प्रधानमन्त्रीद्वारा चन्द्रागिरी केबलकारको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहालले दृढ इच्छाशक्ति भए धेरै काम गर्न सकिन्छ भन्ने कुरा चन्द्रगिरि केबलकारको निर्माणले पुष्टि गरेको बताएका छन् ।
चन्द्रगिरि हिल्स लिमिटेडद्वारा सञ्चालित केबलकारको ३० मंसिरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विभिन्न चुनौती र कठिनाइ भए पनि निर्धारित समयमा नै केबलकारको निर्माण हुनु सबैका लागि प्रेरणादायी भएको बताए । सरकार निजी क्षेत्रसँग नयाँ उचाइका साथ साझेदारी गर्न तयार भएको बताउँदै उनले भने, “चन्द्रगिरि केबलकार जस्तै नेपालका धेरै पहाडमा पर्यटनका नयाँ गन्तव्य निर्माणको सम्भावना छ ।”
कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले जलविद्युत्, कृषि र पर्यटनका क्षेत्रमा लगानी बढाएर मात्र मुलुकको समग्र विकास गर्न सकिने बताए । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले मुलुक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास प्रमुख आधार हो भन्दै त्यसका लागि वन क्षेत्रलाई जोड्नु आवश्यक भएको बताए ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले दुर्गम पहाडको डाँडामा निर्माण भएको चन्द्रागिरि केबलकार निजी क्षेत्रका लागि काम गर्न प्रेरणादायी भएको बताए ।
कार्यक्रममा लिमिटेडका अध्यक्ष चन्द्र ढकाल, सञ्चालकत्रय अम्बिकाप्रसाद पौडेल, मीनबहादुर गुरुङ र हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष भवानी राणालगायतले सरकारले काम गर्ने वातावरण बनाइदिए निजी क्षेत्रले अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
२०६६ मा केबलकार निर्माणको काम सुरु भई हालै मात्र सम्पन्न भएको हो । चार महिनाअघिदेखि अनौपचारिक रुपमा सुरु भएको केबलकारमा आजसम्म दुई लाख २५ हजारभन्दा व्यक्तिले यात्रा गरिसकेका छन् ।