खरमजुरको खोजी
पछिल्लो समय बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाडेको खरमजुर कोशीटप्पु र शुक्लाफाँटामा पनि विरलै देखिन्छ।
अमेरिकी चरा अवलोकनकर्ता रोबर्ट डाउसेट गत चैतमा काठमाडौं ओर्लिए। उनी कोशीटप्पु वन्यजन्तु आरक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने खरमजुर हेर्न नेपाल आएका थिए। ८० वर्षीय रोबर्ट खरमजुर हेर्न लालायित थिए।
त्यसैले काठमाडौंबाट सीधै कोशीटप्पु वन्यजन्तु आरक्ष पुगे। उनले त्यहाँ १० दिन बिताए। सौभाग्यले खरमजुर देख्न त पाए, तर तस्वीर खिच्न भ्याएनन्।
चरा देख्नै पाउँदा पनि उनले आफूलाई धन्य ठानेको सँगै रहेका कोशी पन्छी समाजका चक्र तिमिल्सिना सुनाउँछन्। “खरमजुरकै लागि १० दिन कोशी टप्पुमा बसे। तस्वीर खिच्न नपाए पनि खरमजुर देख्दा खुशी भए,” तिमिल्सिना भन्छन्, “आफ्नो ‘ड्रीम बर्ड’ हेर्न पाउँदा औधी रमाएका थिए।”
बस्दा कालो देखिने खरमजुरको भाले उडेपछि पखेटाले गर्दा सेतो देखिन्छ। हावामा कावा खाँदा भने बडो आकर्षक हुन्छ। पोथी भने खैरो रङको हुन्छ। चैत-वैशाखमा घाँसे मैदानमा बच्चा कोरल्न आउँछ।
यस चराको प्रेमसम्बन्ध प्रगाढ मानिन्छ र प्रायः जोडी सँगै हुन्छन्। घाँसे मैदानमा बस्ने खरमजुरको रङ पनि घाँस जस्तै लाग्छ। साँझ-बिहान चरिरहेको देख्न सकिन्छ।
“चैत-वैशाखदेखि बर्खा शुरू हुनुअघिको अवधि खरमजुरको प्रजननका उत्तम समय हो,” पन्छीविद् डा. हेमसागर बराल भन्छन्, “यस वेला मैदानका घाँस पनि होचा हुन्छन् र देख्न सजिलो हुन्छ।”
त्यही मौका छोपेर चैत-वैशाखमा खरमजुर गणना गर्ने गरिन्छ। कोशीटप्पु आरक्षमा हालै गरिएको गणनामा खरमजुरको संख्या बढेको पाइएको छ। यस वर्ष गणना गर्दा ३२ वटा खरमजुर देखिएका छन्। गत वर्ष भने २४ वटा देखिएको कोशी पन्छी समाजका अध्यक्ष तिमिल्सिना बताउँछन्। त्यसभन्दा अघि सन् २०२१ मा गरिएको गणनामा २१ वटा खरमजुर भेटिएका थिए।
नेपाल पन्छी संघको समन्वयमा आठ दिन लगाएर गरिएको गणनामा चराविज्ञ तथा संरक्षणकर्मी गरी ३० जना सहभागी थिए। नेपाल पन्छी संघका मोहनविक्रम श्रेष्ठको नेतृत्वमा भएको गणनाका क्रममा कोशीटप्पु क्षेत्रको घाँसे मैदान बाहेक भागलपुर, सिसौलीघाट, पथरी र प्रकाशपुर क्षेत्रमा खरमजुर भेटिएको हो।
वनमै पाइने फल र कीरा यसका मुख्य आहारा हुन्। गोबरमा पाइने कीरा खान यो चरा वन्यजन्तु रहेको ठाउँतिर आउने गर्छ। “प्रजननको मौसममा भालेले पोथीलाई आकर्षित गर्न घाँसमा उफ्रने, उड्ने गर्छ,” पन्छीविद् कृष्ण भुसाल भन्छन्, “अरू वेला यो उड्नेभन्दा बढी हिंड्ने नै गर्छ।”
संरक्षणका हिसाबले मात्रै होइन, पर्यटनका दृष्टिले पनि यस चराको संरक्षण गर्नुपर्ने तिमिल्सिना बताउँछन्। विदेशी चरा अवलोकनकर्ता यही चरा हेर्न नेपाल आउने गरेका छन्। तर दुर्लभ खरमजुरको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्न सकेको छैन।
कोशीटप्पुमा यसको संख्या नबढ्नुको एउटा कारण घाँसे मैदान क्षेत्रमा सुक्खा याममा लाग्ने डढेलो हो। नेपालको महत्त्वपूर्ण चरा क्षेत्रका रूपमा रहेको कोशीटप्पुका सिम क्षेत्र, ताल र साना खोल्सा सुक्दै जाँदा पनि पन्छीको वासस्थान संकुचनमा पर्दै गएको छ। “घाँसमा गुँड बनाएर पोथी ओथारो बसेका वेला शिकारी पन्छी, स्याल तथा बिरालाले खरमजुरलाई आहारा बनाउने गर्छन्,” तिमिल्सिना भन्छन्।
सबैभन्दा बढी घाँसे मैदानमा अतिक्रमण भइरहेकाले पनि वन्यजन्तु तथा चराचुरुंगी संकटमा पर्न थालेको विज्ञ बताउँछन्। “घाँसे मैदानको खण्डीकरण, संकुचन तथा विनाश हुँदा कोशीटप्पुमा पाइने विश्वमै दुर्लभ १३ र राष्ट्रिय रूपमा संकटापन्न २५ प्रजातिका चराले संकट झेलिरहेका छन्। खरमजुर तिनीहरूमध्ये एक हो,” पन्छीविद् भुसाल भन्छन्।
सन् २०१२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले ‘स्याटेलाइट ट्यागिङ’ गरेर खरमजुरको अध्ययन गरेको थियो। त्यस क्रममा करीब ८० किलोमिटर दूरीमा जनघनत्व कम रहेको र धेरै खेतीपाती नगरिएको क्षेत्रमा स्थानान्तरण हुने गरेको देखिएको थियो। धेरैजसो चराले यस्ता स्थानमा वर्षको ६ महीनाभन्दा बढी समय बिताएको पाइएको थियो।
यो चरा प्रजननको समयमा भने मन पर्ने स्थानमा फर्किने विज्ञहरू बताउँछन्। “चराको आफ्नै एउटा मन पर्ने स्थान हुन्छ, तसर्थ टाढा कतै संरक्षित क्षेत्र बाहिर गए पनि प्रजनन समयको शुरूआत चैतसम्म हरेक वर्ष एउटै ठाउँमा फर्किएर आफ्नो विशिष्ट नाच ‘कला’ देखाउँछन्,” भुसाल भन्छन्।
खरमजुरको प्रजनन अवधि चैतदेखि असारसम्म हो। प्रजनन अवधि बाहेकको समयमा पानी परेपछि घाँस अग्लो-अग्लो हुने भएकाले संरक्षित क्षेत्र छाडेर बाहिर जाने गरेको पन्छीविद् हेमबहादुर कटुवाल बताउँछन्। त्यसैले खरमजुरको संरक्षण गर्न घाँसे मैदानको उचित व्यवस्थापनमा उनी जोड दिन्छन्। उनका अनुसार सन् २०१२ मा गरिएको एक अध्ययनको निचोड पनि यस्तै थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लागू गरेको ‘खरमजुर संरक्षण कार्ययोजना (२०१६-२०२०)’ ले पनि घाँसे मैदान व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। यसका साथै संरक्षित क्षेत्र बाहिरको मानव बस्तीमा पनि जाने यो चरा जोगाउन मध्यवर्ती क्षेत्रका बासिन्दासँग संरक्षण कार्यक्रम गर्न जरुरी भएको भुसाल बताउँछन्।
कोशी पन्छी समाजका अध्यक्ष तिमिल्सिना खरमजुर संरक्षणमा सबैभन्दा ठूला चुनौती नै वासस्थान विनाश भएको बताउँछन्। “जथाभावी लाग्ने आगलागी खरमजुरलाई काल बनिरहेको छ,” उनी भन्छन्, “अव्यवस्थित वासस्थान नै खरमजुर संरक्षणमा सबैभन्दा ठूलो चुनौती हो।”
सुक्खा मौसममा नै खरमजुरले बच्चा कोरल्ने गर्छ। अझ भुइँमा बनाउने गुँड सुरक्षित नहुने भएकाले पनि चुनौती थपिएको विज्ञ बताउँछन्। कोशीटप्पुमा भने अव्यवस्थित बस्तुभाउको चरिचरनले गुँड नासिने भएकाले पनि खरमजुर जोगाउन मुश्किल छ।
कुनै वेला चितवन राष्ट्रिय निकुञ्जमा पनि खरमजुर पाइन्थ्यो। अहिले चितवनबाट लोप भइसकेको छ। निकुञ्ज निर्माणदेखि नै खटिएका संरक्षणकर्मी रामप्रित यादव पानीमा हुने डल्फिन, ओत जस्ता प्राणी तथा चरा प्रजाति घट्दै गएको सुनाउँछन्। “पहिला चितवनमा खरमजुर राम्रै संख्यामा थियो,” निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत यादव भन्छन्, “सुखीबार र डुमरियाका घाँसे मैदानमा आठ-दश वटा एकै ठाउँमा देख्न पाइन्थ्यो, तर अचेल देखिन छाडेको छ।”
विगतमा चितवन निकुञ्जमा गैंडा, बाघको मात्र गणना हुने गरेको थियो। पन्छी गणना नहुने गरेकाले त्यति वेला खरमजुर कति हुन्थे भन्ने यकीन नभएको यादवको भनाइ छ।
नेपालमा खरमजुरको संख्या १०० को हाराहारीमा रहेको अनुमान छ। तर पछिल्लो समय चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज लगायत संरक्षित क्षेत्रमा देखिन छोडेको छ। यो चरा लोपोन्मुख हुनुको एउटा कारण खेतबारीमा हालिएको विषादी खाएर मरेका किराफट्यांग्रा खानु हो। “घाँसे मैदान घट्दै जानु र प्राकृतिक रूपमै भाले र पोथीको सन्तुलित संख्या नहुँदा पनि खरमजुरको संख्या घटेको हो,” चराविद् डा. बराल भन्छन्।
हाल नेपाल, भारत, कम्बोडिया र भियतनाममा मात्रै पाइने खरमजुरको कुल संख्या एक हजारभन्दा कम रहेको अनुमान छ।संख्याका हिसाबमा भारत पहिलो, कम्बोडिया दोस्रो र नेपाल तेस्रोमा आउने गरेको बराल बताउँछन्। केही दशकअघि बाङ्लादेशमा पनि पाइने खरमजुर पाइन्थ्यो। अहिले भने त्यहाँबाट लोप भइसकेको छ।
नेपालमा पनि खरमजुरको वासस्थान खुम्चिएर कोशीटप्पु र शुक्लाफाँटामा सीमित बनेको छ। संरक्षणमा ध्यान नदिने हो भने नयाँ पुस्ताले खरमजुर देख्न पनि पाउनेछैन।