारमा सत्यको खोजी गर्नु हो। अद्वैत वेदान्तको मेरुदण्ड पनि यही चरित्रलाई अँगाल्यो, तर्कशास्त्र र बहस-विवेचनाको मार्ग मार्फत। आदि शंकर जटिल कर्मकाण्ड, जातीय प्रथा र महिला असमानताको विरोधी रहे। वैचारिक मतभेद, बहस र छलफल उनको मुख्य आधार बन्यो। बौद्ध मार्ग र जैन धर्मका गुणहरू हिन्दू अद्वैत वेदान्तका दर्शनमा समावेश गरे, हिन्दू दर्शन फराकिलो पारे।
प्रश्नोत्तर र बहस शैलीमा हिन्दू दर्शन पुनः जाग्यो, अझै फराकिलो र उदारभावका साथ। आदि शंकरले सिंगो भारत भम्रण गरी हिन्दू दर्शनको पुनर्जागरणको अगुवाइ गरे। उनको वाणी थियो, “मेरो चरित्र नै स्वतन्त्र हो।” विवाद र कर्मकाण्डीय संकुचनमा अल्झेको हिन्दू दर्शनलाई उनले नै फुकुवा गरे। ‘पूर्ण रूपमा आत्मबोध र चेतनाले भरिएको आत्मा नै सचितानन्द हो’ भन्ने दर्शनमा हिन्दू धर्म परिमार्जन अभियानमा होमियो।
जागरणको यात्रा सहज भने थिएन। सन् १००० तिर उपमहाद्वीपमा प्रभुत्वमा रहिआएको हिन्दू दर्शनमा अनेक संकट आइलागे।
सन् ७१२ मा नै भारतले मुस्लिम योद्धा मोहम्मद बिन कासिमको हमला सामना गरिसकेको थियो। हमलाको यो क्रम सन् १००० मा झनै बढेर गयो। अर्का इस्लाम योद्धा गजनीका महमुदले सन् १००० र १०२७ को बीचमा भारतमाथि सत्र पटक जाइलागे। यस शृंखलालाई निरन्तरता दिए मोहम्मद घोरीले जसले सन् ११८० र १२२० को बीचमा आजको अफगानिस्तानबाट झरेर अनगिन्ती पटक भारत हमला गरे। रक्तपात मच्चाए। हत्या र आतंकको सिलसिला चलिरह्यो। हिन्दू दर्शनका सबै मान्यता अस्वीकार गर्ने यी योद्धाले मन्दिर भत्काए। ऐतिहासिक धरोहर ध्वस्त पारे, सम्पत्ति लुटे। गुजरातको सोमनाथ मन्दिरदेखि, मथुराका मठमन्दिरहरू सबै आक्रमणमा परे। कतिपय आक्रमणकारीले भारतवासीलाई हिन्दू धर्म परित्याग गर्न उर्दी जारी गरे। अन्यत्रका आक्रमणकारीहरू लुटपाट गरेर फर्कन्थे भने पछि गएर मुसलमान शासक भारतमै बस्न थाले, रैथाने बने।
एकातर्फ यिनीहरू भारतभरि नै सुल्तान र नवाब भई राजकाज गर्न थाले, बंगालदेखि दिल्ली र दक्कनसम्म भने अर्कातर्फ फरक यी धर्मावलम्बीका कारण सनातनीमाझ चुनौती थपियो, किनकि अब त शासक नै मुसलमान भए। पछिल्लो समय, पन्ध्रौं शताब्दीमा आजको उज्वेकिस्तानबाट हमला गर्न सिन्धु गंगा मैदान झरेका बाबरले त मुगल साम्राज्य नै स्थापना गरे। ऐतिहासिक भारतको धेरै भाग मुगल शासन अन्तर्गत आयो भने यदाकदा हिन्दू मठमन्दिर र आस्थामाथि पनि प्रहार भयो, जबकि बेलायती साम्राज्य नउदाउन्जेल यो सर्वत्र र सधैं रह्यो भन्न सकिंदैन।
विभिन्न भेगबाट आउने मुस्लिम आक्रमणकारीको निरन्तर क्रियाकलाप हिन्दू धर्मका लागि निकै कष्टकर रह्यो। कि सकिने कि अझै परिमार्जित भएर जाग्ने, ऊसँग यही मात्र विकल्प रह्यो। उतारचढावको यात्रामा पारंगत हिन्दू धर्मले परिमार्जनकै बाटो रोज्यो।
हिन्दू दर्शनको सरलीकरण, व्यक्तिगत आस्थाको सम्मान, स्थानीय परम्परा र आस्थाको समायोजन शुरू भयो, बौद्ध दर्शन र जैन धर्मको समायोजनका साथ। इस्लामिक विस्तारसामु इन्डोनेशिया र मलेशिया जस्ता देशले मुस्लिम धर्म अपनाए भने भारतले आफ्नो विविधता जोगाएर राख्यो। हिन्दू धर्म सकिएन, झनै चम्किलो भएर जाग्यो। हिन्दू धर्मको सवालमा कार्ल मार्क्सको भनाइ छ, “हिन्दूइज्म एक गैरआक्रामक आस्था हो। यो असाधारण हिसाबले बलियो छ। यसले आफूमाथिको अनेकौं प्रहार सह्यो। हरेक पटकको सामनापछि यो झनै जागेर आयो। हिन्दू धर्ममा रक्तपात अपवाद रह्यो। आक्रामक नभएर पनि यो कहिल्यै झुकेन।”
भक्तिमार्ग र विवेकानन्द
मुस्लिम आक्रमणको बदलाको पछि नलागी हिन्दू धर्मले भक्तिमार्ग अवलम्बन गर्यो। दक्षिण भारतका रामानुजले आदि शंकरको प्रगतिशील मार्गमा थप योगदान गरे। सन् १००० को मध्यतिर उनको अभियान तीव्रताका साथ अघि बढ्यो। महिला र दलितलाई मठमन्दिरमा प्रवेश गराउने काम गरे, सामूहिक भोज, भेला र बहसको आयोजना गर्ने काम गरिरहे। सनातनी धर्मको समान चरित्रको बोध गराउन अथक प्रयास गरे।
रामानुजको भक्तिमार्गमा मुस्लिम आस्थाका कवि कविर पनि समावेश भए। भक्तिमार्गले बिस्तारै गति लिंदै गयो। सन् १४४० देखि १५१० को अवधि भक्ति र सुफीमार्ग जागेको समय रह्यो। मीराको कृष्णभक्ति भजनले हिन्दू धर्मको लय र सौन्दर्य अर्कै स्तरमा पुर्यायो। कवि जयदेवको गीतगोविन्द, तुलसीदासको रामचरितमानस र हनुमान चालिसा आदिले भक्तिमार्ग प्रशस्त गरे। शान्ति, प्रेम र भक्तिको माध्यमले सत्यको खोजमा रहन प्रेरित गर्यो। पन्ध्रौं शताब्दीदेखि अठारौं शताब्दीको मध्यसम्म मुगल राजकाजको समय रह्यो। यो वेला हिन्दू धर्म भक्तिमार्गको बाटोबाट प्रभावशाली भइरह्यो। बदलाको तेज रफ्तारमा होइन, प्रेमको मन्द गतिमा हिन्दू दर्शन अघि बढिरह्यो।
मठमन्दिरमा हमला, ऐतिहासिक सम्पत्ति र दस्तावेजको बर्बादी, हिन्दू नारीहरूको बलात्कार र हिन्दूजनको हत्या जस्ता इस्लामिक कुकृत्यको प्रतिकारस्वरूप हिन्दू धर्म प्रतिरक्षात्मक बन्दै गएको अतिवादी हिन्दूहरूको प्रस्टीकरण छ। इतिहासका यस्ता घटनालाई हिन्दू अतिवादीहरू आजका अल्पसंख्यकमाथि हमला गर्ने अस्त्रका रूपमा प्रयोग गरिरहेछन्। आक्रमणमा परेको हिन्दू सभ्यता जोगाउन अनेकौं मुस्लिम कवि र विद्वान्हरूको योगदान अतुल्य छ, तर यसको चर्चा विरलै गरिन्छ आजको भारतको आमभाष्यमा। समयक्रममा भारतमै फक्रिएको मुस्लिम सभ्यताको हक हिन्दू सभ्यताको जति नै छ, भारतीय अस्मितामाथि।
शताब्दीऔं अघि भएको अतिवादलाई लिएर आजका मुस्लिम अल्पसंख्यकलाई जसरी हिन्दू अतिवादले अलग गर्न खोजेको छ, यो सनातनी दर्शन विपरीत छ। सन् १९४७ मा भएको भारतको बटवाराद्वारा पाकिस्तान बन्न गएकाले पनि हिन्दू कट्टरपन्थीलाई ‘पाकिस्तान चले जाओ’ भन्न सजिलो भएको छ, जबकि एकातर्फ पाकिस्तान ‘इस्लामी राज्य’ भएर उदायो भने भारत (इन्डिया) सबैका लागि भनी संविधानले भन्यो। आफ्नो हिन्दू राष्ट्रवादी राजनीतिलाई अगाडि बढाउन हिन्दूत्ववादी भाजपा/रास्वस भने भारतलाई पनि पाकिस्तान जस्तै जडसूत्रवादी मुुलुक बनाउन चाहन्छन्।
पटक पटकको आक्रमण र क्षयीकरणलाई निस्तेज गर्न अनेकौं हिन्दू दार्शनिक अहिंसा र प्रेमकै बाटो हिंडे, फर्केर हेर्दा। आदि शंकरदेखि विवेकानन्द हुँदै मोहनदास करमचन्द गान्धीले यही बाटो अपनाए। हिन्दू धर्म गतिशीलताको यात्रा हो, जडता होइन। हिन्दू सभ्यताको धारालाई पुस्तान्तरण गर्न अनेकौं ऋषि-महर्षिले समय समयमा महत्त्वपूर्ण योगदान गरिरहे।
आदि शंकरकै धार्मिक राजमार्ग अझै फराकिलो पार्ने काम विवेकानन्दले गरे। भौतिक, आर्थिक, सामाजिक र भावनात्मक आत्मनिर्भरताको बाटो विवेकानन्दले वकालत गरे। भोको पेटले रामभजन हुन नसक्ने उनको तर्क थियो। मानिसको अन्तर्निहित शक्तिको जागरण धर्मका लागि अनिवार्य मान्दथे उनी। उनको जोड थियो, “विना तर्क र प्रमाण आस्थाको शरणले मात्र धर्म प्राप्त हुँदैन। मानिसमा ज्ञानको विकास आधारभूत कुरा हो।” अमेरिकाको संसद्मा १२५ वर्षअघि विवेकानन्दले हिन्दू दर्शनबारे ओजस्वी प्रवचन दिए। त्यो सभाको विचारको प्रभाव हिन्दू दर्शनमा आजसम्म पनि शक्तिशाली छ।
अमेरिकी संसद्मा उभिएर उनले इसाई मार्गको रूढतामाथि पनि प्रश्न गरे। हिन्दू दर्शनबारे प्रस्ट पार्दै उनले थपे, “जातीयता र छुवाछूत समाजनिर्मित कलंक हो, यसको धर्मसँग कुनै साइनो छैन।” एक आधुनिक चेतले भरिएको ऋषिको ओजस्वी भाषणले हिन्दू दर्शन धपक्कै बल्यो। यसप्रति पाश्चात्य मान्यताको तुवाँलो सफा पारिदियो। भारतका ऋषिमुनिबारेको भ्रम चिरिदियो। हिन्दू दर्शनको आधुनिकीकरणमा विवेकानन्दको योगदान अतुलनीय रह्यो।
एकातर्फ हिन्दू र मुसलमानलाई सामाजिक द्वन्द्वमा धकेलेर आफ्नो राज सुदृढ गर्ने काम बेलायती साम्राज्यवादीले गरे भने उक्त साम्राज्यवादको चपेटामा परेपछि हिन्दू दर्शन पुन: संकटमा परेको देखिन्छ। पाश्चात्य विद्वान्हरूको अल्पव्याख्या र अपव्याख्याले यसलाई कर्मकाण्डी र अन्धविश्वासीहरूको धर्मका रूपमा पुनः चित्रित गर्न थालियो। यो अपव्याख्यालाई व्यावहारिक र राजनीतिक हिसाबमा प्रस्ट पार्ने काम मोहनदास करमचन्द गान्धीले गरे। गान्धीको सर्वधर्म र सर्वप्रेमको बाटोलाई बल दिने काम उनका राजनीतिक सहयात्री नेहरूले गरे।
स्वतन्त्र भारतले धर्मनिरपेक्षता र सबै धर्मको सम्मानको चरित्र संविधानमै सुरक्षित गर्यो र यस अर्थमा सनातन हिन्दू धर्मको वास्तविक मर्मलाई नै अँगाल्यो। कुनै निश्चित दल र उसका महत्त्वाकांक्षासँग धर्मको कहिल्यै सम्बन्ध थिएन। महात्मा गान्धीको प्रेम, अहिंसा र विश्वबन्धुत्वको अवधारणामाथि निशाना ताकेर उदाएको शक्ति भाजपा/रास्वस हिन्दू धर्मको रक्षक बन्न तम्सिएको छ। यो आफैमा तमासा हो, किनकि कर्मको पराक्रम, ज्ञानको महिमा र प्रेमको शक्ति नै हिन्दू धर्मको बल हो। आत्मविश्वास र स्वाभिमान यसका चरित्र हुन्। धर्मलाई राजनीतीकरण गर्दै हिंड्ने हिन्दूत्व अतिवादीहरू नै सनातनी सभ्यताका घुसपैठिया हुन्।
हिन्दू राष्ट्रवाद
हिन्दू राष्ट्रवादको ज्वरोले यतिखेर भारत हनहनी छ, हिन्दूत्वको आडमा १० वर्ष र दुई कार्यकाल राज गरेको भाजपा/रास्वसलाई अर्को कार्यकाल जसरी पनि जित्नु छ। २१ अप्रिल २०२४ को मोदीको राजस्थानको भाषणपछि हिन्दू राष्ट्रवाद र गैरहिन्दूप्रतिको घृणाले अझै सरकारका तर्फबाट वैधता पाएको छ। गैरहिन्दूहरूमाथिको अपमान, घृणा र हिंसाको भाजपा सरकारले सामान्यीकरण गरेको छ। सरकार प्रमुख नै हिन्दूत्वका ब्रिगेड भएर लागेका छन्। यसअघि ‘घुसपैठिया’ वा ‘धेरै बच्चा जन्माउने’ सांकेतिक भाषा प्रयोग गर्ने मोदीले निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन सीधै ‘मुसलमान’ भनी आक्रमण गर्दै आएका छन्।
हिन्दूत्वको प्रोजेक्ट अनुसारको राष्ट्रवादमा जो पर्दैन उसलाई आँखाको कसिंगर मानिएको छ। विष्णुका अवतार भगवान् श्रीराम नै चकित पर्ने गरी उनीहरूले राष्ट्रियताको मानक तय गरेका छन्। हिन्दूत्ववादीको नजरमा भारतमा दुईथरी नागरिक छन्, ‘रामजादे’ र ‘हरामजादे’। हिन्दू राष्ट्रवादको परिभाषाभित्र नपर्नेहरूको ज्यान मात्र होइन, इतिहास र संस्कृति पनि आक्रमणमा परिरहेको छ।
इतिहास, शिक्षा जस्ता प्राज्ञिक क्षेत्र हिन्दूत्ववादीहरूका लागि थप रणमैदान बनेका छन्। ब्रिटिश शासक विरुद्ध बलिदानी दिएका बहादुर शाह, जीनत महल, मौलवी अमानतुल्लाह, भक्त खान जस्ता हिरोहरूको योगदान बेवास्ता मात्र होइन, रेकर्ड पनि हटाउन लागिपरेको छ मोदी सरकार। पाठ्यक्रमहरू आक्रमणमा पर्ने क्रम जारी छ। कक्षा १२ को इतिहासको किताबबाट मुगल शासकहरू रजिया सुल्तान, शेर शाह सुरी जस्ताको इतिहास हटाइएको छ। भारत ऐतिहासिक अनुसन्धान केन्द्रमा हिन्दूत्ववादीको ‘मोनोपोली’ छ आज। ऐतिहासिक तथ्य फेरिएको छ, हिन्दू राष्ट्रवाद, भाजपा र रास्वसका खातिर।
भाजपाका मानिसले पुणेको ओरियन्टल रिसर्च इन्स्टिच्यूट लाइब्रेरीमा पनि आक्रमण गरे। इतिहासविद् जेम्स लेनसँग सहकार्य गरेको विरोधमा यो आक्रमण केन्द्रित थियो। अर्का प्राज्ञ वेन्डी डोनिजर जो हिन्दूत्ववादका अध्येता र लेखक हुन्, उनका पुस्तकहरू जलाइए। प्रकाशकको हुर्मत लिइयो। सरस्वती वन्दना गर्ने धर्मका स्वघोषित रक्षकहरू पुस्तक जलाएर हिन्दूत्वको रक्षा गरेको तर्क गर्छन्।
महाराष्ट्र र राजस्थानका स्कूलका पाठ्यक्रममा इतिहास प्रस्तुति जारी छ। एकल धर्म, संस्कृति र इतिहास हिन्दूत्वको नारा बनेको छ। शिक्षा र इतिहाससँगै कला र संस्कृति पनि होमिएको छ।
कलाकारितामाथिको सबैभन्दा लज्जाजनक प्रहार कलाकार एमएफ हुसेनमाथि भयो। हिन्दू देवीहरूको अपमान गरेको आरोपमा हुसेनका चित्रहरू प्रदर्शनीमा रोक लगाइयो। हुसेन हिन्दू दर्शन र मिथोलोजीका जीवनभर उपासक रहे, भारतीय कलालाई विश्वसामु चिनाए। ९० वर्ष पुगेका कलाकार अपमानको विष पिएर बाँचे। भारतमा आफूमाथिको विषाक्त प्रहार खप्न नसकेर उनी प्रवासमा कतार गए, अनि बिरानो देशमा उनको मृत्यु भयो।
कलकत्तामा सिनेकर्मी दीपा मेहताको फिल्म शूटिङ नै रोकियो। एकल महिलाको विषयमा बन्दै गरेको सिनेमाले भारतीय संस्कृतिको अपमान गर्यो भन्दै शूटिङ रोकिएको थियो। शशी थरूरले यी सब घटना वर्णन गरिरहँदा सम्झनुपर्ने कुरा के हो भने, २०१८ मा प्रकाशित म किन हिन्दू हुँदेखि आज ६ वर्ष कटेको छ भने यसबीच असहिष्णुता झनै सल्किएको छ र वर्तमान निर्वाचन अभियानको दौरानमा चुलिएको छ।
हिन्दू अतिवादीहरू लेखक, कलाकार, प्राज्ञहरूको हातमा हिन्दू धर्म असुरक्षित छ भन्छन्। धार्मिकताको भेषमा उदाएका अनेकौं चटकी बाबाहरूको चटक र अपराधमा धर्मको सुरक्षित अवतरण देख्छन्। साइबाबाको जादूको चमत्कारदेखि जग्गी वासुदेवको ताण्डव नाचमा धर्मभीरुहरू लट्ठै परेका देखिन्छन्। नागारूप धारण गरी आफ्नो पुरुषार्थ दर्शन गराउनेहरू अतिवादीहरूको दुनियाँमा पूजनीय हुन्। फिल्म मेसेन्जर अफ गडका नायक रकस्टार बाबा गुरमित राम रहिम सिंह इन्सान बलात्कार र हत्याको अभियोगले सुशोभित छन्। सन् २०१७ मा उनी झ्यालखानाको हावा खान गए। झ्यालखानामा पनि हेलिकोप्टरमा पदार्पण भए ।
इतिहास र संस्कृतिमाथिको रोक र उपहासका नाइके हुन्, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ। उनको नेतृत्वमा ‘एन्टिरोमियो अपरेशन’ नै गरियो। प्रेमदिवसको दिन पार्कमा टहल्ने केटाकेटीलाई समातेर मन्दिर पुर्याइयो। जबर्जस्ती बिहेको करकापमा तन्नेरीहरू होमिए। उनकै अगुवाइमा उत्तर प्रदेश पर्यटक विभागले ताज महललाई महत्त्वपूर्ण पर्यटकीय स्थलको सूचीबाट हटायो। ताज महलले अपमान र बेवास्ता मात्र भोगेको छैन, हिन्दूवादीहरूको क्रूर टिप्पणी पनि सहेको छ। २०१७ मा एक भाजपा नेताले भने, “ताजमहल देशद्रोहीद्वारा बनाइएको एक धब्बा हो, भारतीय संस्कृतिका लागि।”
लेखक नयनतारा सहगल भन्छिन्, “भारतीय समाजको सांस्कृतिक विविधता र पुरातत्त्वको क्षयीकरण हुँदै छ।” एकालापको अलापमा मोदी सरकार मग्न छ। भारतीय समाजको विविधतामाथि यसले गरेको प्रहारको मार पूरै भारत र छिमेकी देशले सहनुपर्ने निश्चित छ। शशी थरूरको भाषामा “हिन्दू राष्ट्रियताका आधारमा जुन विभाजन हुनेछ, त्यो भारत-पाकिस्तान विभाजनभन्दा खतरनाक हुनेछ। माटोको विभाजनभन्दा कैयौं गुणा दुःखदायी हो, आत्माको विभाजन।” उनको थप तर्क छ, धार्मिक र सांस्कृतिक राष्ट्रियताको नाममा नागरिकहरूमाथि अपमान र विभाजन कल्पना गर्नै नसकिने कुरा हो।
मोदी सरकार स्वतन्त्रताका सेनानी पनि आफ्नै रोजाइको छान्ने चलाखी गर्दछ। वास्तविकता के हो भने, ‘भारत छोडो’ आन्दोलनका अधिकांश भारतीय राष्ट्रिय विभूति कांग्रेस समर्थक थिए। आफ्नो रोजाइको हिरो छान्ने प्रक्रियामा मोदी सरकारले बल्लभ भाइ पटेललाई आफ्नो विशेषताको नजीक ठान्यो। गुजराती मूलका, राष्ट्रिय स्तरमा स्वतन्त्र सेनानी हुनाले पटेलको रोजाइ मोदी सरकारका लागि सहज बाटो भयो। पटेलको व्यक्तित्व र चरित्रमा मोदी आफ्नो प्रतिच्छाया भेटेको अभिनय गर्दछन्। तर पटेल-मोदीको तुलना कतैबाट पनि पत्यारलाग्दो छैन।
भारत-पाकिस्तान विभाजन, संविधान निर्माण आदि प्रक्रियामा पटेल र नेहरूको मतभेद जरूर थियो। तर पटेल मोदी जस्तो अल्पसंख्यकप्रति रूखो र निर्मम थिएनन्। गान्धी हत्यापछि रास्वसलाई प्रतिबन्ध लगाउने काम बल्लभ भाइ पटेलले नै गरेका थिए, तर यो तथ्यलाई आममानसपटलबाट हटाई मोदीले पटेलमा आफ्नो छाया खोज्दै छन्।
भारत-पाकिस्तान विभाजनका क्रममा सन् १९४७ मा देशका विभिन्न भागमा फैलिएको हिंसा र आतंकमा पटेलको भूमिका सन् २००२ मा गुजरातमा मोदीको भूमिकाको ठीक विपरीत थियो। त्यति वेला सबैभन्दा हिंसाग्रस्त र संवेदनशील ठाउँ ठाउँमा पटेल आफै पुगेका थिए, उनी अमृतसरको बोर्डरसम्मै पुगेका थिए। अहिंसा र संयमका लागि नागरिक अपील गरेका थिए। अल्पसंख्यक मुसलमानको मनमा ढाडस जगाउन उनले भारतको प्रसिद्ध निजामुद्दीन दरगाहमा प्रार्थना पनि गरेका थिए।
सन् २००२ को गुजरात आमहत्यामा अधिकांश मुसलमान मारिए, दुई हजारभन्दा बढी। यसको जवाफदेहीबारेको प्रश्नमा मोदीको उत्तर थियो, “मोटरमा सवार हुँदा पांग्रामुनि आएर कुकुरको बच्चा मारियो भने धेरथोर दोष पछाडि बस्ने यात्रुको पनि हुन्छ।” यो हदको असंवेदनशील रवैया २०२४ सम्मै कायम छ। गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्री हुँदासम्म रामको नाम अलापेर अल्पसंख्यकप्रतिको निर्ममता कायम छ।
लेखक तथा इतिहासविद् अमर्त्य सेन भन्छन्, “हिन्दूइज्म अयोध्या वा गुजरातको पेवा होइन। यो सबै भारतीयको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, दार्शनिक र आध्यात्मिक लिगेसी हो। हिन्दूइज्मले उदार भारतीय सभ्यताको गरिमा बोकेको छ।” आस्थाको नाममा राजनीतिक संकुचन पेश गरेर भाजपा सरकारले सभ्यताको क्षयीकरण गर्दै छ।
हिन्दू धर्म भनेको सनातनी सभ्यता र जीवनशैली हो। राजनीतिक अभीष्ट हासिल गर्ने अस्त्र त हुँदै होइन। प्रेम, शान्ति, उदारताको आत्मविश्वासले भरिएको हिन्दू दर्शन कसैसँग खतरा महसूस गर्दैन। यसलाई जोगाउन असुरक्षित मनोभावका गुन्डाहरूको लस्कर चाहिन्न। अनगिन्ती प्रहार सहेर सधैं जागेर उठेको हिन्दू दर्शनको सभ्यता गतिशील छ। यो आफ्नै सच्चरित्रकै कारण जोगिनेछ, यसका लागि धर्म र राजनीतिको पारपाचुके अनिवार्य छ। स्वघोषित धर्मरक्षकहरूले बाटो छोड्नुपर्छ, हिन्दू सभ्यता आफै अघि बढ्छ।