रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
नेपालका लागि हुन्डाईको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेशन (एलएमसी)ले हुन्डाई मोटर एसेम्बल प्लान्टको सञ्चालनमा ल्याएको छ। पुष्पकमल दाहालले प्लान्टको उद्घाटन गरेका छन्।
यो प्लान्ट ६५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस प्लान्टमा वार्षिक पाँच हजार गाडी एसेम्बल गर्न सकिने जनाइएको छ।
यसको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाली अटोमोबाइल औद्योगिकीकरण क्षेत्रको विकासमा हुन्डाई नेपालको योगदानको प्रशंसा गरेका थिए। यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्तालाई थप आकर्षित गर्ने दाहालले विश्वास व्यक्त गरे।

हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टप्रति उत्साह व्यक्त गरे। उनले उन्नत प्रविधि र सीप हस्तान्तरण गरिने बताए।
यस अवसरमा नेपालमा बनेको पहिलो ‘हुन्डाई भेन्यु’ को प्रदर्शन गरिएको थियो। योसँगै एलएमसीले हुन्डाई भेन्युको उत्पादन अघि बढाइसकेको छ। यस प्लान्टले निकट भविष्यमै हुन्डाई मोटर्सका अन्य मोडलका गाडीको पनि एसेम्बल गर्ने जनाएको छ।