आगलागी र डढेलोबाट एक महीनामै २६ जनाको मृत्यु
आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ज्यान गुमाएका छन्।
वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर आगलागी र डढेलोका घटना बढेका हुन्। जसले गर्दा देशभर धनजनको क्षति भएको छ।
यस महीनामा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीमा परी २० जनाको ज्यान गएको छ भने ७३ जना घाइते भएका छन्।
त्यस्तै, डढेलोमा परी ६ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित छन्।
यस अवधिमा चट्याङबाट आठ जना, लेक लागेर दुई जना, बाढी र जनावरको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको छ। वन तथा भू-संरक्षण विभागले दिएको जानकारी अनुसार वैशाखमा यति धेरै डढेलोका घटना भएको यो पहिलो चोटि हो। नेपालमा खासगरी माघदेखि जेठसम्म आगलागी र डढेलोका घटना हुने गरेका छन्।
नेपालमा विशेषगरी तराई र भित्री मधेशका जिल्लामा डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले बताए। यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि डढेलो धेरै देखिएको श्रेष्ठको भनाइ छ।
डढेलो लाग्नुका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानीजानी आगो लगाउने गरेका छन्। वनजंगलमा मानिस वनभोज खान जाने र आगो त्यत्तिकै छोड्दा हुने आगलागी हुने गरेको छ। त्यस्तै, बिंडी, चुरोटका ठूटाबाट समेत डढेलो सल्किने गरेको उनले बताए।
स्थानीयले कतिपय संरक्षित क्षेत्रमा प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ। पछिल्लो समय जलवायु परिवर्तनका कारणले पनि डढेलोका घटना बढेको पाइएको जनाइएको छ। -रासस
यो पनि पढ्नुहोस् :