मकालु हिमालमा एक आरोहीको मृत्यु
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक आरोहीको मृत्यु भएको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ का पर्वतारोही ५४ वर्षीय ल्हाक्पा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगूले बताए।
मकालु हिमाल आरोहण गरी फर्कने क्रममा शेर्पा सम्पर्कविहीन भएका थिए। मकालु गाउँपालिका वडा नं. २ र ३ को सीमा क्षेत्रमा हराएका शेर्पा शुक्रबार मृत भेटिएको प्रहरी निरीक्षक जबेगूले बताए।
प्रहरीका अनुसार उनी मकालु आधारशिविर नजीकै मृत फेला परेका हुन्। शेर्पाको शव सोलुखुम्बु लगिएको छ। सञ्चार सुविधाको अभावले ढिलो गरी खबर आएको उनको भनाइ छ।
संखुवासभास्थित मकालु हिमाल संसारकै पाँचौं अग्लो हिमाल हो। यसका उचाइ आठ हजार ४८५ मिटर छ।
यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ। मकालु क्षेत्र पुग्न सदरमुकाम खाँदबारीबाट पाँच दिन हिंड्नुपर्छ। वसन्त यामको आरोहणका लागि आरोही मकालु आधारशिविर पुगेका छन्।
यस्तै, सगरमाथामा पनि यस वर्षको वसन्त यामको आरोहण शुरू भएको छ। बाटो पहिल्याउने टोली चुचुरोमा पुगेसँगै वसन्त यामको सगरमाथा आरोहण शुरू भएको हो।