कामीरिता २९औं पटक सगरमाथाको चुचुरोमा
कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पा २९औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्।
उनी आइतबार बिहान ७ः२५ बजे सगरमाथाको चुचुरोमा पुगेको काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ। यसअघिको आफ्नै कीर्तिमान भंग गर्दै उनले सगरमाथा आरोहण गरेका हुन्।
यसअघि गत वर्ष शेर्पा २८औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। त्यति वेला उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका थिए।
सेभेन समिटका अनुसार यस पटक शेर्पाले सगरमाथा चढ्ने योजना बनाएका थिएनन्। विदेशी आरोहीको वरिष्ठ हाई अल्टिच्यूड गाइडका रूपमा सगरमाथा क्षेत्र पुगेका थिए।
उनले सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडिशन कम्पनीका सदस्यलाई सगरमाथा आरोहण गराउने जिम्मेवारी लिएका थिए। त्यही क्रममा उनी आज बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन्।
मौसम अनुकूल भएमा फेरि सगरमाथा आरोहण गर्न सक्ने जनाइएको छ। यसबारे उनी आधारशिविर फर्किएपछि मात्रै तय हुने सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाको भनाइ छ।
उनले २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी आरोहणमा सक्रिय छन्।
यो पनि पढ्नुहोस् : कीर्तिमानी कामीरिता: कीर्तिमान राख्न चढ्दैनन् सगरमाथा