ज्ञानमणि नेपाल अस्वस्थ
ऐतिहासिक ज्ञानमणि नेपाल अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या आएर वैशाख २१ गतेयता उनी अस्पतालमा उपचाररत रहेको परिवारजनले बताएका छन्। रुघाखोकी र ज्वरोले गलाएपछि उनलाई सिभिल अस्पताल लगिएको थियो।
मुटुमा पनि समस्या देखिएपछि त्यसै दिन मनमोहन कार्डियोथोरासिक सेन्टर, महाराजगन्ज रेफर गरिएको थियो। सेन्टरको सीसीयू कक्षमा उनको उपचार भइरहेको छ।
नेपालका छोरा सन्तोष नेपालका अनुसार मुटुको चाल बढ्ने र घट्ने भइरहेको छ। यसका साथै दुवै मिर्गौलामा समस्या आएर तीन पटक डायलासिस गराइसकेको सन्तोषले जानकारी दिए। विगतमा उनलाई मिर्गौलामा संक्रमण भएको थियो।
छोरा सन्तोषका अनुसार ९२ वर्षीय बुबाको शरीर शिथिल भए पनि बोली भने टाठो नै छ। “स्मरणशक्ति पहिले जस्तै तेज छ। यस्तो बिरामी हुँदा पनि उहाँको टाठो बोली सुनेर डाक्टरहरू नै चकित परे,” उनले भने।
नेपालको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले उनलाई हृदयाघात भएर अस्पताल ल्याइएको र यसका कारण विभिन्न अंगमा समस्या आएको बताए। “हृदयाघातका कारण मिर्गौलामा समस्या आएर डायलासिस गराउँदै छौं। फोक्सोमा निमोनियाको संक्रमण भएको छ। रक्तचाप कम भएकाले बढाउने औषधि चलाइएको छ,” डा. देवकोटाले भने, “विभिन्न अंगमा क्षति भएको र उमेरगत हिसाबले पनि स्थिति जटिल देखिएको छ।”