सन्दीपको पुनरावेदन मुद्दामा भोलि फैसला
बलात्कार आरोपमा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहरिएका सन्दीप लामिछाने विरुद्धको पुनरावेदन मुद्दाको बहस आज नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
सन्दीपलाई जिल्ला अदालतले आठ वर्ष कैद तोकेको थियो। जिल्लाको फैसला विरुद्ध सन्दीप र उच्च सरकारी वकीलको कार्यालय दुवै पक्षले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए। सन्दीप पक्ष सफाइको माग सहित र उच्च सरकारी वकीलको कार्यालय सजाय कम भएको भन्दै पुनरावेदनमा गएका हुन्। सरकारी पक्षले युवती नाबालिग भएकाले सन्दीपलाई कम सजाय भएको दाबी पुनरावेदनमा गरेको छ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ। भोलि पनि यही इजलासले मुद्दाको छिनोफानो गर्नेछ।
उच्च अदालतका सूचना अधिकारी अर्जुन आचार्यका अनुसार सरकारी वकील पक्षको जवाफी बहस बाँकी छ। भोलि नै फैसला आउने आचार्यले बताए।
जिल्ला अदालत, काठमाडौंले लामिछानेले युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको गत पुसमा ठहर्याउँदै आठ वर्ष कैद फैसला गरेको थियो। तर मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ उपदफा २ बमोजिम थुनछेकका क्रममा जेल चलान नभएका कसूरदारको कैद सजाय १० वर्षभन्दा कम भएमा थुना बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा छ।
यही व्यवस्था बमोजिम सन्दीपले जेल बाहिरै बसेर पुनरावेदन गरेका हुन्। थुनछेकका क्रममा सन्दीप उच्च अदालतकै आदेशबाट जेलमुक्त भएका थिए।