मनसुनसँगै निम्तिंदै विपद्, छैन पूर्व तयारी
पोहोर साल मुस्ताङमा गएको बाढीले जलवायु परिवर्तन सिर्जित मनसुनी विपद् हिमालपारि पुगेको संकेत गर्यो। यसपालि पानी बढी पर्ने आकलन छ, तर मनसुनी विपद्को सामनाका लागि पूर्व तयारी भने शून्य छ।
बर्खा शुरू हुन लागेसँगै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीका नामक्य गुरुङको पीर पनि बढ्न थालेको छ। उमेरले पाँच दशक नाघेपछि गुरुङको जिन्दगीमा चिताउँदै नचिताएको पिरलो थपिएको छ, बाढीको। यो चिन्ता पोहोर सालबाट शुरू भएको हो।
बंगालको खाडीबाट आउने मनसुनी बादल हिमालले छेक्ने भएकाले पानी कम पर्ने जिल्ला मानिन्छन्, मुस्ताङ र मनाङ। त्यही मुस्ताङमा २०८० साउन २८ गते परेको भारी वर्षाका कारण कागबेनी (स्थानीय बोलीचालीमा कागखोला) खोलामा बाढी आयो। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार त्यस दिन जोमसोम क्षेत्रमा परेको पानीको प्रकृति फरक छ। अघिल्लो दिन साउन २७ गते ९.२ मिलिमिटर वर्षा भएकोमा त्यो दिन २५.४ मिलिमिटर वर्षा भयो। वर्षाका कारण कागबेनीमाथि पहिरो खसेर बनेको बाँध फुटेकाले बाढी आयो।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापा मगरका अनुसार बाढीले कागबेनीका १२५ मध्ये ३० घरमा क्षति पुर्याएको थियो। तीमध्ये नौ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भए। कागबेनी प्रहरी चौकी, वडा कार्यालय, कागबेनी धर्मशाला, आम्चे अस्पताल, कागछोदे गुम्बामा पनि क्षति भयो। ३१ वटा लुलु गाई, २३ गोठ, स्याउ बगान, निर्माणाधीन पुल, सडक बगाउँदा अनुमानित ९८ करोड ९३ लाख रुपैयाँको क्षति भएको थापा मगर बताउँछन्।
थपिएको पीर
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापा मगरका अनुसार अघिल्लो वर्ष बाढीले पुर्याएको क्षतिको अझै सम्भार भइसकेको छैन। “केन्द्र सरकारले तत्कालका लागि प्रभावित व्यक्तिलाई २५ हजार उपलब्ध गरायो, त्यस बाहेक अरू केही भएको छैन,” उनी भन्छन्।
बाढीले दिएको चोट त छँदै छ। बर्खा नजिकिंदै गर्दा स्थानीय बासिन्दाको पीर पनि थपिएको छ। त्यसरी पिरोलिनेमध्ये एक हुन्, नामक्य गुरुङ। पोहोर सालको बाढीले उनको दुईतले घर भत्काएको थियो। घरसँगै आठ वटा गाई, गोठ, रक्सी पसल, रक्सी पार्ने भाँडा, स्कूटर र पुस्तैनी सामग्री बगाएको बताउँछन् उनी। “बाउबाजे बसेको ठाउँ छोड्न सकिएन,” गुरुङ भन्छन्, “भाइको घरमा शरण लिएर कागखोलाभन्दा ३०० मिटर जति टाढा नयाँ घरको जग हाल्दै छु। बाढीको डर पनि छ।”
जोखिम मोलेर नयाँ घर बनाउन थालेका गुरुङ सपनामा पनि त्यो पनि खोलाले बगाएको देख्ने गरेको बताउँछन्।
उनी जस्तै डरमा छिन्, तेन्जिङ गुरुङ (३६) पनि। कागबेनीमै होटल व्यवसाय गर्दै आएकी उनलाई पोहोर सालको बाढीमा दोस्रो तलाबाट उद्धार गरिएको थियो। बाढीले थुपारेको बालुवा उनको आँगनअघि नै छ, खोला ढोकाबाट बगेको छ। बाढीले सबै सामान बगाएपछि होटल बन्द छ। “कहिल्यै यस्तो होला भन्ने सोचिएन, चिन्ता त हुन्छ, तर छाडेर कहाँ जानु?” गुरुङ भन्छिन्।
पोहोर सालको बाढीले स्थानीय जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुर्याएको थियो। होस्टल बगाएको थियो। गुरुङका दुई छोरा त्यहीं पढ्छन्। छोराहरू स्कूलमा भएको वेला बाढी नआओस् भनेर प्रार्थना गर्ने गरेको उनी सुनाउँछिन्।
मनसुनको आगमनसँगै मुस्ताङबासीलाई बाढीको डर लाग्नुको कारण हो, त्यहाँको वर्षातमा भएको परिवर्तन। जनशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पराजुलीको अनुभवमा मुस्ताङमा पानी धेरै पर्न थालेको छ। “मुस्ताङमा बाढी नसोचेकै कुरा हो,” पराजुली भन्छन्, “यसपालि पनि पानी धेरै परिरहेको छ, खोला अहिले पनि छेउबाटै बगिरहेको छ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका मौसमविद् राजेन्द्र शर्मा हिमालपारिका जिल्लामा पनि बढी पानी पर्ने क्रम विकसित भएको बताउँछन्। त्यति मात्र होइन, वर्षातको स्वभाव पनि फेरिएको छ।
“पहिला मुस्ताङमा पानी पर्दा लामो समय लगाएर पर्थ्यो, तर अहिले एक-दुई दिनमै धेरै पर्न थालेको छ,” शर्मा भन्छन्, “धेरै सुक्खा ठाउँमा यसरी पानी पर्दा पहिरो र बाढी निम्तिन्छ।”
जोखिममा हिमालपारिका बस्ती
वन तथा वातावरण विभागले सन् २०२१ मा प्रकाशन गरेको एक आकलन अनुसार मुस्ताङ जलवायु परिवर्तनका कारण सिर्जना हुने प्रकोपबाट अति संवेदनशील क्षेत्रमा पर्छ। जलवायुविज्ञ धर्म उप्रेती पनि हिमाली क्षेत्र र हिमालपारिका जिल्लामा औसतभन्दा बढी तापक्रम बढिरहेकाले जोखिम उच्च रहेको बताउँछन्। हिमाल पग्लिएर हिम पहिरो जाने, हिम तालहरू पग्लिएर फुट्ने आदि भएकाले खतरा उच्च रहेको उप्रेती व्याख्या गर्छन्। “पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमाली जिल्लाहरू झनै जोखिममा पर्दै जान्छन्,” उनी भन्छन्।
बढ्दो तापमानले नै हिमाली र हिमालपारिका जिल्लाको चुलिंदो जोखिम संकेत गर्ने बताउँछन्, जलवायुविज्ञ सुदीप ठकुरी। उनका अनुसार तापक्रम बढेपछि सुक्खापन बढ्छ। त्यही वेला अनियमित भारी वर्षा हुँदा पहिरो र बाढीको जोखिम पनि बढ्छ। “अहिले मनाङ, मुस्ताङ क्षेत्रमा पनि तापक्रम बढेसँगै धेरै ठाउँ सुक्खा भएका छन् जहाँ पानी पर्दा जमीनले पानी सोस्न सक्दैन,” ठकुरी भन्छन्, “त्यसैले पहिरो र बाढीको सम्भावना धेरै हुन्छ।”
मौसमविद् राजेन्द्र शर्माका अनुसार हिमाली जिल्लामा हिउँ पर्ने दर घटेकाले पनि जोखिम बढेको हो। शर्मा भन्छन्, “हिमाली जिल्लामा हिउँ परिरहने भएको भए यसले जमीनलाई सुक्खा राख्दैनथ्यो र भारी वर्षा हुँदा पनि पहिरोबाट जोगाउँथ्यो, तर अहिले हिमाली बस्तीमा हिउँ घट्यो, वर्षा बढी हुन थाल्यो।”
देशभरि नै जोखिम
मुस्ताङको बाढी मनसुनजन्य विपद्को पछिल्लो उदाहरण हो। २०७० सालदेखि २०७९ चैतसम्मको तथ्यांक हेर्ने हो भने देशैभर मनसुनमा विपद् बढेको पाइन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रकाशित ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८०’ अनुसार गत १० वर्षमा एक हजार ५०० वटा बाढी, दुई हजार ५०० वटा पहिरो र एक हजार ५४९ वटा उच्च वर्षाका घटना भएका छन् (हेर्नुहोस् ग्राफिक्स)।
यी घटनाका कारण दुई हजार १४१ जनाले ज्यान गुमाए जसमध्ये पहिरोमा परी ज्यान गुमाउने धेरै छन्। १८ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको सरकारी आँकडा छ।
पछिल्लो १० वर्षमा भएको क्षति र मृत्युका यी विवरणले मनसुनजन्य विपद्को चुनौती देखाउँछ। जलवायुविज्ञ उप्रेती पनि एक दशकयता मौसमी विपद्का घटना बढेको स्विकार्छन्। उनका अनुसार २०७८ सालमा सुदूरपश्चिम, मनाङ र मेलम्चीमा आएको बाढी होस् वा पोहोर साल मुस्ताङको बाढी, सबै मौसमी विपद्का घटना हुन्। जलवायु परिवर्तनका कारण यस्ता घटनाको दर बढेको उनको विश्लेषण छ।
विश्व तापमान वृद्धि हुँदा समुद्री सतहको औसत तापक्रम पनि बढेको छ। “नेपालमा हुने वर्षा अरब सागर र बंगालको खाडीको वायुले ल्याउने हो,” उप्रेती भन्छन्, “समुद्रको तापमान वृद्धिले पनि वर्षाको मात्रा बढाएर यस्ता घटना हुने गरेका छन्।”
अब शुरू हुने मनसुनमा यस्ता घटना बढ्ने जोखिम अझ उच्च छ, किनभने जल तथा मौसम विज्ञान विभागले यस पटक सरदरभन्दा बढी पानी पर्ने आकलन गरेको छ।
छैन तयारी
पोहोर सालको बाढीले बगाएर ल्याएको गेग्य्रान अहिले पनि कागबेनीमा जस्ताको तस्तै छ। मनसुनी विपद्ले केसम्म गर्न सक्छ भन्ने एउटा सानो संकेत मात्र थियो यो। तर सम्भावित जोखिमको सामना गर्न आवश्यक पूर्व तयारी नभएको स्थानीय बासिन्दा सुनाउँछन्।
त्यसको एक उदाहरण हो, कागबेनीको जनशान्ति माध्यमिक विद्यालय। अहिले विद्यालय खोलाको नजिकै छ। “कुनै पनि वेला बाढीले विद्यालय बगाउन सक्छ, हामी जोखिममा छौं,” प्रधानाध्यापक पराजुली भन्छन्, “विद्यालयको स्थानान्तरणका लागि पालिका र प्रदेशसँग कुरा भए पनि सम्भव भएको छैन।”
यो अवस्था कागबेनीको मात्रै होइन, देशैभर नै पूर्व तयारी शून्यप्रायः छ। जलवायुविज्ञ उप्रेतीका अनुसार मनसुनजन्य विपद्को पूर्व तयारी भनेको जोखिममा रहेका बस्ती हटाउने र धनजनको सुरक्षा गर्ने हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव राजेन्द्रराज शर्माका अनुसार विपद्को सामना गर्न संरचनामै सुधार गर्नुपर्छ।
दीर्घकालीन र अल्पकालीन सुधारका उपायहरू भए पनि तीनै तहका सरकारले आवश्यक पूर्व तयारी गरेको भने पाइँदैन। बरु विपद्पछिको मानवीय सहयोगमै सरकार केन्द्रित भएको देखिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव डिजन भट्टराई भन्छन्, “मनसुन शुरू हुँदै छ, पूर्व तयारीमा लागेका छौं, खाद्यान्न, औषधि, टेन्ट, सडक व्यवस्थापन, विद्युत् आपूर्ति, टेलिफोन लगायत व्यवस्थापनका निम्ति सम्बन्धित मन्त्रालयलाई जानकारी गराउँदै छौं।”
विपद्को पूर्व तयारीको मुख्य जिम्मेवारी भने स्थानीय तहले लिनुपर्ने तर्क छ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको। “वार्षिक रूपमा विपद्ले गर्ने क्षतिलाई प्राधिकरणको स्रोतले व्यवस्थापन गर्न भ्याउँदैन,” पोखरेल भन्छन्, “यस्ता क्षतिलाई अब स्थानीय सरकारले पनि व्यवस्थापन गर्नुपर्छ, तर ऊ आफै सक्षम नभएको गुनासो पोखेर हाम्रै मुख ताक्छ।”
तर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापा मगर यस्तो क्षति स्थानीय तह एक्लैले भरथेग गर्न नसक्ने बताउँछन्। कागबेनीको उदाहरण दिंदै उनी भन्छन्, “बर्खा लाग्दै छ, तत्काल तटबन्ध लगाउन आवश्यक छ, तर त्यसका लागि हामीसँग स्रोत र जनशक्ति दुवै पुग्दैन।”
यो पनि पढ्नुहोस् : सेतीसँग जुध्न कति तयार छ पोखरा?