ऐतिहासिक ज्ञानमणि नेपालको निधन
ऐतिहासिक ज्ञानमणि नेपालको निधन भएको छ।
९२ वर्षीय नेपालको मनमोहन कार्डियोथोरासिक सेन्टर, महाराजगन्जमा उपचारका क्रममा मंगलबार साढे १२ बजे निधन भएको उनका छोरा सन्तोष नेपालले जानकारी दिए।
रुघाखोकी र ज्वरोले सताएपछि वैशाख २१ गते सिभिल अस्पताल लगिएका उनलाई मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक सेन्टर लगिएको थियो। उनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो।
चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको थियो। हृदयाघातका कारण विभिन्न अंगमा क्षति पुगेको थियो। दुवै मिर्गौलामा समस्या आएर तीन पटक डायलासिस गरिएको थियो।
उनका दुई छोरा छन्।
गुरुकुल शिक्षा प्रणालीबाट आएका तथा संशोधन-मण्डलका पूर्व सदस्य नेपाल इतिहास अन्वेषणबाट प्राप्त तथ्यलाई सम्पादन नगरी यथारूपमा बाहिर ल्याउने ऐतिहासिक मानिन्छन्।
उनका नेपाल निरुक्त (२०४०), नेपाल-भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०४५), नेपालको महाभारत (२०५०), नेपालको पूर्वमध्यकालको इतिहास (२०५४), मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४), नेपालनिरूपण (२०५५), नेपालको माध्यमिक कालको इतिहास (२०६२), अतीतका स्मृति र अनुभूतिः विश्वेश्वरदेखि वीरेन्द्रसम्म (२०६५) नेपाल र चीन-तिब्बत सम्बन्धको समीक्षात्मक इतिहास (२०७३) लगायत करिब तीन दर्जन कृति प्रकाशित छन्।