मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन्। राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभामा अवरोध गर्दै आएको थियो।