डा. गोविन्द केसी सत्याग्रहमा, यस्ता छन् चार माग
स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सत्याग्रह शुरू गरेका छन्।
सरकारले आफ्नो माग सम्बोधन गर्न पहल नगरेपछि सत्याग्रहमा बस्नुपरेको डा. केसीले बताएका छन्। उनले शनिबार अपराह्न ४ बजेदेखि पशुपति मृगस्थलीमा सत्याग्रह शुरू गरेका हुन्। यो उनको २२औं सत्याग्रह हो।
यस पटक उनले चार वटा माग राखेका छन्। पहिलो, सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्। निष्पक्ष रूपमा र पीडितले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चितता गर्न माग गरेका छन्। यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने जनाएका छन्।
दोस्रोमा सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था गर्न माग गरेका छन्। तेस्रो, यसअघि आफूसँग सरकारले गरेका माग सम्बोधन गर्न आग्रह गरेका छन्।
यसअघिका सत्याग्रहका क्रममा सरकारले धनगढीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेशसँगै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज वा प्रतिष्ठान निर्माण गर्ने, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन पारित गर्ने सहमति गरेको थियो। त्यसलाई कार्यान्वयन गर्न डा. केसीले आग्रह गरेका छन्।
चौथो, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले दोषी ठहर्याएका व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्। कार्की आयोगले दिएको प्रतिवेदन केही दिनअघि मात्रै शिक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो।
यी चार माग पूरा नहुँदासम्म सत्याग्रह जारी राख्ने केसीले घोषणा गरेका छन्। यसअघि माग पूरा गर्न केसीले अल्टिमेटम दिएका थिए, तर सरकारले वास्ता नगरेपछि सत्याग्रहमा बसेका हुन्।