ऐतिहासिकहरूको दृष्टिमा ज्ञानमणि नेपाल
“उहाँको सबैभन्दा बलियो पक्ष संस्कृत वाङ्मयको ज्ञान हो। संस्कृत साहित्यमा उहाँ अब्बल हुनुहुन्थ्यो। नयराज पन्तले ‘मेरो ज्यौतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुनिन्थ्यो।”
९१ वर्षको उमेरमा आजै (जेठ १) निधन भएका ऐतिहासिक ज्ञानमणि नेपाल नेपाली इतिहासमा छुटाउन नसकिने नाम हो। नेपालको नामकरण, मध्यकालीन इतिहास, तिब्बत र चीनसँग नेपालको सम्बन्धको इतिहासमा उनको मुख्य योगदान छ। नेपाल निरुक्त (२०४०), नेपाल-भोट, चीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०४५), नेपालको महाभारत (२०५०), नेपालको पूर्वमध्यकालको इतिहास (२०५४), नेपाल निरूपण (२०५५), नेपाल र चीन-तिब्बत सम्बन्धको समीक्षात्मक इतिहास (२०७३) लगायत तीन दर्जन पुस्तकका लेखक नेपाल जीवनको अन्तिम क्षणसम्म पनि अनुसन्धान र लेखनमा सक्रिय थिए। नयराज पन्तले खोलेको संस्कृत पाठशालाबाट दीक्षित उनी नेपाली इतिहास लेखनको संशोधन मण्डल परम्पराका अग्रज पनि हुन्। उनी र उनका योगदानबारे अन्य ऐतिहासिकहरूको दृष्टिकोण प्रस्तुत छ :
हामी सबैका आदर्श
- महेशराज पन्त
ज्ञानमणि नेपाल नयराज पन्तले खोल्नुभएको पाठशालाको शुरूआतकालीन शिष्य हुनुहुन्थ्यो। तर उहाँ २०१८ साल संशोधन मण्डल भनेर अनुसन्धान संस्था स्थापना गर्दासम्म घर गइसक्नुभएको थियो। २०१२ सालमा पढाइ सकेपछि उहाँ आफ्नो गाउँ भोजपुर जानुभयो। यद्यपि संशोधन मण्डलकै परम्पराबाट उहाँ हुर्किनुभएको हो। भोजपुर गएपछि त्यहाँ उहाँले आफूले पढेकै शैलीको पाठशाला खोल्नुभयो। तर नयाँ शिक्षा लागू भएपछि उहाँको पाठशाला सञ्चालन हुन पाएन। २०३१ सालमा उहाँ फर्केर काठमाडौं आउनुभयो। त्यति वेला म जर्मन प्रोजेक्टमा काम गर्थें। उहाँ पनि केही साल त्यही प्रोजेक्टमा आउनुभयो र पछि ‘नेपाल तथा एशियाली अध्ययन केन्द्र’ (सिनास)मा जानुभयो। सिनासपछि प्रज्ञा-प्रतिष्ठानमा जानुभयो।
नेपाली इतिहास लेखनमा संशोधन मण्डलको एउटा बेग्लै परम्परा छ। अन्य इतिहासकारहरू एउटै पुस्तकमा सबै लेख्छन्। त्यो पढ्दा अब नेपाली इतिहासमा लेखिन बाँकी केही छैन जस्तो लाग्छ। संशोधन मण्डलको इतिहास लेखन पद्धतिमा अपूर्णता धेरै छ, तर अशुद्धि कम छ। हाम्रो ‘स्कूलिङ’ एउटै भएकाले सबैले प्रमाणका आधारमा लेख्यौं। ज्ञानमणिजी पनि त्यही परम्परालाई निरन्तरता दिनुहुन्थ्यो।
नेपालका अलग अलग राजनीतिक कालखण्डको इतिहास लेखनमा संशोधन मण्डलको देन छ। त्यसमध्ये धनवज्र वज्राचार्यले अलग्गै लिच्छविकालबारे लेख्नुभयो। उहाँको निधनपछि 'मध्यकालका अभिलेख' र 'पूर्वमध्यकालका अभिलेख' गरी दुई वटा पुस्तक छापिए। अरू दुई खण्ड छापिन बाँकी छन्। ज्ञानमणिजीले नेपालको राजनीतिक इतिहासका साथै नेपाली साहित्यको इतिहास पनि लेख्नुभयो। नेपालको साहित्य भन्नाले नेपाली भाषामा मात्र लेखिएको नभई संस्कृत भाषामा लेखिएका नेपाली साहित्यकारहरूको कृतिको इतिहास पनि हो। उहाँले त्यस विषयमा धेरै काम गर्नुभयो। जस्तै- उदयानन्द अर्ज्यालको महाकाव्य सम्पादन गर्नुभयो।
नेपालको नाम कसरी रह्यो भन्नेमा उहाँको मुख्य योगदान छ। नयाँ पुस्ताले उहाँको त्यो लेख पढ्न उपयुक्त हुन्छ। हुन त उक्त लेखको टिप्पणी गरेर दिवाकर आचार्यले ‘नीपजन र नेपाल’ लेख्नुभएको छ। तर ज्ञानमणि नेपालको लेखलाई एउटा आधार बनाएर लेख्न सकिन्छ। त्यस्तै, उहाँले मध्यकालीन इतिहासबारे पनि लेख्नुभएको छ। त्यसको मैले लामो समीक्षा लेखेको छु। उहाँ त्यो पुस्तकमा मूलतः संस्कृत भाषाका स्रोतमा भर पर्नुभएको छ।
तिब्बत र चीनसँग नेपालको सम्बन्धको इतिहासमा पनि उहाँले काम गर्नुभएको छ। त्यसबारे उहाँका दुई वटा पुस्तक नै प्रकाशित छन्। उहाँले नेपाली स्रोतमा भर परेर ती पुस्तकहरू लेख्नुभएको हो। जंगबहादुरको समयमा भएको नेपाल-भोट युद्धबारे पनि उहाँले प्रशस्त लेखहरू लेख्नुभएको छ। उहाँका यी पुस्तक प्रकाशित भएपछि कमलप्रकाश मल्लले टिप्पणी गरे, ‘नेपालका तिब्बत, चीन विशेषज्ञलाई तिब्बती र चिनियाँ भाषा आउँदैन।’ तर ज्ञानमणि नेपालले त्यो दाबी गर्नुभएकै थिएन। उहाँले त नेपाली पक्षमा भएका कागजपत्रका आधारमा लेख्नुभएको थियो। ‘मलाई तिब्बती र चिनियाँ भाषा आउँछ’ भनेर उहाँले लेख्नुभएको होइन।
उहाँ सम्झौता नगर्ने लेखक हुनुहुन्थ्यो। अरू केही इतिहासकारहरू जस्तो शासकलाई खुशी बनाउन उहाँ लेख्नुहुन्नथ्यो। उहाँ हामी सबैका लागि एउटा आदर्श हो।
०००
अद्वितीय ज्ञानी
- नयनाथ पौडेल
आफूले खोलेको पाठशालाको पहिलो विद्यार्थी ज्ञानमणि नेपाल हुनुहुन्थ्यो भनेर गुरु नयराज पन्त भन्नुहुन्थ्यो (भारतको बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी फर्केपछि १९९५ सालमा पन्तले संस्कृत पाठशाला खोलेका थिए, जुन पछि गएर संशोधन मण्डल नामले परिचित भयो)। त्यस बाहेक उहाँको अन्य प्रमाणपत्रीय शैक्षिक योग्यता छैन।
२००६ सालमा उहाँ र मेरा पिता भोलानाथ पौडेल मृगस्थलीमा योगी नरहरिनाथ लगायतले खोल्नुभएको संस्कृत पाठशालामा पढाउन जानुभएको थियो। २००७ सालपछि उहाँहरूले त्यहाँ पढाउन छोड्नुभएको थियो।
मैले उहाँसँग अध्ययन गर्ने मौका चाहिं पाइनँ, धनवज्र वज्राचार्य गुरुसँग पढें। हामी पाठशाला जाँदा उहाँ पढाइ सकेपछि आफ्नो घरतिर गइसक्नुभएको थियो। त्यतैबाट काम गर्नुभयो। त्यहाँबाट फर्केपछि उहाँ र धनवज्र वज्राचार्यले सिनासमा काम गर्नुभयो। नेपालको नामकरण, तिब्बतसँगको सम्बन्ध आदिको इतिहासमा उहाँले योगदान गर्नुभएको छ। त्यस्तै, उहाँले नेपालको पूर्वमध्यकालको इतिहास लेख्नुभएको छ। धनवज्र वज्राचार्य, भोलानाथ पौडेलसँग मिलेर कौटिल्य अर्थशास्त्रको ऐतिहासिक व्याख्या भन्ने सानो पुस्तिका पनि निकाल्नुभएको छ।
यो पनि, ज्ञानमणि नेपाल: खोज र अनुसन्धानका नेपाली अग्रदूत
उहाँको सबैभन्दा बलियो पक्ष संस्कृत वाङ्मयको ज्ञान हो। संस्कृत साहित्यमा उहाँ अब्बल हुनुहुन्थ्यो। नयराज पन्तले ‘मेरो ज्यौतिषको उत्तराधिकारी भोलानाथ हो, वाङ्मयपट्टि ज्ञानमणि हो’ भनेको सुनिन्थ्यो।
सारमा भन्दा, प्रमाण पुर्याएर इतिहास लेख्ने प्रतिभाशाली मानिस हो उहाँ। अद्वितीय ज्ञान थियो उहाँसँग। उहाँका नेपाल निरूपण, नेपाल निरुक्त र नेपालको पूर्वमध्यकालको इतिहास नछुटाई पढ्नुपर्ने पुस्तक हुन्।
०००
मौलिक इतिहासकार
- त्रिरत्न मानन्धर
नेपालको इतिहास अध्ययन र लेखनमा विशिष्ट नाम हो, ज्ञानमणि नेपाल। उहाँको विशेषता नै नेपालका लागि महत्त्वपूर्ण पुस्तकहरू लेख्नु हो। उहाँको पहिलो अनि र महत्त्वपूर्ण पुस्तक २०१४ सालमा नै लेखिएको ऐतिहासिक पत्रसंग्रह भाग १ हो। यस पुस्तकमा त्यस वेलासम्म नेपालमा प्रकाशमा नआएका विशेषगरी मध्य र शाहकालका ऐतिहासिक पत्रहरूको व्याख्या गरिएको छ। साथै, ती प्रमाणहरूको सक्कल कागजातको फोटो पनि छापिएको छ। यस पुस्तकको सहलेखक धनवज्र वज्राचार्य हुनुहुन्छ।
उहाँले नेपालको प्राचीन इतिहासमा लामो समय कलम चलाउनुभयो। साहित्यिक कृतिहरू पनि उत्तिकै प्रकाशन गर्नुभयो। नेपाल तथा एशिया अध्ययन केन्द्र (सिनास)मा अनुसन्धाताका रूपमा उहाँको नियुक्ति भएपछि मेरो भेट भएको हो। हामीले सिनासमा सँगै काम पनि गर्यौं। उहाँका धेरै पुस्तक सिनासबाट प्रकाशन पनि भए। तीमध्ये एक हो, नेपालको पूर्वमध्यकालीन राजनीतिक इतिहास। त्यस कालखण्डबारे एउटा लेख समेत नभएको वेला उहाँले नेपाली अनुसन्धाता र इतिहासका विद्यार्थीहरूका लागि अध्ययन सामग्री उपलब्ध गराइदिनुभयो। उहाँका अरू महत्त्वपूर्ण पुस्तकहरू नेपाल निरुक्त र नेपाल निरूपण पनि हुन्। यी पुस्तकहरू उहाँका लेखहरूका संकलन हुन्। ती सबै मौलिक स्रोतमा आधारित छन्। उहाँका हरेक पुस्तक आफ्नै अनुसन्धानमा आधारित छन्। प्रकाशित स्रोतहरूमा उहाँ निर्भर हुनुहुन्नथ्यो। परराष्ट्र मन्त्रालयका कागजपत्र खोजेर तिनको व्याख्या गरी पुस्तकहरू लेख्नुहुन्थ्यो उहाँ। एक पटक २०३६ सालमा परराष्ट्र मन्त्रालयको अभिलेख शाखामा कागजपत्र खोज्दै गर्दा उहाँलाई भेटेको थिएँ मैले।
यो पनि, 'हाम्रो इतिहासमा को सुपात्र र को कुपात्र कसैलाई थाहै छैन'
उहाँको अर्को महत्त्वपूर्ण पुस्तक नेपाल र भोटबीचको सांस्कृतिक सम्बन्ध पनि हो। उहाँको सबैभन्दा धेरै चर्चित, बढी पढिएको र धेरैले सन्दर्भसूचीका रूपमा उल्लेख गरेको पुस्तक नेपालको महाभारत हो। उक्त पुस्तकमा उहाँले शाहकालका विभिन्न षड्यन्त्रहरू समेट्नुभएको छ। यी बाहेक पनि उहाँका सयौं लेख प्रकाशित छन्। सिनासले प्रकाशन गर्ने जर्नल कन्ट्रिब्यूशन टू नेप्लिज स्टडीमा पनि धेरै लेख प्रकाशित छन्।
उहाँ निर्भीक समीक्षक पनि हुनुहुन्थ्यो। वैचारिक बहसमा सक्रियतापूर्वक सहभागी हुनुुहुन्थ्यो। उहाँको पुस्तक नेपाल सिक्किम सम्बन्धमा केही समस्या देखेर मैले टिप्पणी छपाएको थिएँ। उहाँले त्यसमा अर्को टिप्पणी लेखेर मेरा तर्कहरू सत्य छैनन् भन्ने आलोचना गर्नुभयो। खासमा, यस्ता आलोचना गर्नबाट उहाँ नडराउने मान्छे हो।
जीवनको अन्तिमसम्म पनि उहाँले कलम चलाइरहनुभयो। उहाँका पुस्तक र अनुसन्धानको अध्ययन नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हो।
०००
निर्भीक इतिहासकार
- वीणा पौड्याल
ज्ञानमणि नेपालको शक्ति नै उहाँको अनुसन्धान हो। उहाँले आफूले फेला नपारेका, विना स्रोतका केही पनि लेख्नुभएन। त्यही ज्ञान अरूलाई पनि बाँड्नुभयो। अहिले पनि धेरै विद्वान् भनिएकाहरू सत्य लेख्न डराउँछन्। उहाँमा त्यस्तो डर कहिले पनि भएन। उहाँका गुरु नयराज पन्तको देनले नै होला, उहाँमा निपुण लेखन, अध्ययन र खोजको स्वभाव निर्माण भएको।
यो पनि, यस्तो छ नेपालमा इतिहास लेखनको १५ सय वर्षे यात्रा
उहाँले संस्कृतिबारे पनि थुप्रै विश्लेषणात्मक लेखहरू लेख्नुभएको छ। मलाई मन पर्ने उहाँका कृतिहरूमा नेपाल निरुक्त र नेपाल निरूपण हुन्। त्यसपछि नेपाल, चीन र तिब्बतको सम्बन्धबारेका पुस्तक पनि धेरै उपयोगी छन्। नेपाल निरुक्तमा धेरै प्राचीन शब्द, किंवदन्ती, राजामहाराजालाई लिएर बनाएका भ्रमहरूबारे लेख्नुभयो। यो पुस्तक आएपछि उहाँको खोज र तथ्यपूर्ण लेखनले कति राजा-महाराजालाई लगाइएका दोषहरू भ्रम थिए भन्ने पनि थाहा भयो। नेपालको महाभारत पुस्तकमा उहाँले नेपालको राजनीति, पर्व लगायतमा भएका ठूल्ठूला घटनाहरूबारे लेख्नुभएको छ। नेपालको पूर्वमध्यकालीन इतिहास पुस्तकमा पनि उहाँले प्रामाणिक मध्यकालको समाज देखाउनुभएको छ।
विना प्रमाण इतिहास लेख्ने प्रवृत्ति हावी भएकोमा उहाँको गुनासो थियो। दुई वर्षअघि कुराकानी हुँदा पनि उहाँले त्यही चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँको जीवनबाट हामीले सिक्ने मुख्य शिक्षा नै प्रमाणमा टेकेर इतिहास लेखन हो। तर अहिले यूट्यूब र अन्य सामाजिक सञ्जालहरूमा इतिहासका धेरै महत्त्वपूर्ण घटनाबारे विना प्रमाण लेख्ने/बोल्ने गरेको पाइन्छ। यस्ता अप्रामाणिक सामग्रीले पाठक र श्रोतामा गलत धारणा निर्माण हुन्छ भनेर ज्ञानमणि नेपाल भन्ने गर्नुहुन्थ्यो। त्यस्तै, इतिहास लेखनमा संवेदनशील हुनुपर्छ भन्नेमा पनि उहाँको जोड हुन्थ्यो। समाजमा विग्रह ल्याउने गरी लेख्न हुँदैन भन्नुहुन्थ्यो। उहाँको अध्ययन, मिहिनेत, खोज र अनुसन्धानको प्रशंसक हुँ म।
- हिमालखबरमा प्रकाशित ज्ञानमणि नेपाल लिखित सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।