पात-सौन्दर्य बोगनभिया
नेपालमा बुगेनभिया भित्रिएको इतिहास खोतल्दा सन् १८७४ मा जितजंग राणाले यसको बिरुवा पशुपति मन्दिर परिसरमा रोपेको विवरण पाइन्छ।
झपक्क परेर फुल्ने बुगेनभियाले निजी घरदेखि शहरबजारको शोभा बढाएको देखिन्छ। गर्मी याम लागेसँगै काठमाडौंका विभिन्न ठाउँमा यो फूलले सौन्दर्यको लालिमा छर्छ।
यस वनस्पतिले गर्मी रुचाउँछ। प्रशस्त वर्षा, उच्च र वर्षभरि एक समान तापक्रम र उच्च आद्रता रहने उष्ण क्षेत्र (ट्रपिकल जोन) मा बोगनभिया बाह्रै महीना फुल्छ।
जलवायु न्यानोदेखि गर्मी हुँदै जाडोसम्म हुने उपोष्ण क्षेत्र (सबट्रपिकल जोन) मा भने यो फूल गर्मी शुरू भएपछि वर्षमा एक पटक फुल्छ। नेपाल उपोष्ण क्षेत्रमा पर्छ। यहाँ बोगनभिया अक्सर फागुनदेखि असारसम्म फुल्छ।
कतैकतै चाहिं कात्तिकसम्म पनि फुलेको देखिन्छ। यो फूल चिसोका कारण समशीतोष्ण क्षेत्र (टेम्पेरेट जोन) र उपध्रुवीय क्षेत्र (सबपोलर जोन) मा बाँच्दैन।
बोगनभिया फूलको पत्र कागज जस्तो हुने भएकाले यसलाई कागजपाते/कागजी/कागते फूल पनि भनिन्छ। कतैकतै मदानी फूल र नेवारी भाषामा भों स्वाँ भनिन्छ।
आकर्षक पत्रदल
बोटबिरुवाको पातको मुख्य काम सूर्यको प्रकाशको उपस्थितिमा पानी र कार्बन डाइअक्साइड संयोजन गरी भोजन बनाउनु हो। तर पातको काम भोजन बनाउनमा मात्र सीमित हुँदैन, यसले फूलको कोपिला वा फूल पनि जोगाउँछ। त्यस्तै, कतिपय वनस्पतिका पात आकर्षक हुने भएकाले तिनले परागसेचनका निम्ति कीरा, चरा र स्तनधारीलाई आकर्षण पनि गर्छन्।
बोगनभियाका पातहरूको आकार समान हुँदैन। त्यसमा पनि कोपिला वा फूल जोगाउने पात सामान्य पातभन्दा फरक स्वरूपका हुन्छन्। यसलाई ल्याटिन भाषामा ‘ब्राक्ट’ भनिन्छ, फूलमुनि रहने सानो, पात जस्तो संरचना भन्ने अर्थमा। धेरैजसो वनस्पतिमा फूल फक्रिएपछि ब्राक्ट ओइलाएर झर्छ। केहीमा भने रहिरहन्छ। जस्तै, गोलभेडामा फूल फुलेर, फल लागेर पाकिसक्दा पनि ब्राक्ट रहिरहेको हुन्छ।
बोगनभिया भन्ने बित्तिकै सामान्य हेराइमा रंगीन गुच्छालाई नै फूल भनेर बुझ्ने गरिएको पाइन्छ। तर फूल जस्तो आकर्षक देखिने ती पत्रदल खासमा ब्राक्ट हुन्। लालुपाते फूलमा पनि ब्राक्ट आकर्षक र फूलभन्दा निकै ठूला हुन्छन्।
बोगनभियाको ब्राक्ट ल्याटिन भाषामा भनिए झैं फूलमुनि सानो पातको स्वरूपमा हुँदैन। यो त आकारमा फूलभन्दा निकै ठूलो र आकर्षक हुन्छ। यसले बोगनभियाको फूललाई सुरक्षा गर्छ। एकै ठाउँबाट तीनतिर फर्केका ब्राक्ट हुन्छन्। प्रत्येक ब्राक्टमा टाँसिएर सानो ट्यूब आकारको संरचना पलाएको हुन्छ, त्यो नै बोगनविलियाको फूल हो।
ट्यूब जस्तो फूलको रङ प्रायः ब्राक्टकै जस्तो हुन्छ। ट्यूबको टुप्पोको रङ भने बेग्लै हुन्छ। ट्यूबको टुप्पो केही चौडा र पछिल्तिर घुमेर फक्रिएको हुन्छ। ट्यूबभित्र पाँचदेखि १० वटासम्म पुंकेसर (भाले प्रजनन अंग) हुन्छ। यस्तै, ट्यूबको केन्द्रीय भागमा स्त्रीकेसर (पोथी प्रजनन अंग) पलाएको हुन्छ।
फूल फुल्ने वनस्पति परिवार संसारभर ४१६ वटा छन्। ती परिवारमा ब्राक्ट अक्सर भिन्न आकृतिका हुन्छन्। एकै परिवारका जातिहरू र एकै जाति अन्तर्गतका प्रजातिमा पनि ब्राक्टको आकार फरक फरक हुन्छन्। यसकारण ब्राक्टको आकृति वनस्पति पहिचान गर्ने आधार पनि हुन्।
उद्गमस्थल र विविधता
बोगनभिया निक्टेनजिनेसी परिवार अन्तर्गतको वनस्पति हो। संसारमा यसका १७ प्रजाति छन्। यी सबै प्राकृतिक रूपमा दक्षिण अमेरिका महादेशमा मात्र पाइन्छन्। अन्य महादेशमा आयात गरिएका हुन्। बोगनविलियाको फूल अर्थात् ट्यूबको आकारका आधारमा यसका प्रजाति पहिचान गर्न सकिन्छ (‘फाइलोजेनी एन्ड ट्याक्सोनोमिक सिनोप्सिस अफ द जिनस बोगनविलिया’, सन् २०२२, एम.ए.सि. बौटिस्टा र अरूहरू)।
१७ प्रजातिमध्ये बोगनभिया स्पेक्टाबिलिज, बोगनभिया पेरुभियना र बोगनभिया ग्लाब्रामा मात्र आकर्षक ब्राक्ट हुन्छन्। यसैले यी प्रजाति संसारका धेरैजसो उष्ण र उपोष्ण भूभागमा रोप्ने गरिन्छन्। यी तीन प्रजाति विशेषतः उष्ण क्षेत्रमा उपयुक्त घाम, पानी र माटो भयो भने वर्षैभरि फुल्छन्।
बोगनविलियालाई घाम चाहिन्छ। खुला ठाउँमा यसको बोट निकै फैलिन्छ। यसले सँगैका अन्य वनस्पतिलाई बढ्न दिंदैन। यसका साथै, बोट धेरै बढ्न दिंदा घरमा आकर्षणभन्दा पनि सेप दिने भएकाले बढ्न दिनु हुँदैन।
उद्गमस्थल दक्षिण अमेरिका रहेको बोगनभिया उक्त महादेश बाहिर रोप्न थालिएको धेरै भएको छैन। बोगनभिया सबैभन्दा पहिले फ्रान्सका वनस्पतिविद् फिलिबर्ट कमर्सनले सन् १७५० को दशकमा ब्राजिलमा फेला पारेका थिए। उनले अध्ययन गर्दा यो वनस्पति पारिजात समावेश परिवारको रहेको देखियो। तर पारिजात रहेको परिवार अन्तर्गत यससँग मिल्ने कुनै अर्को जाति नभएका कारण उनले यो एक नयाँ जाति भएको पत्ता लगाए।
कमर्सनले यस जातिको वनस्पतिको वैज्ञानिक नाम आफ्ना मित्र लुइस द बोगनविलको नाममा बोेगनविलिया राखे। त्यो नयाँ जातिको विवरण भने लेखेनन्। सबै विवरण लेख्ने काम फ्रान्सेली प्रकृतिविद् एवम् वनस्पतिविद् एन्टोन द जुसिओले गरे र त्यो सन् १७८९ मा सार्वजनिक भयो। तर त्यस वेला बोगनविलियाको कुनै प्रजाति पत्ता लागेको विवरण भेटिंदैन।
एकैचोटि सन् १७९९ मा यसको एक प्रजाति बोगनभिया स्पेक्टाबिलिज पत्ता लागेको विवरण प्रकाशमा आयो। यस्तै, थप दुई प्रजाति बोगनभिया पेरुभियना र बोगनभिया ग्लाब्रा क्रमशः १८०८ र १८४९ मा पत्ता लगाइए। यी तीन वटै प्रजाति सम्भवतः १९औं शताब्दीको मध्यदेखि अन्त्यसम्म यूरोपमा फूलका रूपमा लगाउन थालिएको हुन सक्छ। त्यसपछि यूरोपेलीहरू इस्ट इन्डिया कम्पनीको नाममा दक्षिणपूर्वी एशियामा व्यापार गर्न आउँदा आफूसँगै यता ल्याएका हुन सक्छन्।
नेपालमा बोगनभिया कहिले भित्रियो त? सौरभ आर. सत्याल लिखित पुस्तक नेप्लिज फ्लोरिटाज (सन् २००८) मा सन् १८७४ मा जितजंग राणाले बोगनविलियाको बिरुवा पशुपति मन्दिर परिसरमा रोपेका थिए भनेर लेखिएको छ (पृष्ठ २३)। त्यस वेला नेपालमा बोगनभिया यूरोपबाट ल्याइएको हुनुपर्छ। किनभने सन् १८९७ मा प्रकाशित दक्षिण र दक्षिणपूर्व एशियाका केही देशका वनस्पति समेटिएको फ्लोरा अफ ब्रिटिश इन्डिया भोलम ७ मा बोगनभिया समावेश छैन।
प्रजातिमा भिन्नता
सन् २०२२ मा प्रकाशित ‘जेनेटिक डाइभर्सिटी एन्ड इम्प्रुभमेन्ट अफ बोगनविलिया’ लेख अनुसार सन् १९२३ ताका नै भारतको कलकत्ता बोटानिकल गार्डेनमा बोगनभिया स्पेक्टाबिलिज, बोगनभिया पेरुभियना र बोगनभिया ग्लाब्रा रोपिएका थिए। यी प्रजातिमध्ये बोगनभिया ग्लाब्रा उष्ण क्षेत्रमा वर्षैभरि फुल्छ भने बोगनभिया स्पेक्टाबिलिज बढी सुक्खा मौसममा फुल्छ।
१७ प्रजातिका बोगनविलियामध्ये नेपालमा दुई प्रजातिका पाइने वनस्पति सम्बन्धी अभिलेखमा लेखिएका छन्। सन् १९८२ मा प्रकाशित एन इनुमेरेशन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल भोलम ३ मा बोगनभिया स्पेक्टाबिलिज र बोगनभिया ग्लाब्रा पाइन्छ भन्ने जानकारी छापिएको थियो। पछिल्लो पटक सन् २०२२ मा प्रकाशित प्लान्ट्स अफ नेपाल पुस्तकमा आयातीत वनस्पतिमा बोगनभिया स्पेक्टाबिलिज र बोगनभिया ग्लाब्रा समावेश छन्। बोगनभिया पेरुभियनाबारे भने नेपालमा हालसम्म लेखिएका वनस्पति सम्बन्धी पुस्तकमा उल्लेख छैन।
बोगनभिया स्पेक्टाबिलिज र बोगनभिया ग्लाब्रा उस्ताउस्तै देखिए पनि दुईबीच तात्त्विक भिन्नता छन्। तर नेपालमा पाइने यी दुवै प्रजाति प्राकृतिक स्वरूपका होइनन्। भिन्न भिन्न जलवायुमा रोपेर नयाँ जलवायुमा अनुकूल हुने क्रममा स्वरूपमा केही बदलाव आए, त्यही चोला फेरिएको रूपमा यता भित्रिए। यसरी जलवायु अनुकूलन र परिवर्तन भएर आएका यी दुवै प्रजातिभित्र पनि धेरै विविधता भएकाले यिनका पात र ब्राक्टको आकार ठ्याक्कै यस्तो हुन्छ भन्न गाह्रो देखिन्छ।
बोगनभिया स्पेक्टाबिलिजको सन्दर्भमा, विविध रङमा फुल्ने अर्थमा यसको नामकरण गरिएको हो। रोयल बोटानिक गार्डेन क्यु लन्डनको वेबसाइटमा उपलब्ध यस प्रजातिको पात अन्डाकारदेखि लाम्चो र टुप्पोको भाग केही चुच्चो देखिन्छ। यसको ब्राक्टको आकार ठूलो र अन्डाकार हुन्छ। फूल टुप्पोतिर फराकिलो र चौडा हुन्छ। काँडा घुमेको र ठूलो हुन्छ।
बोगनभिया ग्लाब्राको सन्दर्भमा, पात चिल्लो हुने अर्थमा यसको नाम राखिएको हो। यसको पातमा मैन दलिए जस्तो केही चम्किलो देखिन्छ। ब्राक्ट अक्सर त्रिभुज आकारको हुने रहेछ। यसको फूल बोगनभिया स्पेक्टाबिलिजको तुलनामा केही सानो र सुलुत्त परेको हुन्छ। यी दुवै प्रजातिको फूलको ट्यूबको मध्य भाग केही साँघुरो हुन्छ।
बोगनभिया पेरुभियनाको फूलको ट्यूबको मध्य भाग भने साँघुरो हुँदैन। यसको फूल टुप्पो थोरै बांगिएको किला जस्तो देखिन्छ। यस्तो फूल भएको बोगनभिया काठमाडौं उपत्यकामा देखिन्छ। यसले नेपालमा बोगनभिया पेरुभियना पनि भित्रिइसकेको हो कि भन्ने अनुसन्धानको विषय बनेको छ।