ओलीको प्रश्न : नेपाली नोटमा नेपालको नक्शा छाप्दा टाउको किन दुख्यो?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नोटमा नेपालको नक्शा छाप्दा अरूले टाउको दुखाउन नहुने बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेला उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्शा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिंदा अरूले चिन्ता गर्न नहुने बताए। ओलीले भने, “हामीले अर्काको देशको नक्शा छापेका छैनौं नि! हाम्रो देशको नोटमा हाम्रो नक्शा छाप्छौं। अरूको टाउको किन दुख्यो?”
सरकारले १०० रुपैयाँको नोटमा नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्शा छाप्ने निर्णय गरेको थियो। त्यस अनुसार राष्ट्र ब्यांकले नोट छाप्ने तयारी गरेको छ। यसमा भारतले असन्तुष्टि जनाएको छ।
भारतको असन्तुष्टितिर इंगित गर्दै ओलीले भने, “नेपालले नेपालको नक्शा राखेर नयाँ नोट छाप्ने भयो, आफ्नो देशको नक्शा सधैं झैं राख्ने भयो, अर्को देशलाई टाउको दुख्यो।”
यस्तै, नयाँ नोटमा नेपालको चुच्चे नक्शा छाप्ने विषयमा राष्ट्रपतिका सल्लाहकारले दिएको अभिव्यक्तिको पनि ओलीले विरोध गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले यसलाई ‘अविवेकी’ निर्णय बताएका थिए।
राष्ट्रपतिका सल्लाहकारले देशहित विपरीत बोलेको ओलीको भनाइ थियो। “राष्ट्रपतिको विज्ञ सल्लाहकार भनिएको एउटा जागीरे यस्तो नक्शा राख्न पाइन्छ भनेर बोलीमा लोली मिलाउँछ, अन्तर्वार्ता दिन्छ नेपाललाई हेप्ने कुरामा,” ओलीले थपे, “योभन्दा निन्दनीय अरू के हुन्छ? कहाँ गयो देशभक्ति?”
राष्ट्रपतिका सल्लाहकारको भनाइलाई लिएर आलोचना भइरहेको छ। राजनीतिक दलका नेता र नागरिक अगुवाले पनि राष्ट्रपतिका सल्लाहकारले मर्यादा विपरीत बोलेको बताउँदै आएका छन्।
यो पनि पढ्नुहोस् : नोटमा नक्शाले ल्याएको तरंग