उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्। “आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु,” यादवले भने, “वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको हुँ।”
उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्। उनीसँगै स्वास्थ्य राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका हुन्।
यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेको छ। जसपा नेपालका सात सांसद जसपातिर लागेका छन्। यादवको पक्षमा पाँच सांसद छन्।
नयाँ बनेको पार्टीले पनि सरकारलाई समर्थन गर्ने जनाएको छ। जसले गर्दा उनले पदबाट राजीनामा दिएका हुन्।
यससँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अध्यक्ष यादवले सभामुख देवराज घिमिरेलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।