रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्छ : ओली
सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिकिर गरेका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले विना प्रमाण र कसूर आरोप लगाइरहेको बताए। कांग्रेसले आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने उनको भनाइ थियो।
“आरोपित व्यक्तिले पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ?” ओलीले भने, “कांग्रेसले बोलेको हामीले सुन्नपर्ने? यस्तो संसदीय अभ्यास हुँदैन।”
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेले अनुसन्धान प्रतिवेदन लुकाएको र तथ्य तोडमतोड गरेको आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ। सत्तापक्ष संसदीय छानबिनमा सहमत नहुँदा संसद् अवरुद्ध हुँदै आएको छ।
अध्यक्ष ओलीले देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड दिए। “मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौं, संसद् अविलम्ब सुचारु हुनुपर्छ। कांग्रेसले पनि अब संयम अपनाउनुपर्छ,” उनले भने।
परिस्थितिको आकलन गरी सबै राजनीतिक दललाई मिलाएर लैजाने प्रयास गरिरहेको उनको भनाइ थियो। “सदनमा भोलि हामी बहस गर्न तयार भएर जाऔं, हामीले त्यहाँ बहस गर्न पाउनुपर्छ,” ओलीले भने। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहीबार बोलाइएको छ।
पार्टी संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। “सरकारमा रहेकाले सैद्धान्तिक रूपमा समर्थन गर्छौंं,” बर्तौलाले भने, “पारित गर्ने स्वाभाविक विषय भयो, तर पनि कतिपय विषयमा सुझाव दिनुपर्नेछ। केही थप विषय समेट्न सकिन्थ्यो कि भन्ने लागेको छ।”
बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री युवराज खतिवडाले संसद्मा उठाउनुपर्ने र नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तुबारे सांसदलाई प्रशिक्षण दिएका छन्।