लिम्बूका नीति-स्मृति
गोरखाली शासकको धर्म-संस्कृति स्विकार्ने स्मृति समूहका लिम्बूप्रति उदार राज्यले मुन्धुम मान्ने नीति समूहलाई कडा दण्ड-जरिवाना तोकेको थियो।
प्राचीन कालमा गंगा-यमुनाबीचका मैदानमा परेको मध्यदेशमा लेखिएका स्मृति अनुसार समाज चलाइँदा जातीय विभेदका खाडल देखा परे। यस्तो विभेद फरक जातिमा मात्र नभएर एउटै जातिभित्र पनि हुर्किंदै गयो। जस्तो- ब्राह्मणभित्रै पनि ब्राह्मणीलाई जारी विवाह गरेर ल्याउनु र विधवा ब्राह्मणीलाई फकाई पत्नी बनाउनुलाई स्मृतिले ‘पाप’ भनेको छ। जारी विवाहबाट जन्मिएका सधवा ब्राह्मणीका सन्तानलाई ‘कुण्ड’ र विधवातिरका सन्तानलाई ‘गोलक’ भनिएको छ।
मनुस्मृतिमा यस्ता कुण्ड र गोलकलाई देवकार्य र पितृकार्यमा वर्जित मानिएको छ। अर्थात् बाबुआमाले गरेको ‘पाप’ को भागीदार छोराछोरीलाई पनि बनाइएको छ।
स्मृतिले तोके बमोजिम उपाध्याय ब्राह्मणले वेद पढ्ने-पढाउने, यज्ञ गर्ने-गराउने, दान लिने-दिने गर्ने भए। कुण्ड र गोलकलाई भने यस्ता काम गर्न दिइएन। उनीहरूले ज्योतिषी बनेर गुजारा चलाउने नियम तोकियो। त्यही ज्योतिषी शब्द अपभ्रंश भई जैसी हुन पुग्यो (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी -२०६१ः५१९-२०)।
ब्राह्मणभित्र उपाध्यायले जैसीलाई आफ्नो वर्गमा नराखे जस्तै क्षत्रियहरूले पनि खसलाई प्रत्यक्ष रूपले आफ्नो समाजमा लिएका थिएनन्। तापनि खसिनीतिरका सन्तान क्षत्रिय हुन्थे। यस्तै ब्राह्मण र क्षत्रिय महिलाबाट जन्मिएका सन्तानलाई हमाल र खत्रीका रूपमा क्षत्रिय बनाउने नियम चल्यो। यही प्रभाव अन्य जातिमा पनि पर्न थाल्यो र तिनमा पनि आन्तरिक जातीय विभेद शुरू भयो। गुरुङमा चार जात र सोह्र जात, तामाङमा बाह्र जात र अठार जात अनि सुनुवारहरूमा दश थर र बाह्र थर देखा परे (बाबुराम आचार्य, पूर्णिमा पूर्णांक ४९-असोज २०३८ः१६)।
कुनै समय आन्तरिक विभेदमा रहेका गुरुङ, तामाङ र सुनुवारमा अहिले त्यस्तो विभेद हटिसकेको छ। गुरुङमा यस्तो विभेद हटाउने पहल कर्णेल लछमन गुरुङले गरेका थिए। उनले विसं १९२४ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट एक सनद जारी गर्न लगाएर यस्तो झगडाको अन्त्य गराएको जनकलाल शर्माको हाम्रो समाज एक अध्ययन (२०७५ः२८९-९०)मा पढ्न पाइन्छ।
यस प्रकारको आन्तरिक विभेद लिम्बूहरूमा पनि थियो, एक समय। उनीहरूलाई ‘नीति’ र ‘स्मृति’ समूहमा विभाजन गरिएको थियो। को कुन समूहमा बस्ने, आफैंले रोज्न पाउँथे। स्मृति समूह राज्यसँग निकट देखिन्थ्यो भने नीति समूहप्रति राज्य अनुदार देखिन्थ्यो। स्मृति समूह सांस्कृतिक रूपमा राज्यले अपनाएका नीतिसँग निकट थियो। नीति समूह चाहिं परम्परागत जातीय नियमप्रति प्रतिबद्ध थियो।
चेम्जोङको मौनता
ब्रिटिश लाइब्रेरीमा ‘हड्सन पेपर’ अध्ययन गरेपछि इतिहासकार एवं संस्कृतिविद् रमेश ढुंगेलले लिम्बूहरूमा कुनै वेला नीति र संपृति समूह रहेको उल्लेख गरेका छन्। यसबाट तत्कालीन राज्यले लिम्बूहरूलाई विभाजन गर्न कस्तो भूमिका खेलेको थियो भन्ने इतिहास खोतल्न पनि मद्दत पुग्छ।
इतिहासकार इमानसिंह चेम्जोङले पनि ‘हड्सन पेपर’ को गहिरो अध्ययन गरेका हुन्, तर उनले आफ्नो इतिहास लेखनमा किन हो, यी दुई समूहबारे कहींकतै उल्लेख गरेको पाइँदैन। लिम्बू समुदायकै उनले हड्सन सामग्रीको पहिलो अनुवाद सन् १९६२ मा गरेका थिए। तर त्यसमा अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण यस ऐतिहासिक घटनाको परिच्छेद हटाइदिएका छन्। पञ्चायती शासनकालको आश र त्रासका कारण पहिलेका ‘संपृति’ हरू जस्तै भएर इतिहासको एउटा महत्त्वपूर्ण राजनीतिक सांस्कृतिक द्वन्द्वयुक्त घटनाबारे यथार्थ ज्ञान दिने/दिलाउने काममा चेम्जोङ चुकेका हुन सक्छन् (डा. रमेश ढुंगेल, हिमाल पूर्णांक १६६, १६-२९ फागुन-२०६२ः६१)।
उक्त सामग्री प्रकाशमा ल्याइँदा लिम्बूहरूमा फूट सिर्जना हुन सक्ने ठानेर पनि चेम्जोङले लुकाएका हुन् कि? जे होस्, यस सन्दर्भमा मौन बसेर इतिहासकार चेम्जोङ चुकेकै हुन्।
संपृति होइन, स्मृति
ढुंगेलले लिम्बूका दुई समूहमध्ये एउटालाई संपृति भनेका छन् जुन स्मृति रहेको तथ्य प्रमाणहरूले देखाउँछन्। ढुंगेलले ‘हड्सन पेपर’ को पुरानो लेखोट मात्र हेरेको र त्यसलाई अन्य उपलब्ध सामग्रीसँग नदाँज्दा यस्तो पर्न गएको देखिन्छ।
ढुंगेल (२०६२ः६०)ले गोरखाली शासकहरूले आफ्नो शासन र धर्म-संस्कृति स्विकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् ‘समरीति’ र लिम्बू धर्म-संस्कृति नछोडी आफ्नै नीतिमा अडिग रहने विद्रोही लिम्बूलाई ‘नीति’ समूहका रूपमा चिन्ने/चिनाउने चलन चलाइदिएको जनाएका छन्। यसका लागि उनले ‘संपृति’ शब्दको व्याख्या गर्दै यसको अर्थ ‘समरीति’ अर्थात् राज्यसँग समान रीति भनी लगाएका छन्। मतलब, हड्सनका लागि जसले कागजपत्र लेखेर वा खोजेर सहयोग पुर्याए, उनीहरूले लेखेको अशुद्ध शब्दलाई नै ढुंगेलले यताउता नगरी व्याख्या गरेको देखिन्छ।
जबकि ढुंगेलले भन्दा सात वर्षअघि इतिहासकार ज्ञानमणि नेपालले नीति र स्मृति समूह गरी लिम्बूहरू दुई फ्याकमा विभाजित भएको एउटा पत्र प्रकाशन गरेका थिए। तत्कालीन मुख्तियार भीमसेन थापाले धनकुटा काजमा खटिएका काजी बहादुर भण्डारीलाई विसं १८७५ फागुन वदी ६ रोज ३ मा लेखेको पत्रमा ‘एकै मुलुकमा कोही नीति कोही स्मृति मान्या दुई फ्याक् भै रह्याछन् तसर्थ तिमीले लिम्बू किराती गैह्र छ थर दस थर सबै बाटुला गरी बुझनु र सबैको एक मतो नीति स्मृति क्यामा हुन्छ सो विस्तार लेषनु एक वाक्य भयेन भन्या पनी एति नीति एति स्मृतिमा राजी छन् भन्या कुरा लेषनु’ भन्ने उल्लेख छ (ज्ञानमणि नेपाल, नेपालनिरुपण-२०५५ः२६९-७०)।
स्मृति समूह रहेको प्रमाणका रूपमा अर्को एक रुक्काको सक्कल नै उपलब्ध छ जुन १८९७ असोज सुदी ७ रोज ६ मा तत्कालीन राजाबाट जारी भएको त्यसमा लेखिएको छ। यसैले लिम्बूका दुई समूहमा एउटा नीति र अर्को स्मृति नै हो भन्न कठिनाइ छैन।
लन्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित, ब्रायन हड्सनको संकलनमा रहेको सामग्रीको खण्ड ६० पत्र १२९-१४९ मा उल्लेख भए अनुसार स्मृति समूहमा फागु (फागो चोङवाङ), सिरिङ (सेरेङ) र युङ्याहाङ (योङहाङ) छन् भने नीतिमा आङ्वोहाङ र साँवाहरू छन् (ढुंगेल, २०६२ः६०)। नेपाल (२०५५ः२७०)ले प्रकाशित गरेको पत्रमा पनि ‘हामी स्मृतिमा राजी छौं भनी फागु सिरिंग्या गैरह दर्बारमा बिन्ती गर्न आइरह्याछन्’ भन्ने परेकाले सिरिंग्या अर्थात् लिम्बूभित्रको सेरेङ फागो चोङबाङहरू स्मृति समूहमा थिए भन्ने स्पष्टै देखिन्छ।
गोरखाली होइन, सेनकालीन
लिम्बूहरू कहिलेदेखि नीति र स्मृति समूहमा विभाजित भए भन्ने सन्दर्भमा ढुंगेलले गरेको अनुमानबारे पनि विचार गर्न आवश्यक देखिन्छ।
ढुंगेल (२०६२ः६०-६१)ले लिम्बूवान इलाका हत्याउने क्रममा तात्कालिक गोर्खाली शासक र तिनका सैनिक प्रशासकले अपनाएको ‘फुटाऊ र शासन गर’ को नीति अनुसार यी शब्दको उद्भव र प्रचलन भई लिम्बूहरूमा दुई समूह देखा परेको दाबी गरेका छन्। उनका अनुसार यी समूहगत नामको प्रचलन कम्तीमा हड्सनको समयभन्दा पहिले अर्थात् सन् १८४०-५० (वि.सं. १८९७-१९०७) भन्दा एक-दुई पुस्ताअघिदेखि नै चलेको बुझिन्छ।
यस हिसाबले एक पुस्तालाई २५ वर्षको अवधि मान्दा र दुई पुस्ता परकै गणना गर्दा पनि १८औं शताब्दीको ४० वा ५० को दशकदेखि लिम्बूहरूमा नीति र स्मृति समूह चलेको अर्थ लाग्छ। तर यो प्रचलन सेनकालमै रहेको संकेत इतिहासकार नेपालले प्रकाशन गरेको भीमसेन थापाको पत्रमा छ। त्यसमा फागु सिरिग्या (सेरेङ) लिम्बूहरूले ‘हाम्रो त अघि सेन राजाका पालामा पनी स्मृति हो (पृथ्वीनारायण शाह) अमल भया पछी पनी हामीलाई स्मृतिमा रहनु भन्या हुकुम लालमोहर बक्सनु भयाको छ हामी स्मृतिमा राजी छौं’ भनी लालमोहर मागेको उल्लेख छ (नेपाल, २०५५ः२६९-७०)।
यसबाट लिम्बूहरूमा नीति र स्मृति समूहको अस्तित्व सेनकालमै रहेको स्पष्ट संकेत मिल्छ। मतलब, यो चलन गोर्खालीहरूको देन नभई सेनका पालादेखिकै निरन्तरता हो।
नीति समूहलाई कडा दण्ड
कालान्तरमा गोरखाली नीतिप्रति असहमत नीति समूहलाई राज्यले स्मृतिको तुलनामा कडा दण्ड-सजायको व्यवस्था गरेको थियो। जुन माथि उल्लिखित रुक्काबाटै प्रस्ट हुन्छ। इङ्नामको लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७ः१९६)मा समेत प्रकाशित उक्त रुक्काको सक्कल ताप्लेजुङ फुङलिङ निवासी रामप्रसाद पालुङ्वासँग सुरक्षित छ। त्यसमा थुमथुममा रहेका लिम्बूहरूले नीति समूहमा रहँदा गल्तीमा सजाय भोगबापत १०/१२ खेत चढाउनुपर्ने चलन रहेको उल्लेख छ। कामी, दमाई, सार्की र मुसहर जातसँग भूलचूक करणी हुँदा पनि नीति समूहका लिम्बूहरूले कडा सजायको भागीदार हुनुपर्थ्यो।
रुक्कामा ‘थुमथुमपिछे १०।१२ षेत चह्रयाई नितिमा रहन्या जो लिम्बुहरूलाइ अछुत जाति कामि दमाई सार्कि मुसहर जो पानि नचलन्या जातसंग भुलचुकमा करनि भै चन्द्रायन पर्दा आफना रितसंग खोलाटोलामा ढुंगा छुवाई प्रथम घरले रुपैया ७ तिर्नु दोश्रो १ पध्याराका पानि षान्या घरले रुपैया ३।। तिर्नु तेश्रो गाउँफेरामा।। तिर्नु. अरु संसर्गि घरले आना १ तिरि जाति पतरियमा सुद्ध भै रहनु’ भन्ने परेको छ। यसको अर्थ हो- जुन घरको मानिसले अछूत भनिएका व्यक्तिसँग करणी गर्छ, त्यो घरलाई ७ रुपैयाँ दण्ड जरिवाना तोकिएको थियो। त्यो घरका मानिसले छोएको पँधेराको पानी चलाउने घरलाई ३ रुपैयाँ ८ आना र गाउँफेरा अर्थात् छरछिमेकलाई ८ आना तथा अरू सम्पर्कमा आएका व्यक्तिलाई १ आना जरिवानाको व्यवस्था थियो। तर रकमी डिट्ठा श्यामलाल पाध्याले नीति र स्मृतिमा यस्तो सजायमा जरिवानाको दर एकै प्रकारको गरिदिंदा लिम्बूवानमा विरोधको स्वर उठेको देखिन्छ। पत्रमा “कसैलाई कलम बढाई डंड गरिलीया यसो भया हाम्रा थिति पनि रहेन भनि तमोरषोला आठराई फेदाप छथर चौविस्या पाँचथरका सुब्बाहरू हाम्रा हजुरमा विन्ति गर्न आउदा जाहेर भयो. तसर्थ स्मृति वाहेक नितिमा रहन्याले थुमथुमपिछे... सुद्ध भै रहनु भनि मोहोर गरि अघि वक्स्याकै रहेछ. सोही वन्देज वमोजिम आज पनि थामिवक्स्यौं” भन्ने परेबाट पानी नचल्ने भनिएका जातिसँग करणी बिराउँदा नीति समूहका लिम्बूहरूले पाउँदै गरेको कडा खालको दण्ड-जरिवानाले निरन्तरता पाएको स्पष्ट हुन आउँछ।
लिम्बूहरूमा नीति र स्मृति समूहको नामकरण कसरी हुन पुग्यो, भरपर्दो स्रोत फेला परिसकेको छैन। तर नेपालका शासक वर्गले पहिल्यैदेखि मनुस्मृति पछ्याउँदै आएका सन्दर्भमा त्यसैलाई मान्ने गरी कबुलियत गराइएका लिम्बूलाई ‘स्मृति’ र आफ्नै परम्परागत खासगरी मुन्धुमी नीतिनियम मान्नेलाई ‘नीति’ नामकरण गरिएको अनुमानसम्म गर्न सकिन्छ।