नूर गिरेको अन्तर्राष्ट्रिय रंगशाला
एएफसीले नै प्रश्न उठाएपछि अन्योलमा परेको अन्तर्राष्ट्रिय मान्यता जोगाउन खटिनुपर्ने राखेप र एन्फा एकअर्कालाई दोष पन्छाउनैमा व्यस्त छन्।
२०६८ साउन २ गते दिउँसो। काठमाडौंमा झरी दर्किरहेको थियो। दशरथ रंगशालामा खचाखच दर्शक रुझेरै हुटिङ गरिरहेका थिए- नेपाल! नेपाल!!
मैदानमा आमनेसामने थिए, नेपाल र जोर्डनका राष्ट्रिय फूटबल टोली। नेपाल १-० ले पछाडि थियो। खेल अन्तिम समयतिर धकेलिंदै जाँदा दर्शकहरू घरेलु टोलीको जोश झन् झन् बढाउँदै थिए। ठीक ८०औं मिनेटमा भरत खवासले गोल ठोके। फिफा वरीयतामा ९१औं स्थानमा रहेको जोर्डनलाई १३६औं स्थानको नेपालले बराबरीमा रोक्यो।
जोर्डन त्यही टोली थियो, जसले पाँच दिनअघि मात्र उसकै देशको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई ९-० को विशाल अन्तरले हराएको थियो। सन् २०१४ को विश्वकपमा छानिन यी दुई टोली ‘होम एन्ड अवे’ का दुई खेलमा भिडेका थिए।
जोर्डनकै मैदानमा खेल्दा त्यति कमजोर देखिएको नेपालले घरेलु मैदानमा चाहिं कसरी बराबरीको हाँक दिन सक्यो त? राष्ट्रिय टोलीका कप्तान गोलकीपर किरण चेम्जोङसँग स्पष्ट जवाफ छ- घरेलु दर्शकको साथ पाएकाले। “दर्शक भनेका १२औं खेलाडी हुन्, जसबाट अन्तिम सेकेन्डसम्म लडिरहन प्रेरणा मिल्छ। हामीले धेरै बलिया टोलीलाई घरेलु समर्थककै बलमा चुनौती दिन सकेका छौं,” उनी भन्छन्।
यस्तै माहोल सन् २०१८ को विश्वकप छनोटमा पनि देखिएको थियो। वरीयतामा आफूभन्दा अघि रहेको भारतीय टोलीसँग उसको मैदानमा दुई गोल खाएको नेपालले दशरथ रंगशालामा भने भारतलाई गोलरहित बराबरीमा रोकेको थियो।
घरेलु मैदानमा खेल्दैमा जित सुनिश्चित नभए पनि अनुकूल नतीजा निकाल्न घरेलु दर्शक ठूलै सहुलियत बन्नेमा विश्वभरका खेलाडीदेखि खेल विश्लेषकसम्म सहमत छन्। तर खेलाडी विदेशिएर यसै कमजोर बन्दै गएको नेपाली फूटबलले पछिल्ला दिन एकपछि अर्को गरी घरेलु मैदानको सहुलियत समेत गुमाइरहेको छ।
पछिल्लो उदाहरण हो- नेपाल र यूएईबीचको आसन्न खेल। फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आगामी जेठ २४ मा यूएईसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो। तर एशियाली फूटबल महासंघ (एएफसी)ले रंगशालाको मापदण्डमा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय खेलका निम्ति अयोग्य ठहर्याइदिएको छ।
यसअघि बहराइन विरुद्धको खेलमा त नेपालले घरेलु मैदानको सहुलियत गुमाइसकेकै छ। गत चैत ८ मा दशरथ रंगशालामा हुनुपर्ने खेल बहराइनमा खेल्दा टोली ५ गोल खाएर फर्कियो। बहराइनले ‘दशरथ रंगशाला फूटबल खेल्न लायक नभएको’ भन्दै खेल्न नमानेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले अखिल नेपाल फूटबल संघ (एन्फा)बाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो।
खेल विश्लेषक सञ्जीव मिश्र घरेलु मैदानमा हुनुपर्ने खेल अर्काको मैदानमा खेल्नुपर्दा नतीजामा प्रत्यक्ष असर पर्ने बताउँछन्। “अप्रत्यक्ष रूपमा त यहाँका फूटबल कल्चर र गतिविधि समेत ठप्प हुन्छन्,” उनी भन्छन्।
दशरथ रंगशालाले यसअघि पाएको अन्तर्राष्ट्रिय मान्यता पनि सजिलै पाएको होइन। विसं २०१३ मा स्थापनापछि २०२२ सालमा दोस्रो चरणको निर्माण थालिए पनि आर्थिक अभावले पूर्णता पाएन। त्यति वेला चीन सरकारले सिमेन्ट र छड उपलब्ध गराएको थियो। २०२४ सालमा राखेप बोर्ड पुनर्गठन भएर सदस्य-सचिव बनेका कुमार खड्गविक्रम शाहले रंगशाला स्तरोन्नतिलाई मुख्य अजेन्डा बनाए। उनकै पहलमा २०२७ सालमा पूर्व र उत्तरतर्फ पाँच-पाँच लाइनको पारापिट तयार भयो। कभर्ड हल बनाइयो।
२०३४ सालमा आएका सदस्य-सचिव शरदचन्द्र शाहले थप सुधारका काम बढाए। विसं २०३५ देखि २०३७ सम्ममा अर्को चरणको निर्माण सकियो। त्यसपछि बल्ल देशकै पहिलो रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो।
त्यति वेला भीआईपी पारापिटतर्फ लिफ्ट समेत जडान गरिएको यही रंगशालामा पहिलो दक्षिण एशियाली खेलकूद (साग) उद्घाटन गरिएको थियो। २०४४ सालसम्म मैदान सुरक्षाका लागि पारापिटभन्दा अगाडिबाट पश्चिम, दक्षिण र उत्तरतिर काँडे तारले घेर्ने गरिएकामा सोही साल भीषण आँधीबेहरीबीच मच्चिएको भागदौडमा च्यापिएर ७१ दर्शकको ज्यान गएपछि काँडे तार हटाइयो। पछिल्लो पटक २०७२ को भूकम्पमा क्षतिग्रस्त रंगशाला साढे तीन वर्ष लगाएर पुनर्निर्माण गरिएको थियो।
यति दुःख गरेर बनाइएको रंगशाला अहिले अन्तर्राष्ट्रिय मान्यता गुमाउने अवस्थामा कसरी आइपुग्यो त? जिम्मेवार हुनुपर्ने निकाय राखेप र एन्फासँग प्रस्ट जवाफ छैन। उनीहरूको प्रयत्न कसरी एकअर्कालाई दोष पन्छाउने भन्नेतिर देखिन्छ।
एएफसीको मापदण्ड अनुसार रंगशालाको ‘फ्लड लाइट’ को चमक १२०० लक्स हुनुपर्छ। तर दशरथ रंगशालाको ‘फ्लड लाइट’ को चमक ७०० लक्स मात्रै छ। यति उज्यालोले राति खेलाउन पुग्दैन। एन्फाका महासचिव किरण राईका अनुसार ‘फ्लड लाइट’ लाई मुख्य समस्या देखाएको एएफसीले मैदानको पिच, दर्शक बस्ने पारापिटको भौतिक पूर्वाधार र आपत्कालीन अवस्थाका लागि अपनाइने सुरक्षा मापदण्डबारे पनि प्रश्न उठाएको छ।
“एएफसीले मापदण्ड कडा बनाउँदै लगेको छ। वर्षाैं पुरानो रंगशाला राखेपले त्यस अनुसार स्तरोन्नति र मर्मत नगर्दा यो अवस्था आएको हो,” राई भन्छन्।
एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा भने नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबारे एन्फालाई वर्षदिनअघि नै जानकारी भए पनि त्यस अनुसार रंगशाला तयार पार्न समन्वय नगरेकाले यसमा एन्फाकै लापरबाहीलाई मुख्य कारण मान्छन्। “घरेलु मैदानमा तोकिएका दुई महत्त्वपूर्ण खेल नहुँदा अन्तर्राष्ट्रिय समुदायमाझ नेपाली फूटबलको स्तर घट्नुका साथै सम्भावनाहरूको अन्त्य हुँदै गएको छ,” उनी भन्छन्।
विदेश भ्रमणको मोहले एन्फा पदाधिकारीले जानी-जानी खेल बाहिरी देशमा गराउन खोजेको आशंका पनि व्यक्त गर्छन्, शेर्पा। उनका अनुसार यसअघि बहराइनमा खेल्दाको नेपाली टोलीको सम्पूर्ण खर्च बहराइनले नै बेहोरेको थियो। “यसरी प्रतिस्पर्धीको खर्चमा खेल खेल्न जानु एक किसिमको भ्रष्टाचार हो,” उनी भन्छन्, “एन्फाका पछिल्ला शंकास्पद गतिविधिले नेपाली फूटबललाई दीर्घकालीन असर पारेकाले खेलकूद मन्त्रालयले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ।”
यूएई विरुद्धको खेल नेपालमा हुन नसक्नुमा एन्फाले राखेपलाई जिम्मेवार देखाए पनि बहराइन विरुद्धको खेल हुन नसक्नुमा चाहिं एन्फा आफैं जिम्मेवार छ। किनकि त्यति वेलासम्म रंगशाला मर्मतसम्भारको काम उसकै जिम्मामा थियो। बहराइनले खेल्न अस्वीकार गरेपछि भने राखेपले एन्फाबाट त्यो जिम्मेवारी खोसेको थियो।
यसबीच, एएफसीले वैशाख १२ मा नयाँ मापदण्डबारे जानकारी गराएसँगै राखेपले स्तरोन्नतिको काम अघि बढायो। तर वैशाख २१ मा गरेको निरीक्षणमा पनि एएफसीका प्राविधिकले मापदण्ड नपुगेको औंल्याएपछि राखेपले थप १० दिन मागेको थियो। एएफसीले मागे अनुसार मापदण्ड पुर्याएर वैशाख २८ गते नै एन्फालाई पत्र पठाइसकिएको राखेपका सदस्य-सचिव टंकलाल घिसिङ बताउँछन्। “अब बाहिरको टीम बोलाएर खेल गराउने जिम्मा एन्फाको हो, हामीले हाम्रो काम गरिसक्यौं,” उनी भन्छन्, “विश्वकप नै खेलाउन मिल्ने मैदान तयार गरेका छौं।”
एन्फा महासचिव राईका अनुसार एन्फाले मापदण्ड पूरा गरिएको प्रतिवेदन बुझाइसके पनि एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउन मान्यता दिइसकेको छैन। बरु यूएई विरुद्धको खेलका लागि तटस्थ मैदान रोज्न आग्रह गरेको छ। “रंगशालाले सधैंका लागि अन्तर्राष्ट्रिय मान्यता गुमाएको होइन,” राई भन्छन्, “तर यूएई विरुद्धको म्याच चाहिं घरेलु मैदानमा नहुने निश्चित भएको छ।”