मूल्यवृद्धि दर निरन्तर घट्दो, खाद्यान्न र तरकारी महंगिंदो
पछिल्ला महीनामा मूल्यवृद्धि दर निरन्तर घट्दै गएको देखिए पनि खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य भने बढ्दै गएको पाइएको छ।
नेपाल राष्ट्र ब्यांकले बजारको उपभोक्ता मूल्यवृद्धि दर निरन्तर घटेको तथ्यांक सार्वजनिक गरेको छ। ब्यांकका अनुसार गत चैतमा उपभोक्ता मूल्यवृद्धि दर ४.६ प्रतिशतमा ओर्लिएको छ। यो अघिल्लो वर्षको यही अवधिमा ७.७६ प्रतिशत थियो।
पछिल्ला महीनामा मूल्यवृद्धिको दर लगातार घटिरहेको तथ्यांकले देखाएको छ। गत भदौमा मूल्यवृद्धि दर ८.१९ प्रतिशतसम्म पुगेको थियो। त्यसयता लगातारजसो मूल्यवृद्धि दर घटिरहेको छ।
गत पुसमा मूल्यवृद्धि दर घटेर ५.२६ प्रतिशतमा ओर्लिएको थियो। गत फागुनमा आइपुग्दा यो ४.८२ प्रतिशतमा झरेको थियो। चैतमा मूल्यवृद्धि थप घटेको हो।
केन्द्रीय ब्यांकका अनुसार चैतमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ५.२१ प्रतिशत छ। यसमध्ये पनि सबैभन्दा धेरै मूल्यवृद्धि तरकारी, दाल र गेडागुडी, खाद्यान्न, मसला जस्ता वस्तुको छ। अघिल्लो वर्षका तुलनामा गत चैतमा मरमसलाको मूल्य २२.६४ प्रतिशतले बढेको छ।
त्यसैगरी, तरकारीको मूल्य करीब १७ प्रतिशतले बढेको छ। दाल र गेडागुडीको मूल्य १०.९ प्रतिशतले बढेको छ भने खाद्यान्नको मूल्यमा ७.५९ प्रतिशतले बढोत्तरी भएको छ।
खाद्यान्न, तरकारी जस्ता आधारभूत वस्तुको मूल्य बढ्दा न्यून आम्दानी भएका समूह बढी अप्ठ्यारोमा पर्छन्। निम्न आम्दानी भएको समूहको कमाइको धेरै हिस्सा खाद्यान्न, तरकारी जस्ता वस्तुमा खर्चमा हुन्छ। त्यसैले यस्ता वस्तुको मूल्य बढ्ने बित्तिकै उनीहरूको आम्दानीको धेरै हिस्सा खानेकुरामा खर्च गर्नुपर्ने हुन्छ।
राष्ट्र ब्यांकको तथ्यांकले चैतमा मासु र फलफूलको मूल्य स्थिर सरह रहेको देखाएको छ। गत वर्षको तुलनामा चैतमा माछा र मासुको मूल्य ०.०९ प्रतिशतले र फलफूलको मूल्य ०.८८ प्रतिशतले घटेको देखाएको छ। घ्यू र तेलको मूल्य भने गत वर्षको तुलनामा यस वर्षको चैतमा १०.१० प्रतिशतले घटेको छ।
त्यसैगरी, गैरखाद्य समूह अन्तर्गत चैतमा जुत्ता र लत्ताकपडाको मूल्य करीब ४ प्रतिशतले, फर्निचरको मूल्य ४.१४ प्रतिशतले र घरभाडा २.७८ प्रतिशतले बढेको छ। चैतमा शिक्षाको मूल्य ७.३१ प्रतिशतले र मनोरञ्जन १२.६१ प्रतिशतले महँगो भएको तथ्यांकले देखाएको छ।
केन्द्रीय ब्यांकका अनुसार चैतमा सबैभन्दा धेरै पहाडमा मूल्यवृद्धि ५.३३ प्रतिशत छ। तराईमा ४.५८ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत छ। यस्तै, काठमाडौं उपत्यकामा मूल्यवृद्धि ४.०६ प्रतिशत छ।
मूल्यवृद्धि सँगसँगै तलब र ज्यालादरमा पनि सामान्य वृद्धि भएको छ। चैतमा अघिल्लो वर्षको तुलनामा तलब र ज्यालामा सरदर ५.३४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।