माधव नेपालको राजनीतिक प्रतिवेदन- अहिलेको राजनीतिक समीकरण बदलिन सक्छ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुन सक्ने बताएका छन्।
एकीकृत समाजवादीको सोमबार बसेको पोलिटब्यूरो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेको सत्ता समीकरण बदलिन सक्ने बताएका हुन्। उनले अहिलेको समीकरण तात्कालिक सहकार्य मात्रै भएको उल्लेख गरेका छन्।
नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘अहिले हामी संसद्भित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा पनि छौं। यो समीकरण संयुक्त मोर्चा होइन, तात्कालिक राजनीतिक सहकार्य मात्र हो।’
यो समीकरण दीर्घकालीन नभएकाले बदलिन सक्ने उनले जनाएका छन्। ‘यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन, तात्कालिक राजनीतिक सहकार्य मात्र हो,’ नेपालले प्रतिवेदनमा भनेका छन्, ‘त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ।’
त्यस्तै, उनले तत्काल वाम एकताको सम्भावना पनि नभएको जनाएका छन्। एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालसँग एकताका लागि पहल पनि गरेको थियो। तर अहिले एकताको सम्भावना नरहेको नेपालको भनाइ छ।
‘माओवादी र जसपा लगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौं,’ प्रतिवेदनमा भनिएको छ, ‘यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने, अहिले तत्काल कम्युनिस्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन।’
पोलिटब्यूरो बैठकमा प्रस्तुत गरिएको ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमको पनि समीक्षा गरेका छन्। उनले एकीकृत समाजवादी नीतिप्रधान पार्टी भएको उल्लेख गरेका छन्।
नेपालले भनेका छन्, ‘यो पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुनेछ। पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्यपद्धति अवलम्बन गरिनेछ।’
पोलिटब्यूरोमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन आगामी महाधिवेशनका लागि तयार गरिएको हो।