मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार, पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
सुरक्षण प्रेसका सफ्टवेयर तथा उपकरण खरीदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल, पूर्व निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका पूर्व सीडीई नवीनकुमार पोखरेल र सामान आपूर्तिकर्ता म्याक्स इन्टरन्याशनल प्रालिका सीईओ अकबर हुसेनलाई विपक्षी बनाएको छ।
त्यस्तै, अख्तियारले मुद्रण केन्द्रका पूर्व लेखा अधिकृत खड्कबहादुर थापा र पूर्व शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई पनि विपक्षी बनाएको छ। उनीहरू पनि शुरूदेखि नै यसमा संलग्न रहेको अख्यितारले जनाएको छ।
उनीहरूले मिलेमतो गरी सफ्टवेयर तथा उपकरण खरीद गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। चारै जना मिलेर राज्यलाई ४० करोड ८५ लाख ५७ हजार ७४० रुपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा त्यही बराबरको बिगो असुल उपर गराउन पनि माग दाबी गरेको छ। यससँगै केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेललाई कैद सजाय पनि माग गरिएको छ।
उनी विरुद्ध यसअघि पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो। अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको भए पनि नेपालको सरकारी पदमा बहाल भएको भन्दै अख्तियारले वैशाख ९ मा मुद्दा दायर गरेको थयो।