एनसेलले ल्यायो ‘फाइभजी भिजन’मा आधारित ‘सधैं अन’ योजना
एनसेलले ‘फाइभजी भिजन’ मा आधारित एनसेल ‘सधैं अन’ योजना सार्वजनिक गरेको छ।
सेवाग्राहीलाई सधैं इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले बुधबार योजना सार्वजनिक गरिएको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुक सरह बनाउँदै डिजिटाइजेशनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताए।
सीईओ जाब्बोरले भने, “उपभोक्ताका आवश्यकता परिवर्तन हुँदै छन्। धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरू किनमेल, यात्रा, ब्यांकिङ कारोबार लगायत अनलाइनबाटै गर्ने भएकाले सधैं इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौं।”
योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’ का लागि तयार पार्नु रहेको उनको भनाइ थियो। “फाइभजी ताररहित प्रविधिको भविष्य हो। यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ,” उनले भने, “६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आइसकेको छ। भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिणएशियाको दोस्रो मुलुक बनोस्।”
फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायत क्षेत्रको विकास पनि प्रभाव पार्ने बताए। योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्गप्रशस्त गर्ने कम्पनीले जनाएको छ।
‘सधैं अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ। सात दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट शुरू हुने योजनादेखि २८ दिन समयावधि रहेको एक हजार ४९९ रुपैयाँ पर्नेसम्मका विभिन्न योजना छन्। ‘सधैं अन’ योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्का डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।