पानी प्रशोधन केन्द्र : चिनियाँको डिजाइनमा काम गर्दै भारतीय कम्पनी
काठमाडौं उपत्यकामा तीन वटा पानी प्रशोधन केन्द्र बनाउने जिम्मा पाएको चिनियाँ कम्पनीले निर्माणमा ढिलासुस्ती गरेपछि ठेक्का तोडिए पनि उसैले तयार पारेको डिजाइनमा काम गर्ने गरी भारतीय कम्पनी छनोट भएको छ।
फोहोर पानी र ढल प्रशोधन गरी नदीमा मिसाउन योग्य बनाउने उद्देश्यले चिनियाँ कम्पनीले तयार पारेको डिजाइनका आधारमा भारतीय कम्पनीले निर्माण अगाडि बढाउने भएको छ।
ललितपुरको धोबीघाट र कोड्कु (बालकुमारी) तथा भक्तपुरस्थित सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्र बनाउन चिनियाँ कम्पनी साफबोन वाटर सर्भिसले तयार पारेको डिजाइन अनुसार भारतीय कम्पनी भिए टेक वाबाग लिमिटेडले काम गर्न लागेको हो।
यी प्रशोधन केन्द्र बनाउन यसअघि २०७३ सालमा ठेक्का पाएको चिनियाँ कम्पनी साफबोनले तीन वटै केन्द्रको डिजाइन बनाएको थियो। तर वर्षौं बित्दा पनि काममा प्रगति नभएपछि २०७९ भदौमा ठेक्का तोड्दै कम्पनीलाई नेपाल सरकार र लगानीकर्ता एशियाली विकास ब्यांक (एडीबी)ले कालोसूचीमा राखेको थियो।
हाल छनोटमा परेको भारतीय कम्पनीले दुई वर्षयता अलपत्र काम पुरानो कम्पनीले बनाएको डिजाइनकै आधारमा अगाडि बढाउने काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (केयूकेएल, पीआईडी)का सूचना अधिकारी ई. चन्द्रकुमार पल श्रेष्ठ बताउँछन्।
“कम्पनी कालोसूचीमा परे पनि पहिलेको कम्पनीले तयार गरेको डिजाइन उचित छ,” उनी भन्छन्, “सोही डिजाइनका आधारमा हाल छनोटमा परेको कम्पनीले निर्माण कार्य अगाडि बढाउनेछ। सिभिल डिजाइन पुरानै भए पनि मेकानिकल डिजाइन भने आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ।”
उक्त डिजाइनलाई नै निरन्तरता दिने गरी एडीबी र पीआईडीले भिए टेक वाबाग कम्पनीलाई छनोट गरिसकेका छन्। यस कम्पनीले यसअघि गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको थियो। यद्यपि नयाँ ठेकेदार कम्पनीले डिजाइन समीक्षा गरेपछि मात्र पुरानो डिजाइनलाई निरन्तरता दिन सकिने पीआईडीका इन्जिनीयर भरत महर्जन बताउँछन्। “ठेकेदारले पुरानो डिजाइनको समीक्षा गरेपछि मात्र नयाँ डिजाइन थपघट गर्न पाइन्छ। ठेकेदारले डिजाइन थपघट गर्नुपरेमा पीआईडीलाई प्रस्तावना बुझाउनुपर्छ। त्यसको आधारमा डिजाइनको काम शुरू हुन्छ,” उनी भन्छन्।
साढे ६ अर्ब लगानी
तीन वटा प्रशोधन केन्द्र बनाउन वाबाग कम्पनीले झन्डै ४९ मिलियन अमेरिकी डलर अर्थात् भ्याट सहित ६ अर्ब ५४ करोड ६५ लाख ४२ हजार रुपैयाँ बराबरको ठेक्का हात पारिसकेको छ। यद्यपि यस सम्बन्धी सूचना केयूकेएल, पीआईडीले प्रकाशन गरिसकेको छैन। कम्पनी छनोट भइसके पनि सम्झौता गर्न बाँकी रहेको पीआईडीका सूचना अधिकारी इन्जिनीयर श्रेष्ठले बताउँछन्।
“पहिलेको ठेक्का रद्द भएपछि अघिल्लो वर्ष नै हामीले बोलपत्र आह्वान गरेका थियौं, जसमा भारतीय कम्पनी भिए टेक वाबाग छनोटमा परेको हो,” उनी भन्छन्, “कम्पनीले १० प्रतिशत ब्यांक र पफर्मेन्स ग्यारेन्टी राखेपछि सम्झौता प्रक्रिया अगाडि बढ्छ र काम शुरू हुन्छ।”
इन्जिनीयर श्रेष्ठका अनुसार सम्झौतापश्चात् दुई वर्षमा कम्पनीले निर्माण सम्पन्न गर्नुपर्नेछ भने पाँच वर्षसम्म कम्पनीले नै मर्मत र सञ्चालन गर्नुपर्नेछ। तीन वटै पानी प्रशोधन केन्द्र एडीबीको ऋण लगानीमा निर्माण हुन लागेका हुन्।
यी प्रशोधन केन्द्र मार्फत दैनिक ६९ मिलियन लिटर (एमएलडी) अर्थात् ६ करोड ९० लाख लिटर पानी प्रशोधन गर्न सक्ने क्षमता छ। जस अनुसार धोबीघाटबाट दैनिक ३.७ करोड लिटर, कोड्कुबाट दैनिक १.७५ करोड लिटर र सल्लाघारीबाट दैनिक १.६२ करोड लिटर पानी प्रशोधन हुनेछ।
ढलको पानी प्रशोधन गरेर बागमतीमा मिसाउनु तीन वटै फोहोर पानी प्रशोधन केन्द्रको उद्देश्य रहेको सूचना अधिकारी ई. श्रेष्ठले बताउँछन्। “यी केन्द्र बनेपछि फोहोर पानी प्रशोधन गरेर हनुमन्ते, मनोहरा हुँदै बागमतीमा बगाउने उद्देश्य छ,” उनी भन्छन्, “यति मात्र नभई गुह्येश्वरीमा झैं धोबीघाट केन्द्रबाट बायोग्यास ऊर्जा उत्पादन गरिने योजना छ। जसबाट प्रतिदिन सात हजार युनिट बायोग्यास ऊर्जा उत्पादन गर्न सकिनेछ।”
उक्त परियोजनाका लागि पीआईडीले २०८० असारमा बोलपत्र आह्वान गरेको थियो। जसमा दुई वटा चिनियाँ र एउटा भारतीय कम्पनीले आवेदन दिएका थिए। प्राविधिक र अन्य योग्यताका आधारमा एडीबी र पीआईडीले भारतीय कम्पनीलाई छनोट गरेको पीआईडीले जनाएको छ।
८८ करोड खर्च
खोला तथा ढलको पानी प्रशोधन गर्ने उद्देश्यले एडीबीको ऋण लगानीमा पीआईडीले उपत्यकाका तीन स्थानमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण योजना अगाडि सारेको थियो। जस अनुसार भक्तपुरको सल्लाघारी, ललितपुरको धोबीघाट र बालकुमारीस्थित कोड्कुमा २०७३ सालमा चिनियाँ कम्पनी साफबोन वाटर सर्भिसले प्रशोधन केन्द्र निर्माण कार्य अगाडि बढाएको थियो।
पीआईडीका अनुसार प्रशोधन केन्द्रको काममा हालसम्म रु.८८ करोड खर्च भइसकेको छ। जसमध्ये चिनियाँ कम्पनीलाई अझै रु.सात करोड भुक्तानी गर्न बाँकी छ। उक्त रकम अन्तर्गत कोड्कुमा २७ प्रतिशत, धोबीघाटमा १७ प्रतिशत र सल्लाघारीमा १० प्रतिशत गरी तीन वटै प्रशोधन केन्द्रमा जम्मा २७ प्रतिशत मात्र सिभिल डिजाइनको काम गरेको थियो। हाल तीन वटै केन्द्रमा ट्यांकी सहित अन्य संरचना निर्माणाधीन अवस्थामा छन्।
यसअघि प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीको आन्तरिक कारणले ठेक्का रद्द गर्नुपरेको पूर्व परामर्शदाता ई. रमेशमान प्रधान बताउँछन्। “बाहिर जेसुकै कारण दिए पनि पुरानो कम्पनी साफबोन वाटर सर्भिसले आन्तरिक कारणले निर्माण कार्यलाई निरन्तरता दिन सकेन,” उनी भन्छन्, “पुरानो कम्पनी अर्को चिनियाँ कम्पनीसँग गाभियो र त्यसको नाम नै मेटियो। कम्पनी मर्ज भएपछि नयाँ सीईओ आए र उनले काम अगाडि बढाउन सकेनन्।” पुरानो कम्पनीले निर्माण कार्य अलपत्र पारे पनि डिजाइन भने उचित रहेको उनको भनाइ छ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण शुरू गरेको चिनियाँ कम्पनीले २०७९ असारसम्ममा २७ प्रतिशत मात्र काम गरेको थियो। वर्षौं बित्दा पनि निर्माण कार्यमा ढिलाइ भएको भन्दै सरकारले २०७९ भदौमा कम्पनीसँग ठेक्का सम्झौता तोडेको थियो।
प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि सल्लाघारी प्रशोधन केन्द्रको पानी भक्तपुरको खासाङखुस खोला हुँदै मनोहरा र बागमतीमा मिसिनेछ भने धोबीघाट र कोड्कुको पानी सोझै बागमती नदीमा मिसाइनेछ।
हाल काठमाडौंको गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर पानी प्रशोधन हुने गरी फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा छ।