एमाले संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा छलफल
नेकपा (एमाले) संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल भएको छ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकको शुरूआतमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा बोलेका थिए। उनले नीति तथा कार्यक्रमको पक्षमा बोल्न सांसदलाई निर्देशन दिएका छन्।
त्यस्तै, नीति तथा कार्यक्रम, आसन्न बजेट र एमालेको भूमिकाको विषयमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, पूर्व अर्थमन्त्री युवराज खतिवडा लगायतले प्रशिक्षणमूलक मन्तव्य दिने कार्यक्रम रहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि संसद् बैठकमा नेपाली कांग्रेसले विरोध जनाएको थियो। जसले गर्दा संसद् अवरुद्ध भएको थियो।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने लगायतमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। यस विषयमा पनि एमाले संसदीय दलको बैठकमा छलफल हुने बर्तौलाले बताए।