पिस कोरका उपनिर्देशक ह्वाइट नेपाल भ्रमणमा
पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँचदिने भ्रमणमा आज काठमाडौं आएका छन्।
भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ। उनले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल पनि गर्ने अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उपनिर्देशक ह्वाइट भर्खरै नेपाल आइपुगेका १० जना पिस कोर रेस्पोन्स भोलेन्टियरको शपथ ग्रहण समारोहमा पनि सहभागी हुने जनाइएको छ। नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरको यो पहिलो समूह हो।
पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकलाई अल्पकालीन अवधिका, उच्च-प्रभाव दिने खालका काम पूरा गर्न विभिन्न देशमा पठाउँछ। त्यसै अन्तर्गत रेस्पोन्स भोलेन्टियरको टोली नेपाल आएको हो।
भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नेछन्। नेपालमा अमेरिकी स्वयंसेवकहरूले कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनामा काम गर्दै आएका छन्। समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरूले नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्ने गरेका छन्।
हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवक कार्यरत छन्। उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अंग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेको अमेरिकी दूतावासले जनाएको छ।
सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्य शुरू गरेको थियो। त्यसयता झन्डै चार हजार अमेरिकी नागरिकले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन्।
अमेरिकाले पिस कोरलाई विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीको अन्तर्राष्ट्रिय सेवा सञ्जाल बताउँदै आएको छ। विश्वभरिका सरकारको निमन्त्रणामा पिस कोर स्वयंसेवकले शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनामा समुदायका सदस्यसँग मिलेर काम गर्छन्।
यसका माध्यमबाट पिस कोर सञ्जालका सदस्यले स्थानान्तरण योग्य सीपका साथै अन्तरसांस्कृतिक क्षमता विकास गर्छन्। सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि दुई लाख ४० हजारभन्दा बढी अमेरिकी नागरिकले विश्वभर १४२ वटा मुलुकमा सेवा गरिसकेका छन्।