सहकारी ठगीमा कारबाही नहुँदासम्म पछि नहट्ने कांग्रेसको निष्कर्ष
नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न व्यक्तिलाई कारबाही नहुँदासम्म पछि नहट्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सहकारी ठगी प्रकरणलाई अझ जोडतोडले उठाउने तय गरेको छ। बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सहकारी ठगीमा संलग्न व्यक्तिलाई कारबाही नहुँदासम्म यस विषयमा सम्झौता नहुने बताए।
सहकारी ठगी आमनागरिकको मुद्दा भएकाले छोड्न नमिल्ने उनको भनाइ थियो। “सहकारी ठगीमा कांग्रेसले सम्झौता गर्न सक्दैन,” प्रवक्ता महतले भने, “अब नेपाली कांग्रेसको मात्रै मुद्दा रहेन, यो जनताको मुद्दा हो।”
लाखौं बचतकर्ता सहकारीबाट पीडित भएकाले उनीहरूलाई न्याय दिनुपर्ने महतले बताए। यसमा संलग्न जोसुकै व्यक्तिलाई पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो। “यो व्यक्तिविशेषको विषय होइन, रवि लामिछाने विशेष जिम्मेवारी प्राप्त व्यक्ति हुनुहुन्छ,” महतले भने, “गृहमन्त्रीले सहकारी ठगीको अनुसन्धान प्रभावित पारेकाले, तथ्य लुकाउन खोजेकाले संसदीय छानबिन आवश्यक भएको हो।”
यसमा गृहमन्त्री लामिछानेसँगै सरकारमा सहभागी दलका नेतामाथि पनि शंका उत्पन्न भएको उनको भनाइ थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि लामिछानेको बचाउमा लागेको प्रसंग निकाल्दै महतले भने, “सहकारी ठगीमा अन्य पार्टीको पनि संलग्नता छ कि भन्ने आशंका छ। सहकारीमा सबैभन्दा ज्यादा त एमालेकै प्रभुत्व छ नि!”
त्यस्तै, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि सहकारी ठगीको विषयमा पछि नहट्ने बताए। पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भने, “सहकारीका ठगलाई कारबाही नगर्दासम्म पछाडि हट्दैनौं।”
अब जुनसुकै पार्टी र नेताले जोगाउन खोजे पनि यो विषय नरोकिने उनको भनाइ थियो। “लाखौं रुपैयाँ बचत गरेका मान्छे सहकारीबाट ठगिएका छन्,” लेखकले भने, “सहकारीका ठग बचाउनका लागि जुनसुकै पार्टी र जो नेता लागे पनि हाम्रो पार्टी पछि हट्दैन।”
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई संसद्मा प्रस्तुत गर्न दिने विषयमा पनि कांग्रेस लचक देखिएको छैन। जेठ १ मा राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।
यस विषयमा सोधिएको प्रश्नमा कांग्रेस प्रमुख सचेतक लेखकले भने, “नीति तथा कार्यक्रमका विषय सरकारले जान्ने कुरा हो।”
कांग्रेस प्रवक्ता महतले भने सरकारले नै नीति तथा कार्यक्रम रोक्न खोजेको आरोप लगाए। “सरकार नै नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुनबाट रोक्न चाहिराखेको देखिन्छ,” महतले थपे, “नीति तथा कार्यक्रम मात्रै होइन, बजेटमा पनि छलफल नहोस् भन्ने सरकारले चाहेको देखिन्छ।”
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने लगायतमाथि छानबिनका लागि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। यस विषयलाई लिएर कांग्रेसले संसद् अवरुद्ध पारेको थियो।