‘वेस्टर्न लेन’ मा शोकको सुषुप्त रूपान्तरण
एक बालिकाको शोकको अनुभूतिको आधारमा उपन्यासले प्रवासीको अस्तित्व खोजको कथा उधिनेको छ।
‘मैले बालाई सोधें- के उहाँ आमालाई सम्झनुहुन्छ? तर जब आफैं सम्झन थालें, मैले आमालाई पूर्ण कदको सम्झन सकिनँ। मैले उहाँका हातहरू सम्झें, कुहिनो सम्झें। उहाँको उचाइ सम्झें। धूलो जमेर काला भएका उहाँका पैतालाहरू मात्र सम्झें,’ भर्खरै आमा गुमाएकी ११ वर्षीया बालिका गोपी मातृवियोगको शोक र पीडालाई यसरी व्यक्त गर्ने कोशिश गर्छिन्।
मानिसले पीडालाई पूर्ण रूपमा कहिल्यै बुझ्न सक्दैन, शायद यसैले हुनुपर्छ- गोपीको स्मृतिमा आमाको पूर्ण कद नअटाएको। गोपीको यो मनोभाव शब्दमा लयबद्ध गरिएको छ, भारतीय-बेलायती लेखक चेतना मारोको २०२३ को बूकर पुरस्कारका लागि सूचीबद्ध पुस्तक वेस्टर्न लेनमा।
गोपीका बुबा आमा विना तीन छोरी हुर्काउने काम सजिलो नभएको ठान्छन्। त्यसैले छोरीहरू अनुशासनहीन नहोऊन् भनेर उनी गोपी, मोना र खुशलाई ‘स्क्वास’ खेल्न पठाउँछन्। तर समयक्रमसँगै गोपीले मात्र स्क्वासलाई पूर्ण रूपमा अपनाउँछिन्। यो खेल नै उनको पीडा अभिव्यक्तिको बाटो बन्छ।
उपन्यासमा अनेक पात्र भए पनि यो पूर्णतः आमाको अभाव महसूस गरे पनि त्यस अभावलाई निर्क्योल गर्न नसकिरहेकी गोपीको कथा हो। न दिदीहरू न बुबाको प्रेम, आमाको ममतारिक्त गोपीको मनको खाडल कसैले पुर्न सक्दैन। त्यसैले उनी पटक पटक भन्छिन्, ‘जब आमा हुनुहुन्थ्यो...।’
लेखक चेतना मारोले किशोरवय-उन्मुख एक बालिका गोपीको शोक र पीडाको सुषुप्त रूपान्तरण खेल मार्फत भएको देखाएकी छन्, जुन शैली प्रशंसनीय छ। कथाको परिस्थिति जटिल भए पनि कथाकी मुख्य पात्र कलिली बालिका भएकाले मारोले कथावाचन सरल र मीठो भाषामा प्रस्तुत गरेकी छन्। आमा गुमाएको दिनको पीडा व्यक्त गर्न गोपीको आँखा गुलाबजामुनको प्लेटमा देखाइएको प्रस्तुतिले उपन्यासकारका रूपमा मारोको परिपक्वतालाई देखाउँछ।
गोपीले जसरी स्क्वास खेलेर आफ्नो पीडालाई बुझ्ने कोसिस गर्छिन्, उपन्यासका पाठकमा त्यसले खेलकूदलाई हेर्ने दृष्टिकोणमा पनि अर्को इँटा थप्छ। गोपीका लागि स्क्वास एक चित्रकारका लागि क्यानभास, एक लेखकका लागि सफेद पाना वा एक फोटोग्राफरका लागि क्यामेरा जस्तै हो।
उपन्यासको एक ठाउँमा गोपी भन्छिन्, ‘हामीलाई फेरि आमाको उपस्थिति महसूस त हुन्थ्यो, तर उहाँसँग बिताएको दिन सम्झेर होइन, न उहाँको आवाजले नै हो न उहाँको स्पर्शको अनुभूतिले नै। त्यो त केवल बाले हामीलाई गरेको हेरचाहमा मात्र भेटिन्थ्यो।’
उनको यो अभिव्यक्ति स्क्वास खेलका कारण बुबासँग नजिकिएपछिको अनुभूतिको प्रकटीकरण हो। थोरै बोल्ने र बोलेर प्रेम अभिव्यक्त गर्न नजान्ने बुबाको प्रेम पनि उनले खेल मार्फतै महसूस गर्छिन्। दिदीहरू र स्क्वास खेल्ने साथी जेडलाई पनि खेलकूदै मार्फत बुझ्छिन्।
कथाका पात्रहरू सांस्कृतिक हिसाबले भारतीय भए पनि भौगोलिक हिसाबले उपन्यास बेलायती कथा हो। बुबासँग अंग्रेजीमा बोले पनि आमासँग भने गोपी गुजरातीमा बोलेका घटनाहरू सम्झिन्छन्। लेखकले आमालाई मातृत्व मात्र नभई मातृभाषाको विम्बका रूपमा प्रस्तुत गरेकी छन्। भाषा र घरको विम्बलाई देखाइरहँदा लेखकको आप्रवासी परिचय पनि त्यहाँ झल्किरहेको पाइन्छ।
उपन्यासले भारत बाहिरको भारतीय समाजबारे बोल्छ, जो अझै पहिचान, भाषा र आफ्नै अस्तित्वका लागि लडिरहेको छ। त्यो प्रवासी समाजको पीडा र शोक उपन्यासमा गोपी र गोपीका बुबामा भेटिन्छ। उनी चाहेर पनि जेडकी आमासँगको आफ्नो सम्बन्धबारे खुलेर आफ्ना सन्तानसँग कुरा गर्न सक्दैनन्। अरू दिदीबहिनीभन्दा बढी गोपीले आफ्नो बुबालाई बुझ्ने कोसिस त गर्छिन्, तर पश्चिमी समाजमा हुर्केर पनि खुला रूपमा पितासँग छलफल गर्न सक्दिनन्।
यस्तै, आमासँगका अनुभूतिलाई उपन्यासमा खुश बाहेक अरू कसैले पनि खुलेर व्यक्त गरेको भेटिंदैन।
बालबालिका र किशोरकिशोरीबारे लेख्न र बोल्न सजिलो छैन। साथसाथै उनीहरूको नजरबाट शोक र पीडालाई बुझाउन खोज्नु अझ कठिन हुन्छ। मारोले भने गोपीको शोकको अनुभूतिलाई आमपाठकले महसूस गर्ने गरी लेखेकाले शोक र पीडाको बुझाइ थप गहिरो बन्नेछ। त्यसैले हुनुपर्छ, मारोको यो विशेषता बूकर पुरस्कारका छनोटकर्ताले पनि पहिचान गरे। अंग्रेजी भाषामा मध्यम स्तरको पकड हुनेहरूले पनि पढ्न सक्ने भएकाले यसको पठनयात्रा सजिलो र उपलब्धिमूलक बन्नेछ।